५ आश्विन २०८१, शनिबार

किन विश्वासको मत लिन चाहदैनन् प्रधानमन्त्री ओली?

प्रकाशित मिति :  24 March, 2021 1:40 pm


फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मात्रै होइन नेपालका प्रमुख राजनीतिक दलका नेताहरूले ‘अब के’ प्रश्नको सवालको जवाफ नपाएर ‘टाइम बारगेन’ गर्न थालेका छन् ।

नेकपा माओवादी केन्द्रले पनि प्रधानमन्त्री ओलीलाई दिएको समर्थन फिर्ता नलिएर ‘टाइम बारगेन’को बाटो अपनाएको छ ।

सर्वोच्च अदालतको नेकपा पार्टी विवादसम्बन्धी मुद्दाको फैसलाबाट राजनीतिक स्थिति पेचिलो बनेयता नेपाली राजनीतिक दलका प्रमुख नेताहरू टाइम बारगेन गर्न थालेका हुन् । प्रतिनिधिसभा विघटनका बेला बनेको अवस्था भन्दा जटिल अवस्थामा अहिलेको राजनीति सबैका लागि फसेको छ ।

नेकपा एमालेका ओली पक्षीय नेता र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तत्काल शक्ति आर्जन नीति अख्तियार गरिरहेका छन् । माओवादी केन्द्र र एमालेबीचको एकीकरणलाई सर्वोच्च अदालतले असफल बनाइ दिएकाले समस्या जटिल बनेको हो ।

एकीकरणबाट बनेको नेकपाको ब्यानरबाट चुनाव जितेर आएका जनप्रतिनिधिको हैसियत के हुने सवाल खडा भएको छ । यसको जवाफ खोज्नका लागि माओवादी केन्द्रले सर्वोच्चमा पुनरावलोकन गर्ने निर्णय गरेको छ ।

यो सबै गर्न समय लाग्नेछ । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता गरे ओलीलाई फेरि प्रतिनिधिसभा विघटन गरी चुनावमा जाने अवसर प्राप्त होला कि भनेर फिर्ता लिने बाटो नरोजेको हो ।

ओलीले विश्वासको मत लिएर सरकार बचाउन खोज्दा सकिएन भने राजीनामा दिनुपर्ने हुन्छ । जुन कुरो नेकपा फुट्न अघि नै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भनेका थिए “ प्रधानमन्त्रीले राजीनामा दिएर बाटो खुलाइ दिनुपर्छ ।” ओलीले त्यसो गरेनन् ।

प्रतिनिधिसभा विघटन बदर गरेपछि प्रधानमन्त्री ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने अभ्यास नभएको होइन् । तर प्रतिनिधिसभा ब्युँतिएकै बेला सर्वोच्चले नेकपा एकीकरणलाई बदर नै गरिदिए ।

कम्युनिस्ट नेता ऋषिकट्टेलले नेकपा आफ्नो पार्टीको नाम भएको यो आफ्नो हुनुपर्ने माग गरेको मुद्दामा सर्वोच्चले नेकपा एमाले र माओवादी केन्द्र बीच भएको एकीकरण नै बदर गरी दियो ।

यसले प्रतिनिधिसभा बदरको फैसलाले दिएको निकास बिथोलियो । सर्वोच्चको यो फैसलालाई जनताले कहीँ नभाको जात्रा हाँडी गाउँ भनेर टिप्पणी गर्न थालेका छन् । तर यो फैसला रहेसम्म तत्कालै राजनीति असहज छ ।

कानुनविद्हरूको सल्लाहमा माओवादी केन्द्रले सर्वोच्चको सो फैसलाउपर पुनरावलोकन गर्ने निर्णयबाट राजनीतिकरूपमा अघि बढ्ने गतिविधि अवरूद्ध हुन पुगेको छ । राजनीति खेला प्रमुख दलका नेताहरूलाई समय चाहिएको छ । र सबैले आआफ्नो हिसाबले टाइम बारगेन गरिरहेका छन् ।

त्यसैले सरकारलाई दिएको समर्थन फिर्ता लिन माओवादी केन्द्र अहिले उत्सुक देखिएको होइन् । ओली विरूद्धको गठबन्धन बनाइ सरकार ढाल्न सक्ने अवसर आए समर्थन फिर्ता लिएर सरकार बनाउन सक्ने अवसर माओवादीले आफ्नो हातमा राख्न चाहेको हो ।

ओलीलाई पनि प्रतिनिधिसभा विघटन गर्न तत्काल गाह्रो भएको र अन्य दललाई मिलाएर सरकार बलियो पार्न अप्ठयारो भइरहेको छ । त्यसले उनले विश्वासको मत लिँदा हुने जोखिम लिन चाहिरहेका छैनन् ।

अर्कोतर्फबाट एमाले पार्टीका नेता माधवकुमार नेपाल र झलनाथ खनालले ओली विरूद्धको राजनीतिक प्रतिस्पर्धा अर्को विश्वसनीय गठबन्धन देखापरे संसदभित्र निर्णायक बेला ‘फ्लोरक्रस’ गर्न सक्छन् । यो भयले पनि ओलीलाई विश्वासको मत लिन गाह्रो भइरहेको छ ।

नेपाली कांग्रेसका शेर बहादुर देउवाले सरकारमा अरु कसैलाई नेतृत्वमा जान नदिन चाहेका छन् भने आफू पनि जान चाहेका छैनन् ।

सरकारमा गए पार्टी सभापतिमाथिको आफ्नो दाबी कमजोर बन्ने भयले देउवा भयभित भएका छन् । सरकारमा अरुलाई प्रधानमन्त्री बनाएर पठाउँदा सरकारको प्रभावमा सभापतिको दाबी कमजोर हुने डर पनि देउवालाई त्यतिकै छ ।

कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीच आलो पालो प्रधानमन्त्रीको विषयमा पनि छलफल टुङ्गिएको छैन् । कांग्रेसले ठूलो दलका नेताले मेरै नेतृत्वमा सरकार बन्नु पर्ने अडानमा छ भने ।

अन्य दलहरूले सरकारको नेतृत्व आलोपालो गरेर जाने निर्णय उचित हुने सम्बद्ध केही नेताहरूको भनाइ रहेको छ । यही फेरोमा जसपाका महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउन सकिने हो कि भनेर बहस चलिरहेको छ ।

यी सबै विषयसँग निकटका सम्बद्ध स्रोतहरूका अनुसार राजनीति आन्तरिक र बाह्य स्वार्थहरूको समुच्च्य हो । दुबै स्वार्थहरूबीचको सन्तुलन कायम भए मात्र गुजुल्टिएको राजनीति सुल्झिएर जाने हो ।

यसअघि संसदमा प्रधानमन्त्री छनौट गर्न पटक पटक चुनाव हुँदा दर्जनबढी पटक मतदान भएको थियो । राजनीतिक सुल्झिएमात्र संसदबाट प्रधानमन्त्रीका उम्मेदवारले आवश्यक गणपूरक संख्या प्राप्त गरेको परिदृश्य ओझेल भएको धेरै भएको छैन ।

त्यसैले सबै नेताहरू टाइम बारगेन गरिरहेका छन् । यसमा प्रधानमन्त्री ओली पनि रहेका छन् । नभए आफू झन बलियो भएको भन्नेले विश्वासको मत लिएर एक वर्षका लागि ढुक्कसँग देशलाई अगाडि बढाउन सक्थे नी उनकै नजिकका एक नेताले जनाएका छन् । जोखिम छ र पो अघि बढ्दैनन् ।



प्रतिक्रिया दिनुहोस !