२९ पुस २०८१, सोमबार

ओखलढुंगाकाे चिशङ्खुगढीमा ३ दिनदेखि लागेको डढेलो नियन्त्रण बाहिर

प्रकाशित मिति :  18 March, 2021 10:38 am


सांकेतिक चित्र

ओखलढुङ्गा । ओखलढुङ्गाकाे चिशङ्खुगढीको वन क्षेत्रमा मङ्गलबारदेखि शुरु भएको आगो अझै निभाउन सकिएको छैन । सामुदायिक तथा निजी वन क्षेत्रमा आगलागीले सयौँ हेक्टर वन क्षेत्रमा क्षति पुर्याएको छ । नेपाल टेलिकमको टावर र बस्तीमा जानबाट भने सुरक्षाकर्मी अग्निरेखासमेत बनाएर नियन्त्रण प्रयास गरेका छन् ।

आगो निभाउन विभिन्न निकायका ६० भन्दा बढी सुरक्षाकर्मी खटाइएको छ । कति वन क्षेत्रमा कस्तो क्षति भयो भन्ने कर्मचारी खटाएर बुझ्ने प्रयास भइरहेको डिभिजन वन कार्यालयका प्रमुख ज्ञानकुमार लामाले बताए ।

सुरक्षाकर्मीलाई समेत आगो निभाउन कठिन भएको त्यहाँ खटिएका सुरक्षाकर्मीले बताएका छन् । हावाका कारण निभेका क्षेत्रमा आगो पुनः सल्किएको छ । खटाइएका सुरक्षाकर्मीलाई खानेपानी तथा खाजा खानाको समेत समस्या परेको छ । पानी नभएको र आगो निभाउन स्याउलाले प्रयास भइरहेको छ । खटाइएका सुरक्षाकर्मी फर्किएका छैनन् ।

निरन्तरको प्रयासबाट पनि आगो निभाउन नसकिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिए । कसरी आगो लाग्यो भन्ने यकिन नभएकाले अनुसन्धान गरिने उनकाे भनाइ छ । आगोलाई बस्तीमा जान नदिन सुरक्षाकर्मी बस्ती जोगाउनतिर लागेका छन् ।

वन क्षेत्रमा भने अझै आगो बलिरहेको छ । स्थानीय बासिन्दाको समेत सहयोगमा आगो निभाउन प्रयास भइरहेको प्रहरीले जनाएको छ । कति वन क्षेत्रमा क्षति पुग्यो भन्ने यकिन भइसकेको छैन ।



प्रतिक्रिया दिनुहोस !