५ आश्विन २०८१, शनिबार
नेकपा एमालेमा किचलो

अध्यक्ष ओलीको चेतावनीकाबीच नेपाल पक्षको राष्ट्रिय कार्यकर्ता भेलाको तयारी पुरा

प्रकाशित मिति :  16 March, 2021 3:21 pm


काठमाडौं । नेकपा(एमाले) को माधव नेपाल पक्षले भोलीदेखि सुरु हुने राष्ट्रिय कार्यकर्ता भेलाको तयारी पुरा भएको जनाएको छ ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कारबाही गर्ने चेतावनी दिएपनि नेपाल पक्षले तयारी पुरा भएको जनाएको हो ।

काठमाडौंमा पत्रकार सम्मेलन गरेर नेपाल पक्षका प्रचार विभाग प्रमुख योगेश भट्टराईले भने,“हाम्रो गौरवशाली पार्टी नेकपा (एमाले) ले यही चैत ४–५, २0७७ मा बदलिँदो परिस्थितिमा छलफल गर्न, एकीकृत धारणा बनाउन र देशव्यापी रुपमा पार्टी पंक्तिलाई त्यस आधारमा अघि बढाउनका लागि राजधानीमा राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरेको छ । उक्त भेलाको व्यवस्थापकीय तथा राजनीतिक तयारी पूरा भएको छ ।”

पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख भट्टराईले केन्द्रीय कमिटीको बैठकका नाममा यही फागुन २८ गते बालुवाटारमा आयोजना गरिएको गुटको भेलाले पार्टीमा थप असहजता, बेमेल र अविश्वास सिर्जना गर्नुका साथै पार्टीलाई विभाजनतर्फ धकेलेको समेत बताए ।

उनले भने,“त्यस अवैधानिक र पार्टी एकताविरोधी कदमलाई सम्पूर्ण रुपमा खारेज गरी पार्टीको विधान बमोजिम केन्द्रीय कमिटीको बैठक आयोजना गरेर पार्टीलाई सुचारु गर्नुपर्छ भन्नेमा हामी दृढ छौं ।”

२०७५ जेठ ३ गते नेकपा (एमाले) र नेकपा ( माओवादी केन्द्र) बीच एकता सम्पन्न भएको थियो । तर एकीकरणलाई २०७७ फागुन २३ गते सर्वोच्च अदालतले खारेज गरेपछि नेकपा एमाले पूर्ववर्त अवस्थामा फर्किएको छ ।

पत्रकार सम्मेलनमा भट्टराईले भने,“त्यस फैसला अनुसार सञ्चालन गर्न आनाकानी गरिएको छ नेकपा (एमाले) पूर्ववत अवस्थामा फर्किनु भनेको नवौ राष्ट्रिय महाधिवेशनबाट पारित दस्तावेज, विधान र त्यस विधानका आधारमा टोलदेखि केन्द्रसम्म निर्माण भएका कमिटीहरुको स्वतः पुनर्स्थापना हो भन्ने कुरा स्पष्ट छ ।”

यति हुँदाहुदै पनि आफूखुसी बैठकका नाममा गुटका गतिविधिहरु गर्ने, सर्वोच्च अदालतको फैसलालाई कार्यान्वयन गर्न अस्वीकार गर्ने र पार्टीलाई विभाजनतर्फ लैजाने प्रयासहरु भइरहेको भन्दै भट्टराईले यसका विरुद्धमा आफूहरु दृढतापूर्वक उभिएको बताए । उनले यो सन्देश राष्ट्रिय कार्यकर्ता भेलामार्फतसन्देश आधारभूत तहसम्म पुराउन चाहेको बताए ।

भेलामा केन्द्रीय कमिटीका तर्फबाट एक अवधारणात्र प्रस्तुत गरिनेछ र टोली विभाजन गरी सबै सहभागीहरूले आफ्ना मतहरु राख्न पाउने गरी छलफल र पारित गरिनेछ व्यवस्था गरिएको छ । भेलामा पार्टी केन्द्रीय कमिटी, केन्द्रीय निकाय र केन्द्रीय विभागका सदस्यहरु, प्रदेश कमिटीका सदस्यहरु, केन्द्रीय कमिटीका पूर्वसदस्यहरु, संघ तथा प्रदेशका सांसदहरु, पूर्वसांसदहरु रहने छन् ।

त्यस्तै जिल्ला कमिटीका पदाधिकारीहरु, सम्प्पक कमिटी र मञ्चका सदस्यहरु, गाउँ तथा नगर कमिटीका अध्यक्ष र सचिवहरु, जिल्ला समन्वय समिति, नगरपालिका र गाउँपालिका प्रमुख तथा उपप्रमुखहरु उपस्थित हुने नेपाल पक्षले जनाएको छ ।

जनसंगठन तथा पेशागत संगठनका केन्द्रीय सचिवालयका सदस्यहरुका साथै प्रदेश तथा जिल्ला कमिटीका पदाधिकारीहरु गरी दुई हजारभन्दा बढी अगुवा कार्यकर्ताहरुको सहभागिता रहने व्यवस्था गरिएको नेपाल पक्षको भनाई छ ।

भट्टराईले भने,“हाम्रो पार्टी कठिन अवस्थाबाट गुज्रिरहेको यस घडीमा धैर्य र सम्मयताका साथ पार्टीको सुदृढ एकता र विधानसम्मत सञ्चालनका लागि आ–आफ्नो ठाउँबाट योगदान गर्नका लागि हामी पार्टीको सबै नेता, कार्यकर्ता, समर्थक र शुभेच्छुकहरुमा हार्दिक अपिल गर्दछौं ।”



प्रतिक्रिया दिनुहोस !