दाङमा जनगणनाका लागि कार्यालय स्थापना
दाङ । जनगणनाको तयारीका लागि दाङमा कार्यालय स्थापना भएको छ । कार्यालयको स्थापनासँंगै विधिवतरूपमा जनगणनाको कामसमेत सुरु भएको छ । ‘मेरो गणना मेरो सहभागिता’ भन्ने नाराका साथ १२ औँ जनगणना २०७८ देशभर सञ्चालन हुँदैछ ।
जिल्लामा जनगणना २०७८ का लागि ९०६ जनशक्ति आवश्यक पर्ने भएको छ । जनगणनाका लागि सुपरिवेक्षक र गणक परिचालन गरिने भएको हो । जम्मा १६७ सुपरिवेक्षक र ७३९ जना गणक परिचालन हुने तथ्याङ्क कार्यालय दाङका प्रमुख तुलसीराम पोख्रेलले जानकारी दिए। सुपरिवेक्षकका लागि स्नातक र गणकका लागि १२ कक्षा उत्तिर्णले आवेदन दिन पाउनेछन् ।
अहिले जनगणनाको लागि प्राविधिक तयारी भइरहेको छ । गणकले तथ्याङ्क सङ्कलन गर्नुभन्दा पहिले सुपरीवेक्षकले घर सर्भे गर्नेछन् । सुपरीवेक्षकले विस २०७८ साल वैशाख २६ देखि जेठ १४ गतेसम्म घरपरिवार सूचीकरण गर्नेछन् । गणकले जेठ २५ गतेदेखि असार ८ गतेसम्म गणना गर्ने छन् ।
यस वर्ष जनगणनामा ८१ वटा प्रश्नावली समावेश गरिने भएको छ । जनगणनामा आवश्यक पर्ने जनशक्ति करारमा लिइने छ । यसका लागि अनलाइनमार्फत आवेदन दिन सकिने छ । करारमा लिने जनशक्ति केन्द्रले नै छनोट गर्ने भएको हो । यसअघि जिल्लाबाट नै छनोट गरिने गरेको थियो ।
करारमा जनशक्ति लिनका लागि गएको माघ ११ बाट चैत ११ गतेसम्म आवेदन दिने समय दिइएको छ । फागुन मसान्तसम्म अनलाइनमार्फत र अनलाइनमार्फत नभरेकाले यही चैत ५ देखि ११ गतेसम्म कार्यालयमा गएर आवेदन दिन सक्नेछन् ।
अघिल्ला वर्षमा शिक्षकलाई परिचालन गरिने गरेकोमा यस वर्ष करारमा जनशक्ति नै राख्न लागिएको हो । “बेरोजगारलाई रोजगारी प्रदान गर्न सकियोस भनेर करारमा लिन थालिएको हो”, प्रमुख पोख्रेलले भने । यसले धेरै शिक्षित भए पनि बेरोजगार भएकालाई रोजगार दिन सकिने उनको भनाइ छ ।
जिल्लामा सात इलाका जनगणना कार्यालय रहने भएका छन् । जनगणनालाई छिटो, छरितो र विश्वसनीय गराउन वडा तहसम्म विभिन्न समिति निमार्ण गरिने छ ।
त्यसका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला जनगणना र समन्वय समितिका प्रमुखको संयोजकत्वमा, उपप्रमुख र जिल्लाभित्रका सबै स्थानीय तहका प्रमुख, उपप्रमुख सदस्य रहने गरी जिल्लास्तरीय जनगणना सहजीकरण संयन्त्र रहनेछ । रासस