५ आश्विन २०८१, शनिबार

मन्त्री र सांसद पद गएपनि प्रधानमन्त्री ओलीको साथ छोड्दैनौं : मन्त्री रायमाझी

प्रकाशित मिति :  13 March, 2021 4:35 pm


काठमाडौं । नेकपा (एमाले) का नव मनोनित केन्द्रीय सदस्य तथा उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री टोपबहादुर रायमाझीले अब सांसद र मन्त्री पद गएपनि आफूहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको साथ नछोड्ने स्पष्ट पारेका छन् ।

आज रिपोर्टर्स क्लबले काठमाडौंमा गरेको साक्षात्कारमा बोल्दै नेता रायमाझीले आफूहरुको लागि मन्त्री र सांसद पद ठूलो नभएको भन्दै सही विचार, सिद्धान्त र निष्ठाको राजनीति गर्ने र त्यो प्रधानमन्त्री ओलीसँग रहेको को उल्लेख गरे ।

उनले भने,“मन्त्री र सांसद पद जान्छ भन्ने हामीलाई चिन्ताको विषय होईन, ज्यान त छँदैछ नि । हामीलाई केही चिन्ता छैन् ।”

उनले प्रधानमन्त्री ओलीले देशको विकास र समृद्धिको लागि सही एजेण्डा बोकेकोले आफूहरु एमाले पार्टीभन्दापनि ओलीको विचारको पछि लागेको प्रतिक्रिया दिए । उनले तत्कालिन् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा अन्तरविरोध चर्किनुको कारण विचार र सिद्धान्तभन्दापनि अर्को पक्षले पद र प्रतिष्ठाको लागि मात्रै विरोध गरेको टिप्पणी गरे ।

मन्त्री रायमाझीले अब आफूहरु कुनैपनि हालतमा नेकपा (माओवादी केन्द्र) मा नफर्किने स्पष्ट पारे । उनले माओवादी केन्द्रलाई ‘डोरी जलिसकेको र अब गाँठोमात्रै बाँकी छ’ को संज्ञा दिए ।

उनले प्रधानमन्त्री ओलीलाई तत्कालिन नेकपा भित्रैबाट सरकार र पार्टी चलाउन अवरोध गरिएको पनि आरोप लगाए । देशलाई अस्थिरतरताबाट बचाउनको लागि बाध्य भएर प्रधानमन्त्री ओलीले संसद् विघटन गरेको भएपनि अदालतबाट आफूहरुले मुद्दा हारेको रायमाझीले सुनाए । अर्को नेकपाको नामको विषयमा पनि आफूहरुले मुद्दा हारेको उनले सुनाए ।

तत्कालिन माओवादी शिविरमा भएको भ्रष्टाचारबारेपनि अध्ययन हुने उल्लेख गरे । उनले भने,“हामी त्यसको अध्ययनमा छौं । अब त्यो विभिन्न निकायबाट खोजी नीति होला, प्रश्न उठेको छ । त्यसको औचित्य र आवश्यकत्ताको आधारमा त्यसलाई अगाडि बढ्छ होला ।”



प्रतिक्रिया दिनुहोस !