एसीसीएको प्रतिष्ठित ‘उमेद जैन छात्रवृत्ति’ दिक्षा लामालाई
काठमाडौं । मान्यता प्राप्त चार्टर्ड अकाउन्ट्यान्टहरूको संगठन एसीसीएको प्रतिष्ठित ‘उमेद जैन छात्रवृत्ति’ दिक्षा लामालाई दिइने भएको छ ।
डिसेम्बर सन् २०२० मा दिवंगत भएका एसीसीएका पहिलो सदस्य उमेद जैनको स्मृतिमा स्थपित यो छात्रवृत्ति प्रदान गर्ने निर्णय बमोजिम यो पहिलो छात्रवृत्तिका लागि दिक्षा लामा छनौटमा परेकी हुन् ।
ब्रिटिश काउन्सिलबाट सन् १९७० मा छात्रवृत्ति पाएर जैन चार्टर्ड सर्टिफाइड अकाउन्ट्यान्टको अध्ययन गर्न बेलायत पुगेका थिए । सन् २००६ जैनले पहिलो एसीसीए अचिभमेन्ट अवार्ड पाएका थिए । एसीसीएको प्रवद्र्धनका लागि दिइने यो अवार्ड पाउने जैनको योगदान यो क्षेत्रमा विशिष्ट रहेको एसीसीएले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
एसीसीए नेपालका प्रमुख रबिन कटवालले नेपालको लेखापरीक्षणको शुरूवाती दिनमा जैनले दिएको योगदान सदैव स्मरणीय रहेन बताए ।
यो छात्रवृतिका लागि उनको परिवारले एक कोष स्थापना गरेको छ ।
यो छात्रवृति पाउने विद्यार्थीको परीक्षा शुल्क, शिक्षण शुल्क र वार्षिक शुल्क समेत गरी हुने एक वर्षको सबै रकम कोषले वहन गर्ने भएको छ । यो छात्रवृत्ति वर्षेनी दिइने भएको छ ।
जैनका छोरा अभिजय जैनले महिला शिक्षाका प्रवद्र्धक भएकाले पहिलो छात्रवृत्तिको रूपमा महिला छनौट परेको भन्दै खुशी व्यक्त गरे । आउँदा वर्षहरूमा नेपालीहरूको आगामी पुस्तालाई सहयोग गर्न पाउँदा आफूहरू खुशी भएको उनले जनाए ।
वार्षिक छात्रवृत्तिका लागि आवेदन फेब्रअरी २०२१ मा खुला गरिएको थियो । हरेक आवेदकलाई यो छात्रवृतिले उनीहरूको करियर, समुदाय र समग्र लेखा व्यवसायमा कसरी सकारात्मक योगदान दिने सवालको जवाफ दिन भनिएको थियो ।
यस विषयमा आधारित निवन्धन लेखनमा ६५ जना सहभागी भएका थिए । ६५ जना मध्ये दिक्षा लामा सर्वोत्कृष्ट ठहर भएर छनौटमा परेकी हुन् । सन् २०१८ देखि एसीसीएको विद्यार्थी लामाले भर्ना भएको मितिदेखि अहिलेसम्म ७ वटा परीक्षा पूरा गरेकी छिन् ।