६ आश्विन २०८१, आइतबार

चैत २७ देखि वैशाख ७ गतेसम्म भक्तपुर औद्योगिक तथा व्यापार मेला आयोजना

प्रकाशित मिति :  21 March, 2021 12:01 pm


भक्तपुर । नयाँ वर्षको अवसरमा भक्तपुरमा ‘छैटौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार मेला २०७७÷७८’को आयोजना हुने भएको छ । नयाँ वर्षको अवसरमा भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको ९९ रोपनी जग्गामा औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्याण्डले बृहत् औद्योगिक मेलाको आयोजना गर्ने भएको औद्योगिक शान्ति नेपालका अध्यक्ष सन्दीप महतले जानकारी दिए ।

उनका अनुसार मेला आगामी चैत २७ देखि वैशाख ७ गतेसम्म १२ दिनसम्म हुनेछ । सबै उपभोक्तालाई एकै थलोबाट सम्पूर्ण सामान उपलब्ध गराउने उद्देश्यले नयाँ वर्षको अवसरमा बृहत् औद्योगिक तथा व्यापार मेला आयोजना हुने मेलामा १५० भन्दा बढी स्टल रहने बताए ।

मेलामा मानवीय दैनिक जीवनमा प्रयोगमा आउने सम्पूर्ण दैनिक उपभोग्य सामग्री, खाद्यान्नका सामग्री, विभिन्न्न प्रकारका लत्ताकपडा, जुत्ता, कृषि तथा हस्तकलाका सामग्री, भाँडाकुँडाका सामग्री, पर्यटन प्रवद्र्धन गर्ने स्टल रहने छन् । मेलाका संयोजक दीपक थापाले मेलामा खुला भलिबल प्रतियोगिताको समेत आयोजना गर्ने जानकारी दिए।

मेलामा अटोमोबाइल, अन्तर्राष्ट्रिय स्टल, खाना महोत्सव तथा राष्ट्रिय एवं स्थानीय खाना महोत्सव, विभिन्न ब्राण्डका मोबाइल तथा इलेक्ट्रोनिक्स सामानको स्टल रहने छन् ।

मेलामा बिक्री गरिने सामानमा २५ देखि ५० प्रतिशतसम्म छुट दिने व्यवस्था गरिएको जानकारी दिँदै उनले मेलामा आउनेका लागि निःशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन गर्ने जानकारी दिए । करिब पाँच लाख उपभोक्ताले मेलाको अवलोकन तथा सेवा प्राप्त गर्ने अनुमान गरिएको संयोजक थापाले जानकारी दिए ।रासस



प्रतिक्रिया दिनुहोस !