५ आश्विन २०८१, शनिबार

राजकीय भ्रमणका क्रममा राष्ट्रपति भण्डारी बंगलादेशमा,समकक्षी हामिदद्वारा विमानस्थलमा स्वागत

प्रकाशित मिति :  22 March, 2021 11:38 am


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी दुई दिने राजकीय भ्रमणका क्रममा ढाका पुगेकी छन् । नेपाल एअरलाइन्सको चार्टड विमानमार्फत स्थानीय समय अनुसार बिहान १० बजे हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएकी हुन् ।

राष्ट्रपतिको हैसियतमा भण्डारीको यो पहिलो भ्रमण हो । राष्ट्रपति भण्डारी बंगलादेशी समकक्षीको निमन्त्रणामा बंगलादेशको भ्रमणमा पुगेकी हुन् ।
राष्ट्रपति भण्डारीलाई बंगलादेशका राष्ट्रपति अब्दुल हामिदले विमानस्थलमा पुष्पगुच्छा सहित स्वागत गरेका थिए ।

राष्ट्रपति भण्डारीलाई बंगलादेश सेना, नौसेना र वायुसेनाको टोलीले २१ तोपको सलामीसहित सम्मान गारत अर्पण गरेका थिए ।

स्वागतका लागि बंगलादेशका विदेश मन्त्री डा. एके अब्दुल मोमेन, स्वास्थ्य र परिवार कल्याण मन्त्री जाहिद मालेक, रेलमन्त्री नुरुल इस्लाम सुजान, राज्यका विदेश मन्त्री मो.शहरीर आलम, महिला तथा बालबालिका राज्यमन्त्री फिजेलुन नेसा इंदिरा लगायतका विमानस्थलमा उपस्थित भएका थिए ।

मन्त्रीपरिषद् सचिव, तीन सेवाका प्रमुख, प्रधानमन्त्री कार्यालयका प्रधान सचिव (पीएमओ), विदेश सचिव, आईजीपी र राष्ट्रपति कार्यालयका सम्बन्धित सचिवहरू पनि राष्ट्रपति भण्डारीको स्वागतमा उपस्थित थिए ।

राष्ट्रपति भण्डारी बङ्गलादेशको दुई दिने राजकीय भ्रमणका लागि आज बिहान ८ः४० बजे नेपालबाट प्रस्थान गरेकी थिइन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री ईश्वर पोखरेल र संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले बिदाइ गरेका थिए ।

सो अवसरमा मन्त्री, संवैधानिक निकायका प्रमुख, सुरक्षा निकायका प्रमुख, नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रतिनिधिलगायत उपस्थित थिए । राष्ट्रपति भण्डारीको सम्मानमा नेपाली सेनाको एक टुकुडीले सम्मानगारत अर्पण गरेको थियो ।

भ्रमण दलमा राष्ट्रपतिकी छोरी उषाकिरण भण्डारी, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, राष्ट्रपतिका सञ्चार विज्ञ टीकाप्रसाद ढकाल, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, राष्ट्रपतिको कार्यालयका सचिव डा हरि पौडेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइराला, परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराई र राष्ट्रपतिका स्वकीय सचिवालयका प्रमुख डा. भेषराज अधिकारी छन् ।

त्यस्तै परराष्ट्र मन्त्रालयका सहसचिव यज्ञबहादुर हमाल, मन्त्रालयका शिष्टाचार महापाल डा दुर्गाबहादुर सुवेदी, राष्ट्रपतिका निजी चिकित्सक डा कैलाश भण्डारीलगायत ढाकास्थित नेपाली दूतावासका कर्मचारीसमेत गरी ५४ जना भ्रमण दलमा सहभागी छन् । राष्ट्रपति भण्डारी भ्रमण सम्पन्न गरी मङ्गलबार अपराह्न ४ः५५ बजे स्वदेश फिर्ता हुने कार्यक्रम छ ।



प्रतिक्रिया दिनुहोस !