३१ भाद्र २०८१, सोमबार

मापदण्ड विपरीतका ८ खाद्य फार्मका संचालकलाई कारवाही

प्रकाशित मिति :  18 March, 2021 3:30 pm


काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले चालु आर्थिक वर्षको पहिलो आठ महिनामा आठ उद्योगका सञ्चालकलाई खाद्य ऐनअनुसार कारवाही गर्ने भएको छ ।

ती उद्योगबाट उत्पादित खाद्यान्नको नमूनामा मापदण्डविपरीत (प्रतिकूल) भेटिएकाले खाद्य ऐनअनुसार कारवाही प्रक्रिया अघि बढाएको सो कार्यालयले जनाएको छ । कारवाही प्रक्रियामा रहेकामध्ये तीन उद्योगविरुद्ध मुद्दा दायर, चार मुद्दा प्रक्रियामा र एक मुद्दामा सञ्चालकलाई बयान लिएको पाइएको हो ।

चालु आवको हालसम्म कपदही, चामल र दहीको तीन नमूना परीक्षण गर्दा लेबल अपूर्ण र न्यूनस्तर पाइएकाले मुद्दा दायर गरिएको कार्यालयका सूचना अधिकारी सिर्जना महर्जनले जानकारी दिइन् ।

दूध तथा दुग्ध पदार्थ, तेल तथा घ्यूजन्य, फल तथा सागपात, मसला, चियाकफी, नुन, खाद्यान्न÷दलहनजन्य, प्रशोधित पिउनेपानी, गुलियो पदार्थ, कन्फेक्सनरी, मासु तथा मासुजन्य, दानालगायतको ६६ नमूना सङ्कलन गरी परीक्षण गरिएको थियो ।

सतीमध्ये आठ वटामा प्रतिकूल वा मापदण्डविपरीत देखिएपछि तीन नमूनामा मुद्दा, चार नमूना मुद्दा प्रक्रियामा र एक बयान लिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाका प्रमुख सोमकान्त रिजालले जानकारी दिए ।

कार्यालयमा दोस्रो चौमासिकसम्म विभिन्न शीर्षकमा रु तीन लाख ३२ हजार ७५० राजश्व सङ्कलन गरेको छ । चालु आर्थिक वर्षको पहिलो आठ महिनामा रु पाँच लाख ४० हजार ७६० राजस्व सङ्कलन भएको र बेरुजु नरहेको कार्यालयले जनाएको छ । कार्यालयले आवश्यकतानुसार कार्यक्षेत्रमा अनुगमन, खाद्य तथा दाना नमूना सङ्कलन तथा विश्लेषण, सूचना सन्देश प्रचारप्रसार, खाद्य तथा दाना अनुज्ञापत्र सिफारिस तथा जारी र नवीकरणका काम गर्दै आएको छ ।

कार्यालयका अनुसार खाद्य स्वच्छता अभियानमा होटल लोगो स्तरीकरण तथा नवीकरण, सडक छेउछाउ बिक्री हुने खाद्य पदार्थको खाद्य स्वच्छता अभिवृद्धि कार्यक्रम र दूध, तेल तथा पानी उद्योगको अनुगमन गरिँदै आएको छ ।

सो अवधिमा कार्यालयले विभिन्न खाद्य समूहका ३५ अनुज्ञापत्र जारी, ४३ नवीकरण, ११० सिफारिस गरिएको कार्यालय प्रमुख रिजालले जानकारी दिए ।

नेपालको तत्कालीन मध्यमाञ्चल विकास क्षेत्रअन्तर्गत विसं २०३२ मा क्षेत्रीय खाद्य प्रयोगशालाको नामबाट मकवानपुरको हेटौँडा औद्योगिक क्षेत्र परिसरमा यस कार्यालयको स्थापना भएको थियो । रासस



प्रतिक्रिया दिनुहोस !