६ आश्विन २०८१, आइतबार

राष्ट्रिय सडक सञ्जालमा जोडिन हुम्लालाई अझै दुई वर्ष लाग्ने

प्रकाशित मिति :  19 March, 2021 5:30 pm


सिमकोट । सडक सञ्जालसँग जोडिन बाँकी रहेको देशको एकमात्रै जिल्ला सदरमुकाम हुम्लाको सिमकोट चालु आर्थिक वर्षमा पनि सडक सञ्जालमा नजोडिने भएको छ ।

सडक विभागका अनुसार अहिलेको गतिमा काम हुँदा सिमकोटमा सडक पुग्न अझ दुई वर्षभन्दा बढी समय लाग्ने देखिएको छ । कर्णाली करिडोरअन्तर्गत सो राजमार्गमा सडक विभाग र नेपाली सेना दुवैले निर्माणको काम गरिरहेको छ । सडक विभागले निर्माण गरिरहेको खण्डमा १६ किमी साधारण बाटो खन्न बाँकी रहेको विभागका उपमहानिर्देशक शिव नेपालले जानकारी दिए। सो खण्डमामा विभागले निर्माण गर्दा ढिलाइ भइरहेकाले सेनालाई नै निर्माण गर्न भनेको थियो । त्यसको टुङ्गो नलागेकाले अहिले विभागले नै सुस्त गतिमा काम ग विभागले निर्माण गर्दा ढिलाइ भइरहेकाले सेनालाई नै निर्माण गर्न भनेको थियो । त्यसको टुङ्गो नलागेकाले अहिले विभागले नै सुस्त गतिमा काम गरिरहेको छ ।

देशभरका ७७ जिल्लाका सदरमुकामध्ये एउटा सदरमुकाममा मात्रै सडक नपुगेकाले सिमकोटसम्म ट्रयाक खोलिसक्ने लक्ष्य लिइँदै आएको छ । सो स्थानमा खटिएका विभागका इञ्जिनीयरका अनुसार लक्ष्य लिइएको काम अझै दुई वर्ष पहिले सकिँदैन । पहाडी क्षेत्र त्यसमा पनि अत्यधिक चट्टान भएकाले त्यसलाई काट्दै लैजानुपर्ने अवस्था रहेको उपमहानिर्देशक नेपालले बताए । विष्फोटक पदार्थ सजिलो उपलब्ध नहुनु नै सिमकोटसम्म सडक पुर्याउन नसकिनुको मुख्य समस्याका रुपमा रहेको छ । नेपाली निर्माण व्यवसायीको क्षमता र कठिन भूगोलका कारण निर्माणमा ढिलाइ भइरहेको छ । “कणार्लीको नदी किनारैकिनार चट्टानी क्षेत्र हुँदै सडक अघि बढाउन गाह्रो काम छ।” उपमहानिर्देशक नेपालले भने ।

कुनै पनि सडकमा चट्टान फोरेर निर्माण गर्नका लागि आवश्यक पर्ने विष्फोटक पदार्थ सेनाले उपलब्ध गराउने गर्छ । सो सडकमा आवश्यक सामग्री उपलब्ध गराउन सेनाको टुकडी निर्माणस्थलबाट टाढाटाढा रहेका छन् । त्यहाँबाट निर्माणस्थलसम्म सेनालाई ल्याउँदा ढिलाइ हुने भएको छ। निर्माणस्थलमा टुकडी नराख्दासम्म निर्माणले गति नलिने उपमहानिर्देशक नेपालले बताए ।

राजमार्गमा निर्माणसँगै सडक विस्तारको काम अघि बढाइएको छ । हिल्सादेखि सिमकोटसम्म ३५ किमी चौडा गर्ने काम भइरहेको छ । अहिले गर्न सकिने ठाउँमा विस्तार गर्ने र अप्ठेरो ठाउँमा पहिले ट्याक खोलिसकेर मात्रै सडक बिस्तार गर्ने योजना बनाइएको छ । हिल्सादेखि सिमकोटसम्म ९० किमी सडक ट्याक खुलाइएको छ । सोही खण्डमा ४०० मिटर भने डिजाइनअनुसार खन्न नसकिएकाले चौडाइ कम छ र ग्रेड पनि नमिलेको नेपाल बताउछन्।

सो सडकमा बजेटको भने समस्या नभएको विभागले जनाएको छ । गत आवमा सो सडकका लागि छुट्टाइएको बजेट खर्च भएको थिएन । चालु आवमा पनि छुट्टाइएको बजेट खर्च भइसक्ने नदेखिएको उपमहानिर्देशक नेपालले जानकारी दिए । सडकमा जग्गाको समस्या आउने गरेपनि निर्माण नै रोकिने अवस्था छैन ।

सेनाले निर्माण गरेको स्थानमा ट्रयाक खोल्ने काम सकिनै लाग्दा विभागले निर्माण गरेको स्थानमा भने कहिलेसम्म खुलिसक्छ भन्नेमा विभाग प्रष्ट छैन । विभागले निर्माण गरेको ठाउँमा पनि विष्फोटक पदार्थ सेनासँग किनेर र उनीहरुकै सुरक्षामा निर्माणस्थलमा पुर्याउनपर्छ । सेनासँगको सहकार्यमा काम गर्नुपर्ने भए पनि यो काम सेनाको प्राथमिकतामा त्यो काम नभएको उपमहानिर्देशक नेपालले बताउछन्। अहिले निर्माणस्थलमा छुट्टै टुकडी व्यवस्था नभएर अरु काममा खटिएकालाई समय समयमा निर्माणस्थल लैजाने गरिएको छ ।

सेनाले निर्माण गरिरहेको खुलालुदेखि सलिसल्ला १२३ किमी सडकको निर्माण अन्तिम चरणमा पुगेको छ । सलिसल्लादेखि सिमकोटसम्म ५० किमी सडक निर्माण विभागले गरिरहेको छ । विभागले सलिसल्लाबाट सिमकोट र सिमकोटबाट सलिसल्लातर्फ गरी दुवैतर्फबाट काम गरिरहेको छ । विभागले ३४ किमी ट्रयाक खोलिसकेर बीचमा १६ किमी सडक खन्न बाँकी छ ।

 



प्रतिक्रिया दिनुहोस !