६ आश्विन २०८१, आइतबार

पहाडी भूभागका केही स्थानमा मेघगर्जनसहित वर्षा हुने सम्भावना

प्रकाशित मिति :  20 March, 2021 12:21 pm


काठमाडौं । देशभर आज आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका केही स्थानमा मेघगर्जनसहित वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव रहेकाले देशभर बदली भई पहाडी भूभागका केही स्थानमा अपराह्नपछि मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको महाशाखाको भनाई छ । अझै दुई–तीन दिन देशभर आंशिकदेखि सामान्य बदली रहने अनुमान छ ।

हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १, २, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित वर्षाको सम्भावना रहेको महाशाखाको अनुमान छ ।

जल तथा मौसम विज्ञान विभागले चेतावनी तथा परामर्श जारी गर्दै देशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।

 



प्रतिक्रिया दिनुहोस !