५ आश्विन २०८१, शनिबार

‘मेक इन नेपाल स्वदेशी अभियान’ शुरु

प्रकाशित मिति :  8 March, 2021 8:43 pm


काठमाडौं । स्वदेशी उत्पादनलाई बढावा दिँदै आर्थिक समृद्धिको मार्गमा अगाडि बढ्ने लक्ष्यका साथ नेपाल उद्योग परिसङ्घले ‘मेक इन नेपाल स्वदेशी अभियान’ शुरु गरेको छ । सो अभियानको आज यहाँ आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले शुरुआत गरेका छन् ।

अभियानको आरम्भ गर्दै प्रधानमन्त्रीले औद्योगिक र आर्थिक विकासमा योगदान पुग्ने गरी निजी क्षेत्रले लगानी बढाउनुपर्ने र आन्तरिकरुपमा सबल हुँदै निर्यात बढाउनुपर्ने बताए ।

प्रधानमन्त्रीले नेपाललाई आयातकर्ता र उपभोग्य देशबाट क्रमशः उत्पादक र निर्यातक देश बनाउन सबैले योगदान दिनुपर्ने र त्यसमा सरकारको उल्लेख्य साथ र सहयोग रहनेमा जोड दिए ।

उनले कृषिलाई उत्पादनसँग जोडेर औद्योगिकीकरणको मार्गमा अगाडि बढ्नुपर्ने तथा अनावश्यक वस्तुको आयात गर्नेतर्फ ध्यान दिन नहुने उल्लेख गरे । निजी क्षेत्रले शुरु गरेको भए पनि यो अभियान सरकारको नै अभियान भएकाले यसलाई सफल बनाउन नीतिगत एवम् कानूनीरुपमा के कस्ता सहयोग गर्न सकिन्छ, त्यसका लागि सरकार तयार रहेको बताए ।

प्रधानमन्त्री ओलीले भने, “यो अभियान एउटा नयाँ अठोट हो, राष्ट्रलाई आधुनिकीकरण र औद्योगीकरण गर्ने दिशामा महत्वपूर्ण रहन्छ भन्ने मैले विश्वास लिएको छु ।”

प्रधानमन्त्रीले यस्ता अभियान साना देखिए पनि अर्थ ठूलो हुने भन्दै भारतमा महात्मा गान्धीले शुरु गर्नुभएको चर्खा आन्दोलनको उदाहरण दिए । नेपाली उत्पादनले गुणस्तर र मूल्यमा प्रतिस्पर्धा गर्ने गरी उद्योगको क्षमता विकास गर्नुपर्नेमा जोड दिए ।

सरकारले राष्ट्रिय सङ्कल्पका साथ शुरु गरेको समृद्ध नेपाल र सुखी नेपालीसँग स्वदेशी उत्पादनको महत्व जोडिएको भन्दै प्रधानमन्त्री ओलीले समृद्धि र सुखसँगसँगै अघि बढाउनुपर्नेमा विशेष जोड दिए । नेपालमा आवश्यक नै नभएका वस्तु आयात भइरहेकामा चिन्ता व्यक्त गर्दै उनले त्यस्ता सामानलाई क्रमशः न्यूनीकरण गर्नुपर्ने उल्लेख गरे ।

नेपाल र नेपाली उद्योगले आफ्ना वस्तुको उत्पादन बढाउँदै उहाँले अन्तरराष्ट्रिय बजारमा त्यसलाई निर्यात गर्ने गरी तयारी गर्न उद्योगी व्यवसायीलाई आग्रह गरे । सरकारले औद्योगिकीकरणका लागि हालै औद्योगिक सप्ताह जसरी देशैभर औद्योगिक क्षेत्रको शिलान्यास गरिएको प्रधानमन्त्रीले सो अवसरमा जानकारी दिए ।

कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले निजी क्षेत्रसँग हातेमालो गरेर सरकार अगाडि बढेको भन्दै कुनै समस्या भए त्यसलाई क्रमशः समाधान गर्दै जाने बताए । उनले पछिल्ला दिनमा निजी क्षेत्रका साझा संस्थासँग निरन्तर संवाद गरिएको र आवश्यकताका आधारमा लगानीमैत्री कानूनको तर्जुमा गरिएको जानकारी दिए । अझै केही कानूनमा सुधार गर्नुपर्ने भए पनि सरकार तयार रहेको उनको भनाइ थियो ।

नेपाल उद्योग परिसङ्घका अध्यक्ष शतिशकुमार मोरले मुलुकको आर्थिक परिसूचक कमजोर रहेकाले क्रमशः लगानी वृद्धि, औद्योगिकीकरण र रोजगारी सिर्जना गरेर देशलाई समृद्ध बनाउन परिसङ्घ लागिपरेको र आजको अभियान त्यसैको उदाहरण भएको बताए ।

उनका अनुसार परिसङ्घले उत्पादन र खपत बढाउने लक्ष्यका साथ विभिन्न सातवटा आधार निर्धारण गर्दै ‘मेक इन नेपाल अभियान’ शुरु गरेको हो । त्यसमा उत्पादनतर्फ नेपाली उद्योगका लागि सहज व्यापार व्यवसायको वातावरण तय गर्ने, आयात प्रतिस्थापन गर्ने, पूर्वाधारमा पूँजी लगानी बढाउने र सेवा क्षेत्रमा आधुनिकीकरण गर्ने विषय समावेश छ ।

यस्तैगरी खपतका आधारमा स्वदेशी वस्तुको उपभोग, स्वदेशी वस्तुको प्राथमिकता र स्थानीय उत्पादनको बढावाका लागि बजार विस्तार गर्ने विषय समावेश छ । परिसङ्घको यसअभियानमार्फत वार्षिक एक हजारभन्दा बढी नयाँ उद्योग दर्ता गर्ने, सन् २०३० सम्ममा नेपालको कूल गार्हस्थ्य उत्पादनमा उद्योगको योगदान २६ प्रतिशत पु¥याउने लक्ष्य राखिएको छ ।

यस्तै आगामी पाँच वर्षमा झण्डै रु पाँच खर्ब बराबरको निर्यात गर्ने लक्ष्य राखिएको छ । परिसङ्घका आर्थिक सल्लाहकार डा विश्व पौडेलका अनुसार यो अभियानले औद्योगिक विकासलाई प्रमुख प्राथमिकतामा राखेको छ ।



प्रतिक्रिया दिनुहोस !