५ आश्विन २०८१, शनिबार

राष्ट्रपति भण्डारीसँग बङ्गलादेशी प्रधानमन्त्रीको भेटवार्ता

प्रकाशित मिति :  22 March, 2021 6:20 pm


काठमाडौं । बङ्गलादेशको राजकीय भ्रमणमा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारीसँग आज राजधानी ढाकास्थित होटेल कन्टिनेन्टलमा बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले शिष्टाचार भेटवार्ता गरेकी छन् ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र बङ्गलादेशका लागि नेपाली राजदूत डा. वंशीधर मिश्र, बङ्गलादेशका विदेशमन्त्री डा एके अब्दुल मोमेनसहित दुवै देशका उच्चस्तरीय प्रतिनिधि सहभागी भेटवार्ताका क्रममा दुई देशबीचको आपसी सम्बन्ध, पारस्परिक सहयोग र सहकार्यका विषयमा कुराकानी भएको छ ।

आजै विदेशमन्त्री डा मोमेनले राष्ट्रपति भण्डारीसँग अलग्गै शिष्टाचार भेटवार्ता गरेका छन् । बङ्गलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्मशताब्दीका अवसरमा आयोजित विशेष समारोहमा बङ्गलादेशी राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारी आज बंगलादेश पुगेकी हुन् ।

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को विशेष विमानबाट बंगलादेश पुगेकी राष्ट्रपति भण्डारीलाई बङ्गलादेशका राष्ट्रपति हमिदले ढाकास्थित हजरत सहजलाल अन्तरराष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

राष्ट्रपति भण्डारी आजै बङ्गलादेशका राष्ट्रपति हमिदसँग द्विपक्षीय भेटवार्ता गर्ने र द्विपक्षीय सम्झौता समारोहमा सहभागी हुने कार्यक्रम छ । दुई देशबीच पर्यटन, कृषि र संस्कृतिका क्षेत्रमा आपसी सम्झौता हुने तयारी छ ।

राष्ट्रपतिको भ्रमण दलमा राष्ट्रपतिकी सुपुत्री उषाकिरण भण्डारी, परराष्ट्रमन्त्री ज्ञवालीलगायत उच्च सरकारी अधिकारी सम्मिलित छन् । भ्रमण टोलीमा १९ कलाकर्मी र तीन सञ्चारकर्मीसहित ५४ जना सदस्य छन् । रासस



प्रतिक्रिया दिनुहोस !