५ आश्विन २०८१, शनिबार

सत्तासमिकरणका लागि जसपाको दौडधुप, माओवादी केन्द्रसँग छलफल

प्रकाशित मिति :  13 March, 2021 11:32 am


काठमाडौं । सत्ता समिकरणका विषयमा छलफल गर्न जनता समाजवादी पार्टीले आफ्नो दौडधुप तिब्र पारेको छ । जसपाले नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्रसँग पटकपटक छलफल गरिरहेको छ ।

हिजो मात्रै नेपाली कांग्रेससँग छलफल गरेको जसपाले आज माओवादी केन्द्रसँग छलफल गरेको छ । छलफलका लागि जसपाका नेताहरु माओवादी केन्द्रको मुख्यालय पेरिसडाँडा पुगेका छन् । जसपाभित्र सरकारमा जानका लागि दुई धार देखिएको छ ।

महन्थ ठाकुर र राजेन्द्र महतो आफूहरूले उठाएका मुद्दामा प्रतिबद्धता आए ओलीकै नेतृत्व वा अन्यको नेतृत्वमा पनि सरकारमा जान तयार भएका छन् । तर डा.बाबुराम भट्टराई र उपेन्द्र यादवले भने अझै केही समय हेर्नुपर्ने भन्दै आवश्यक पर्दा सरकारको नेतृत्वका लागि समेत मौका मिलाउनुपर्नेमा जोड दिँदै आएका छन् ।

डा. भट्टराई र यादवको आँकलन मुख्य तीन दल नमिल्ने अवस्थामा सरकारको नेतृत्वको अवसर आउन सक्छ भन्ने छ । त्यसैले केही सयम पर्खनुपर्ने उनीहरूको जोड छ ।

जसपाले सबैसँग छलफल गरेपनि कार्यकारी समिति बैठक भन्दा पहिले निर्णय आउने सम्भावना कम छ । सांसद रेशम चौधरी रिहा, संविधान संसोधनको प्रतिबद्धता लगायतमा सहमति भए सहजै सरकारमा सहभागि हुने मनस्थितिमा छ ।

पार्टीको समायोजन तथा आगामी कार्ययोजनावारे आवश्यक निर्णय गर्न भन्दै जसपाले कार्यकारिणी समितिको बैठक चैत ५ गते बोलाएको छ ।



प्रतिक्रिया दिनुहोस !