६ आश्विन २०८१, आइतबार

फास्टट्रयाकबारे छानविन गर्न संसदीय उपसमिति गठन

प्रकाशित मिति :  22 March, 2021 1:53 pm


काठमाडौं । फास्टट्रयाकबारे छानविन गर्न संसदीय उपसमिति गठन भएको छ ।

प्रतिनिधिसभाअन्तर्गतको विकास तथा प्रविधि समितिले फास्टट्रयाकमा ढिलाइ भइरहेको भन्दै अनियमितता तथा समस्या पहिचानका लागि उपसमिति गठन गरेको हो । उपसमितिको संयोजकमा सांसद गणेश पहाडी रहेका छन् । उपसमितिको सदस्यमा जीपछिरिङ लामा, इन्दु शर्मा, अनिलकुमार झा र केदार सिग्देल सदस्य रहेका छन् ।

उपसमितिलाई विज्ञ तथा प्राविधिकसँग छलफल गरेर द्रुतमार्ग निर्माणमा समस्या निवारणका उपाय तथा अहिले अनियमितता भएको विषयमा अध्ययन गर्ने जिम्मेवारी दिइएको छ ।

उपसमितिले खोकनाको बुङमतीमा जग्गा अधिग्रहण गर्न नसक्नुको कारण ४ वर्षमा ११ प्रतिशत काम मात्रै सम्पन्न भएको तथा तोकिएको समय ०८१ सम्म सकिने नसकिने विषयमा उपसमितिले अध्ययन गरेर सुझाव दिने छ ।

ललितपुरको खोकनाबाट बाराको निजगढसम्म ७६ दशमलव २ किमीको दक्षिण एसियालीस्तरको सो मार्गको नेपाली सेनाले निर्माण गरिरहेको छ । २०७४ वैशाख २१ को मन्त्रिपरिषद्को निर्णयबाट उक्त आयोजना निर्माणको जिम्मा सेनालाई दिएको थियो ।

२०७४ जेठ १४ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजगढमा द्रुत मार्गको शिलन्यास गरेका थिए । तर लक्ष्य अनुसार काम हुन नसकेपछि संसदीय समितिले छानविन सुरु गर्न लागेको हो ।



प्रतिक्रिया दिनुहोस !