५ आश्विन २०८१, शनिबार

बालुवाटार नपुगेका नेपाल खनाललाई पनि संसदीय बोर्डमा राखियो

प्रकाशित मिति :  18 March, 2021 2:49 pm


काठमाडौ । बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले डाकेको नेकपा एमालेले संसदीय दलको बैठकमा नपुगेका पूर्व प्रधानमन्त्रीद्वय झलनाथ खनाल र माधवकुमार नेपाललाई पनि गठन गरिएको संसदीय बोर्डमा राखिएको छ ।

एमाले अध्यक्ष तथा दलका नेता केपी शर्मा ओलीको नेतृत्वमा सरकारी निवास बालुवाटारमा बसेको संसदीय दलको बैठकले २४ सदस्यीय बोर्ड गठन गरेको हो ।
संसदीय काम कारवाहीलाई चुस्त बनाउन, सुपरिवेक्षण गर्न र सांसदलाई क्रियाशील बनाउन बोर्डको गठन गरिएको उपनेता सुवासचन्द्र नेम्वाङले जानकारी दिए ।

यो बैठकलाई बहिष्कार गरेका वरिष्ठ नेताद्वय खनाल र नेपाललाई राखेर बोर्ड गठन गरिएको हो ।बोर्डमा खनाल र नेपालका अतिरिक्त सुमन प्याकुरेल, राधा ज्ञवाली, विमला राई, विद्या भट्टराई, मोहन बानियाँ, दामोदर भण्डारी, विन्दा पाण्डे, रेखा झा, सरिता न्यौपाने, शेरबहादुर तामाङ, खेम लोहनी, रघुवीर महासेठ, राजेन्द्र राई, नारदमुनि रानासमेत गरी २४ सदस्य रहेका छन् ।

बोर्डमा अध्यक्ष ओली, उपनेता नेम्वाङ, प्रमुख सचेतक विशाल भट्टराई र सचेतक शान्ता चौधरी पदेन सदस्य रहने व्यवस्था मिलाइएको छ ।

यसैगरी संसदीय दलको बैठकले प्रमुख सचेतक भट्टराईको संयोजकत्वमा विधान संशोधन कार्यदल पनि गठन गरेको छ ।संसदीय दलको आगामी ७ गते बस्ने बैठकमा विधान संशोधनको प्रस्ताव कार्यदलले प्रस्तुत गर्ने भएको छ ।

 



प्रतिक्रिया दिनुहोस !