५ आश्विन २०८१, शनिबार

प्रतिनिधि सभा बैठक : प्रचण्ड-नेपाल र ओली समूहका सांसद एकै ठाउँमा बस्ने

प्रकाशित मिति :  7 March, 2021 1:18 pm


काठमाडौं । प्रतिनिधि सभा बैठकमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–नेपाल समूहका संसदपनि सत्तापक्षकै लाइनमा बस्ने व्यवस्था मिलाइएको छ ।

संसद सचिवालयले दल विभाजनको पत्र नआएको भन्दै सबै सांसदलाई एकै ठाउँमा राख्ने गरि व्यवस्था गरेको हो । सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले दल विभाजन सम्बन्धि पत्र नभएकाले सबैलाई एकै ठाउँमा बस्ने व्यवस्था गरिएको जानकारी दिए ।

उनले भने, “दलका आफ्ना विभिन्न विवादहरू, छलफलहरू ,आपसी बहसहरु गरिरराख्छन् र अहिले व्यवहारगत रुपमा देखिएको सत्तारुढ नेकपा जुन पार्टी छ , उक्त समूहको जुन छलफल चलिरहेको अवस्थामा हामीकहाँ औपचारिक दल विभाजन पत्र नआएको कारणले र अहिले दल एउटै भएको अवस्थामा सदनमा सिट व्यवस्थापन गर्नेक्रममा सत्तापक्षकै लाइनमा व्यवस्था गरिएको अवस्था छ ।

प्रवक्ता पाण्डेले बैठकका लागि सबै स्वास्थ्य सुरक्षा अपनाइएको जानकारी दिए । पुनस्र्थापित प्रतिनिधि सभाको बैठक आज बस्दैछ । सरकारको सिफारिमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको बैठक आज अपराह्न ४ बजेका लागि आह्वान गरेकी छन् ।

बैठकका लागि आवश्यक सम्पूर्ण तयारी पुरा भएको संसद सचिवालयले जनाएको छ ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) भित्र विवाद चर्किदै गएपछि मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरेकी थिइन् । तर सर्वोच्च अदालतमा रिट परेपछि झण्डै २ महिनाको बहसपछि अदालतले फागुन ११ गते संसद पुनस्र्थापनाको फैसला गरेको थियो ।

फैसलापछि मन्त्रिपरिषद्को सिफारिमा राष्ट्रपति भण्डारीले बैठक आव्हान गरेकी हुन् ।



प्रतिक्रिया दिनुहोस !