४ आश्विन २०८१, शुक्रबार

क्वाड सम्मेलन पछि अमेरिका चीनका विदेशमन्त्री तथा सुरक्षा सल्लाहकारबीच वार्ता हुने

प्रकाशित मिति :  12 March, 2021 1:51 pm


काठमाडौं । अमेरिका र चीनका विदेशमन्त्री तथा राष्ट्रिय सुरक्षा सल्लाहकारहरूबीच क्वाडको शिखर सम्मेलन पछि वार्ता हुने भएको छ ।

निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वको अमेरिका र चीनबीच व्यापार युद्धले बिग्रिन पुगेको सम्बन्धका बेला अमेरिकाका नयाँ राष्ट्रपति जो बाइडनको सहभागीतामा क्वाडका सदस्य देशका सरकार प्रमुख र राष्ट्रप्रमुखहरूको शिखर सम्मेलन शुक्रबार १२ मार्चका लागि तोकिएको छ ।
यो विषयमा जानकारी दिँदै ह्वाइट हाउसकी प्रेस सचिव जेन साकीले चतुर्पक्षीय गठबन्धन क्वाडको शिखर सम्मेलनमा केही वैश्विक विषयहरूमा छलफल हुने जनाएकी छिन् ।

साकीका अनुसार अमेरिकाले उइगर मुसलमानको जनसंहारको विषयमा चीनसँग सीधा छलफल गर्ने छ । दुई देशका अधिकारीहरूबीच हुने भेटवार्ताको क्रममा यो विषय उठाइने छ । क्वाडमा चीन केन्द्रित विषयमा छलफल नहुने बताउँदै उनले भनिन् “ निसन्देह कतिपय नेताहरू तथा देशहरूका लागि चीन एक मुद्दा हो । तर क्वाडमा जलवायु परिवर्तन संकट, आर्थिक सहयोग, कोभिड–१९सँग जुध्न लगायतका अन्य मुद्दाहरूको विषयमा क्वाडका नेताहरूले छलफल गर्ने भएका हुन् ।

क्वाड शिखर सम्मेलनको केही दिन पछि अमेरिकाका विदेशमन्त्री र राष्ट्रिय सुरक्षा सल्लाहकारले अलास्काको एन्कोरेजमा चिनियाँ समकक्षी १८ मार्चका दिन भेटवार्ता गर्ने भएका छन् ।

एक सवालको जवाफमा साकीले आगामी सप्ताह हुने वार्ता अमेरिकी भूमिमा हुने र त्यसमा अमेरिकी विदेशमन्त्री एन्टोनी बिलन्केन र राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिवनले चिनियाँ समकक्षीसँग छलफल गर्ने विश्वास व्यक्त गरिन् ।

क्वाडमा अमेरिका, अस्ट्रेलिया, भारत र जापान सहभागी छन् ।अमेरिकाका राष्ट्रपति बाइन ,अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन ,भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र जापानका प्रधानमन्त्री योशिहिदे सुगा बीच शुक्रबार शिखर सम्मेलन हुने तय भएको हो । कतिपयले यसलाई चीन घेर्ने एसियाको नेटो भनेर टिप्पणी गर्ने गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !