८ मंसिर २०८१, शनिबार

विराटनगरमा आकाशे पुल बन्ने

प्रकाशित मिति :  15 March, 2021 4:08 pm


विराटनगर । विराटनगर महानगरपालिका क्षेत्रमा यातायात साधनको बढ्दो चापलाई ध्यानमा राखी नागरिकलाई सडक वारपार गर्न सजिलोका लागि तीन वटा आकाशे पुलको संयुक्त रुपमा शिलान्यास गरिएको छ ।

विराटनगरको बरगाछी, कञ्चनवारी र भट्टीभोडको घाँस चौकमा निर्माण गरिने पुल चालू आर्थिक वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको नगरका इन्जिनीयर अर्जुन थापाले जानकारी दिए ।

उक्त तीन पुल रु दुई करोड ४७ लाखको लागतमा स्टिल स्ट्रक्चरको आधारमा २५ मिटर लम्वाइ, पाँच दशमलव पाँच मिटर उचाइको हुनेछ । एक ठाउँबाट अर्को ठाउँमा सार्ने पुल बरगाछीमा दुई ‘स्टेयर’, घाँस चोक र कञ्चनबारीमा चार ‘स्टेयर’को हुने छ ।

कला विल्डरले बरगाछी र घाँस चोकको र आर के विल्डर्सले कञ्चनबारीको निर्माणको ठेक्का पाएको इञ्जिनीयर थापाले बताए । सो अवसरमा आयोजित कार्यक्रममा महानगरका प्रमुख भीम पराजुलीले नगरको यातायात, स्वास्थ्य , शिक्षा र खेलकूदको क्षेत्रमा महानगरले काम गरेको चर्चा गर्दै आगामी दिन नगरको शोभा झल्किने नगर स्वागतद्वार निर्माण गर्ने जानकारी दिए ।

वडा नं ४ का अध्यक्ष देवेन्द्रराज पोखरेलले पुल निर्माणबाट नागरिकले सडक दुर्घटनामा अकालै ज्यान गुमाउने कार्यमा न्यूनीकरण हुने विश्वास व्यक्त गरे ।रासस



प्रतिक्रिया दिनुहोस !