३१ भाद्र २०८१, सोमबार

कृषि मन्त्री अर्यालको दाबीः किसानको संरक्षण गर्नेगरी वैदेशिक लगानी आवश्यक छ

प्रकाशित मिति :  22 March, 2021 2:41 pm


काठमाडौं । कृषि तथा पशुपक्षी विकास मन्त्री पद्मा कुमारी अर्यालले साना किसानहरूको संरक्षण गर्नेगरी कृषिमा वैदेशिक लगानी ‘एफडिआई’ आवश्यक रहेको बताएकी छन् ।

खाद्यका लागि कृषि अभियानले आज ललितपुरमा आयोजना गरेको ‘कृषि विकासका समसामायिक सवालहरू’ विषयक छलफल कार्यक्रममा बोल्दै मन्त्री अर्यालले कृषि क्षेत्रमा वैदेशिक लगानी आवश्यक रहेको बताएकी हुन् ।

उनले आफूले लगानी गर्न नसकेको कृषि क्षेत्रमा मात्र ‘एफडिआई’ लागु गर्न आवश्यक रहेको उल्लेख गरिन् । वैदेशिक लगानी भित्राउने सन्दर्भमा चिन्ता चासो व्यक्त गर्नु स्वभाविक कुरा भएको भन्दै मन्त्री अर्यालले धेरै आशंका गरेर विकासका कामहरू रोक्ने कुरा राम्रो नहुने बताइन् ।

“हाम्रो सामथ्र्यले मात्र भेटेन भने कृषि क्षेत्रमा विदेशी लगानी भित्राएर जानुपर्छ,” मन्त्री अर्यालले भनिन्,“तर हामीलाई नोक्सान नहुने र हाम्रा किसानहरुलाई पनि प्रोत्साहन हुनेगरी जानुपर्छ । वैदेशिक लगानीका सन्दर्भमा चिन्ता गर्नु राम्रो कुरा हो तर धेरै आशंका गरेर विकास कामहरु रोक्ने कुरा राम्रो होइन ।”

सरकारले साना किसानलाई मार्नेगरी विदेशी लगानी भित्राएको नभएर उनीहरूको संरक्षण गर्न ल्याएको मन्त्री अर्यालको भनाई थियो । उनले भनिन्,“ठूला–ठूला देशमा पनि एफडिआई लागु भएको छ र कृषिको विकास भएको छ । कृषि क्षेत्रको विकासका लागि नेपालमा ठुलो लगानीको जरुरी छ ।”

एफडिआईका बारेमा चिन्ता गर्नु राम्रो भए पनि धेरै आशंका गरेर कृषि क्षेत्रको विकास रोक्नु गलत भएको उनको भनाई थियो ।

मन्त्री अर्यालले वैदेशिक लगानीका सन्दर्भमा दस्ताबेजहरू अध्ययन गरेर उचित कार्यविधि बनाउनतर्फ सबैको चासो र चिन्ता हुनुपर्ने समेत बताइन् । “सरकारले कृषि क्षेत्रको विकास गर्ने लक्ष्य लिएको छ । जसअनुसार कृषिमा ठुला लगानीको आवश्यकता छ तर, जुन कुरा हाम्रो क्षमताले मात्र भ्याउँदैन”, मन्त्री अर्यालले भनिन्,“हाम्रो सामथ्र्यले नभ्याउने अवस्थामा विदेशी लगानी आकर्षित गरेर कृषि क्षेत्रको विकास गर्ने, उत्पादन पनि बढाउने र निर्यात पनि गर्ने हिसाबले जानुपर्छ ।”

यसबारे कार्यविधि बनाउन बाँकी नै रहेकोले आवश्यक अध्ययन र छलफल गरेर मन्त्रालयलाई सल्लाह सुझाव दिन पनि उनले आग्रह गरिन् ।
कृषि उद्यम क्षेत्रले भने नेपालमा बैदेशिक लगानीको विरोध गर्दै आएका छन् ।



प्रतिक्रिया दिनुहोस !