५ आश्विन २०८१, शनिबार

प्रधानमन्त्रीका सल्लाहकारको टिप्पणी : नेपाल पक्षको राष्ट्रिय भेला प्रचण्डको निर्देशन र गृहकार्यमा

प्रकाशित मिति :  16 March, 2021 12:07 pm


काठमाडौं । नेकपा(एमाले) को माधव नेपाल पक्षले राष्ट्रिय कार्यकर्ता भेला नरोक्ने भएपछि प्रधानमन्त्रीका प्रेस सल्लाहकारले शहरमा ‘विधि र पद्धति’को रमिता कि गाइजात्रा ? भनेर प्रश्न गरेका छन् ।

नेपाल पक्षले राष्ट्रिय भेलाको तयारी र प्रचारप्रसार तिब्र पारेपछि प्रेस सल्लाहकार थापाले,‘नेकपा (एमाले)को नाममा सानेपास्थित महङ्गो हेरिटेज गार्डेनमा आयोजना गर्ने भनिएको कथित गुटगत भेला’ भनेका छन् ।

१५ बुँदे टिप्पणी गर्दै थापाले माधव नेपाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला प्रचण्डको निर्देशन र गृहकार्यमा भएको टिप्पणी गरेका छन् । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को आधिकारिकता ऋषि कट्टेललाई दिर्दै नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र) व्युँताएको थियो ।

नेकपा एमाले व्युँतिएपछिपनि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच अन्र्तसंघर्ष चकिएको थियो । यै बीचमा अध्यक्ष ओलीले माधव नेपाल पक्षका नेताको जिम्मेवारी खोजेका थिए भने केन्द्रीय समिति समेत विस्तार गरेका थिए । यसले एमालेभित्र विवाद चर्किएको छ ।

हिजो अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच छलफल भएपनि कुनै सहमति हुन सकेन । नेपाल पक्ष राष्ट्रिय कार्यकर्ता भेलामा लागेपछि प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले उक्त भेलालाई रमिता, र बेमौसमी गाइजात्रा भन्दै १५ बुँदे टिप्पणी गरेका हुन् ।

सल्लाहकार थापाको टिप्पणी :
१. खासमा प्रचण्डको निर्देशन र होमवर्कबमोजिमको मेला, राम र रमिता हो !
२. यसलाई चैत महिनामा प्रदर्शित बेमौसमी गाइजात्रा पनि भन्न सकिन्छ ।
३. आफ्नो निहित स्वार्थका लागि नेकपा (एमाले) विभाजन गरी समाप्त गर्न चाहने तत्वहरूको उक्साहट र षडयन्त्र हो ।
४. यो केवल यसका नेतृत्वकर्ताहरूको कुण्ठा र द्वेय प्रदर्शन मात्रै हो ।
५. पार्टीको सरकार पाँच बर्ष चल्नै नदिने कसम खाएर केही व्यक्तिहरूको नेतृत्वमा भइरहेका जनविरोधी, अनैतिक र विभाजनकारी कृत्यको मञ्चन मात्र हो ।
६. यो “विधि र पद्धति“को दुहाई दिंदै गत बैशाख महिनायता जारी नाङ्गो गुटबन्दीको पराकाष्ठा हो, जो प्रचण्डको आड र साठगाँठमा चल्दैआएको विभाजन ने हो भन्ने तथ्य स्पष्ट नै छ । र, अलग समूह बनाएर पुनः प्रचण्ड पथमा सामेल हुन जाने तयारी हो । त्यसकै लागि प्रचण्डले आफ्नो समुहको केन्द्रीय कमिटी बैठक स्थगन गरि पर्खिरहेको यथार्थ जगजाहेर नै छ ।
७. हिजो नेकपामा सहमतिको आधारमा निर्णय गर्ने वैधानिक व्यवस्था हुँदाहुँदै बहुमतको नाममा प्रधानमन्त्री तथा पार्टी अध्यक्षलाई गरेको चारपटक निस्कासनको अपमानजनक अपराध तथा आज अध्यक्ष मान्नुको विकल्प नै नरहेको असहजता र छटपटीको अनुभूति हो ।
८. नेपाल राष्ट्र, नेपाली जनता, नेपाली कम्युनिस्ट आन्दोलन, स्थिरता, विकास र समृद्धिविरूद्दको घात हो ।
९. पार्टी केन्द्रीय कमिटीको फागुन २८ गतेको निर्णयको अवज्ञा,अनुशासनहीनता र अराजकता हो । कार्की बैक्वेट पार्टीको भए पनि स्वघोषित अध्यक्ष भइछाड्ने पदलोलुपता एवं अभिनय हो ।
१०. पार्टी पद्धति,मूल्य, मान्यता र विधानको बर्खिलाप कार्य हो । फागुन २३ गते यता अर्याल होटलमा जारी गुटगत भेला, बैठक र समानान्तर गतिविधि ढाकछोपको निम्छरो र निरूपाय कोसिस हो । र, चैत २ गते धुम्बाराहीमा भएको छलफलमा अध्यक्षले भेला रोक्न दिनुभएको निर्देशनको ठाडो अवज्ञा हो ।
११.चैत १ गते ११ जना व्यक्तिले पार्टी अध्यक्षविरूद्द जारी गरेको १९ पृष्ठ लामो पुरानो आरोपपत्रको नयाँ संस्करणका आधारमा नेतृत्वलाई पुनः खुइलाउने, बदनाम गर्ने एवं कार्यकर्ता र जनतामा घृणा फैलाउने र पार्टीलाई संस्थागत प्रक्रियामा संचालन हुन नदिई अनुचित संझौताको बन्धक बनाउने कुत्सित प्रयास हो ।
१२. सरकारले गरेका जनक्षीय कामहरूमा पर्दा हालेर जनतामा भ्रम फिंजाउने र सिंगो कम्युनिस्ट आन्दोलनको भविष्यमा कालो बादल मडारिने अवस्था सिर्जना गर्ने दुष्प्रयास मात्र हो ।
१३. पार्टीलाई केन्द्रीय कमिटीको निर्णयअनुरूप नयाँ परिवेशमा नयाँ ऊर्जाका साथ सञ्चालन गर्ने पहलकदमीमा चिसोपानी खन्याउने र निराशा पैदा गर्ने लज्जास्पद कार्य हो ।
१४. यो आाम जनता र कार्यकर्ताको आकांक्षा र अभिमतविपरितको क्रियाकलाप हो। यस्तो कार्यमा कोही कसैले आफुलाई सामेल नगरौ ।
१५. त्यसैले आउनुहोस–
विभाजन र बिखण्डनकारी तथा एकताविरोधी हर्कतहरूप्रति सचेत र सावधान हुँदै नेकपा(एमाले) र सूर्य चिन्हको पक्षमा स्पष्ट र एकजुट भएर अघि बढौं !
अरू कसैको योजनामा परिचालित व्यक्तिका षड्यन्त्रमूलक र जनविरोधी कोसिसहरूलाई परास्त गरौं !!



प्रतिक्रिया दिनुहोस !