५ आश्विन २०८१, शनिबार

जनता समाजवादी पार्टीको आँकलन : सरकारको नेतृत्व गर्ने अवसर आउन सक्छ

प्रकाशित मिति :  12 March, 2021 11:59 am


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) खारेज भएपछि सत्ताका लागि निर्णायक बनेको जनता समाजवादी सरकारमा सहभागि हुने नहुने विषयलाई लिएर छलफलमा छ ।

सरकार टिकाउन प्रधानमन्त्री केपी शर्मा ओलीले जसपाका नेतासँग छलफल गरिरहेका छन् भने नेकपा (माओवादी केन्द्र)लेपनि जसपाका नेतासँग छलफल गरिसकेको छ । नेपाली कांग्रेसले सरकार बनाउने अवस्थामापनि जसपा निर्णयक बन्नेछ ।

जसपाभित्र सरकारमा जानका लागि दुई धार देखिएको छ ।

महन्थ ठाकुर र राजेन्द्र महतो आफूहरूले उठाएका मुद्दामा प्रतिबद्धता आए ओलीकै नेतृत्व वा अन्यको नेतृत्वमा पनि सरकारमा जान तयार भएका छन् । तर डा.बाबुराम भट्टराई र उपेन्द्र यादवले भने अझै केही समय हेर्नुपर्ने भन्दै आवश्यक पर्दा सरकारको नेतृत्वका लागि समेत मौका मिलाउनुपर्नेमा जोड दिँदै आएका छन् ।

कसरी सरकारमा जाने भन्ने विषयमा धारणा फरक परेपनि सरकारमा जानेमा भने जनता समाजवादी पार्टीभित्र एक मत छ । जसपा उच्च स्रोतले भन्यो,“हामी सरकारमा जाने विषयमा एक मत नै छौं तर आवश्यक पर्दा सरकारकै नेतृत्व गर्नुपर्ने हुनसक्छ भन्ने हो ।”

जसपाले सबै दलसँग छलफल गर्ने निर्णय गरेको छ । हिजो बसेको जसपा पदाधिकारी बैठकको वर्तमान राजनीतिक संकटको अग्रगामी निकास र आफ्नो पार्टीको आधारभूत मान्यताबारे सबै राजनीतिक दलरुसँग उच्च तहमा संवाद गर्ने निर्णय गरेको थियो ।

बैठकपछि जसपा संघीय परिषद्का अध्यक्ष डा.भट्टराईले भनेका छन्,“जसपाको पदाधिकारी बैठकले वर्तमान राजनीतिक संकटको अग्रगामी निकास र आफ्नो पार्टीका आधारभूत मान्यतावारे सबै राजनीतिक दलहरूसंग उच्चतहमा संवाद गर्ने निर्णय गरेको छ ज ।”

जसपाले हिँजै प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेको थियो ।

डा. भट्टराई र यादवको आँकलन मुख्य तीन दल नमिल्ने अवस्थामा सरकारको नेतृत्वको अवसर आउन सक्छ भन्ने छ । त्यसैले केही सयम पर्खनुपर्ने उनीहरूको जोड छ । जसपाका एक नेताले भने,“सरकारमा जाने र मन्त्री बन्ने विषय कुनै ठूलो कुरो होईन गाह्रो छैन तर आवश्यक पर्दा सरकारको नेतृत्व गर्ने अवसर पनि आउन सक्छ ।”

जसपाले सबैसँग छलफल गरेपनि कार्यकारी समिति बैठक भन्दा पहिले निर्णय आउने सम्भावना कम छ । सांसद चौधरी रिहा, संविधान संसोधनको प्रतिबद्धता लगायतमा सहमति भए सहजै सरकारमा सहभागि हुने मनस्थितिमा छ ।

पार्टीको समायोजन तथा आगामी कार्ययोजनावारे आवश्यक निर्णय गर्न भन्दै जसपाले कार्यकारिणी समितिको बैठक चैत ५ गते बोलाएको छ ।



प्रतिक्रिया दिनुहोस !