२ आश्विन २०८१, बुधबार

कक्षाकाेठा अभावमा भुइँमा बसेर पढ्न बाध्य विद्यार्थी

प्रकाशित मिति :  17 March, 2021 9:22 am


सांकेतिक फाेटाे

चितवन । चितवनको एक सरकारी विद्यालयले कक्षाकोठा अभावमा विद्यार्थीलाई भुइँमा राखेर पढाउन बाध्य भएको छ । भरतपुर महानगरपालिका–४ को श्री राष्ट्रिय आधारभूत विद्यालयमा नर्सरीमा पढ्ने बालबालिकालाई भुइँमा नै राखेर पढाउने गरिएको हो ।

विद्यालयमा अहिले २०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् तर नर्सरीमा पढ्ने बालबालिकालाई भुइँमै राखेर पढाउन बाध्य भएको विद्यालयका प्रधानाध्यापक धीरबहादुर थापाले बताए ।

“नर्सरीका विद्यार्थीलाई चौरमा नै राखेर पढाएका छौँ”, उनले भने, “कोठा नै पुग्दैन, भुइँमा राख्न बाध्य छौँ ।” विसं २०२४ मा बनाइएको विद्यालय भवन जीर्ण भइसकेको छ । “भवनको छतबाट प्लास्टर उप्किएको छ । कक्षाकोठाका भित्ता चिराचिरा परेका छन् ।

शिक्षक वा विद्यार्थी को–को घाइते हुने हुन् भनेर सधैँ मनमा त्रास भइरहन्छ”, प्रअ थापाले भन्नुभयो । विसं २०१९ मा स्थापना भएको यो विद्यालयमा हाल कक्षा ७ सम्म पढाइ भइरहेको छ । विद्यालयमा तीन जनाको मात्रै सरकारी दरबन्दी छ । चार निजी स्रोतका शिक्षक छन् ।

आन्तरिक स्रोत नहुँदा उनीहरुलाई तलब दिन धौधौ छ । विद्यार्थीसँग उठाउने सामान्य रकम, विभिन्न दाताको सहयोगबाटै शिक्षकलाई जति सकिन्छ उति तलब दिने गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टीकाराम सापकोटाले बताए।

“शिक्षकहरुलाई भनेजति तलब दिने स्रोत नै छैन, सहयोग गर्नुस् भनेर अत्यन्तै कम रकममा काम लगाएका छौँ, यसोभन्दा मलाई निकै दुःख लाग्छ”, अध्यक्ष सापकोटाले भने । गत वर्ष भरतपुर महानगरपालिकाले दरबन्दी विद्यार्थी कम भएको भनेर दुई जनाको कटौती गरेको थियो । काटेको दरबन्दी विद्यार्थी सङ्ख्याका आधारमा फिर्ता गर्न भनेर आग्रह गर्दा पनि महानगरको शिक्षा शाखाले नसुनेको गुनासो विद्यालयको छ ।

भरतपुर महानगरका शिक्षा महाशाखा प्रमुख महेन्द्र पौडेलले विद्यालयको समस्याबारे जानकार रहेको र आगामी वर्षको बजेटमा भवन बनाउने रकम राखिने बताए । विद्यालयको एक बिघा नौ धुर जग्गा छ । यसको उपयोग गरेर आन्तरिक आम्दानी हुन थालेपछि विद्यालयमा नेतृत्व हत्याउन भने तँछाडमछाड हुने गरेको अध्यक्ष सापकोटा बताउछन् । रासस



प्रतिक्रिया दिनुहोस !