६ आश्विन २०८१, आइतबार

गैँडाकाेटमा चौधरी फाउण्डेशनको सिजी उन्नति भिलेज स्थापना

प्रकाशित मिति :  10 March, 2021 12:14 pm


नवलपुर ।  नवलपुर देशकै प्रतिष्ठित औद्योगिक घरना चौधरी ग्रुप (सिजी)को सामाजिक संस्था चौधरी फाउण्डेशनले नवलपरासी (बर्दघाट–सुस्ता पूर्व)को गैँडाकोट नगरपालिकामा ‘सिजी उन्नति कल्चर भिलेज’ स्थापना गरेको छ ।

राष्ट्रको मौलिक कला, संस्कृति, साहित्य, वेशभूषा, हस्तकलालगायतको संरक्षण र प्रवद्र्धनका लागि सिजीले नगरपालिकाको हर्कपुरमा कल्चरल भिलेज स्थापना गरेको हो ।

प्राकृतिक सुन्दरताकाबीच अवस्थित यहाँ थारू संस्कृति झल्काउने रेस्टुराँ, अतिथिगृह र कोठा छन् । चित्रकलामार्फत थारू जातिका विभिन्न संस्कृति, मेलामहोत्सव र पर्वबारे जानकारी दिइएको फाउण्डेशनका प्रतिनिधि रामचन्द्र धितालले बताए ।

थारू जातिका दैनिकी झल्किने विषयवस्तु केन्द्रित गरेर भिलेज स्थापना गरिएको उनले जानकारी दिए  । यहाँ थारु समुदायबारे जानकारी दिनसक्ने उनीहरुका जीवन झल्किने गरी सिङ्गो तस्वीरनै कुँदिएका छन् ।

देशकै मुख्य बजार चितवनको नारायणगढबाट करीब १२ किलोमिटर पश्चिममा पूर्वपश्चिम राजमार्गसँगैका भिलेजमा कला सङ्ग्रहालय, रङ्गमञ्च, बाटिका (गार्डेन अफ आर्टस्), निसर्ग सयर, क्राफ्ट म्युजियम र क्रियटिभ स्टुडियो छन् ।

कल्चर अन्तर्गत थारू समुदायको गाउँ, बडाघर डबली, गदला मोद (बार) रहेका छन् । पाहुना खण्ड अन्तर्गत कला घर, बोधी कुञ्ज, थारू घर, आथित्य खण्ड रहेको धितालको भनाइ छ ।

‘एक्पिरियन्स’ अन्तर्गत कला र हस्तकला, थारू संस्कृत, जनजाति, आथित्य, प्राङगरिक खेती रहेका छन् । चौधरी फाउण्डेशनका महाप्रबन्धक दामोदर भण्डारीले सांस्कृतिक हिसाबले भिलेजमा थारू गाउँ रहेको बताए।

यस अन्तर्गत थारू डबली, थारू बार छन् । थारू बारलाई ‘गदला मोद’ नाम दिइएको छ । थारू संस्कृतिमा गदला भनेको जाँड र मोद भनेको रक्सी हो । अरू संरचनाको नाम पनि यसैगरी राखिएका छन् । भिलेजमा थारू मात्र नभएर अन्य विभिन्न जातजातिका सांस्कृतिक विषय पनि समावेश गरिएका भण्डारीको भनाइ छ ।

करीब ६ बिघा क्षेत्रफलमा फैलिएको भिलेजमा नेपाली कलाको सङ्ग्रहालय पनि छ । भण्डारीकाअनुसार नेपाली मौलिक कला र साहित्यको संरक्षण तथा प्रवद्र्धनका लागि भनेर कला केन्द्र बनाइएको हो । कलाघर पनि यहीँ छ, जहाँ सर्जक आएर सिर्जना गर्न सक्छन् ।

प्राङ्गरिक खेतीपातीको प्रवद्र्धन र विभिन्न खाद्यान्न उत्पादन गर्ने तरिका प्रदर्शनी गर्न यहाँ विशेष स्थान छुट्याइएको उनले जानकारी दिए । यहाँको थारू रेस्टुराँमा आउने पाहुनाका लागि यहीँका उत्पादन पस्किइनेछ । सँगै थकाली र नेपाली परम्परागत खानाको स्वाद पनि चखाइने भण्डारीले बताए ।रासस



प्रतिक्रिया दिनुहोस !