५ आश्विन २०८१, शनिबार

माधवकुमार नेपालले बुझाए स्पष्टिकरण : उल्टै अध्यक्ष ओलीमाथि प्रश्न र आरोप

प्रकाशित मिति :  25 March, 2021 6:52 pm


काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीलाई राज्यसत्ताको दुरुपयोग गर्दै देशका विभिन्न भागहरुमा पार्टीको विधान र मान्यता विपरीत सार्वजनिक गतिविधि गरिरहेको आरोप लगाएका छन् ।

आफूलाई सोधिएको स्पष्टिकरणको जवाफ दिँदै नेता नेपालले उल्टै अध्यक्ष ओलीमाथि आरोप र प्रश्न तेर्साएका हुन् ।

नेपालको स्पष्टिकरण पत्रमा भनिएको छ,“तपाईले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा म लगायत केन्द्रीय कमिटीका धेरै सदस्यहरुलाई कुनै जानकारी नगराई आफ्ना गुटका मानिसहरुको भेला गत फागुन २८ गते बोलाई माथि प्रकरण ३ र त्यस अन्तर्गतका विभिन्न बूँदाहरुमा उल्लेखित पार्टी विधानका विभिन्न धाराहरुको उल्लंघन गर्दै वस्तुतः पार्टीको नाम, चिन्ह र झण्डाको दुरुपयोग गर्नुभयो ।”

प्रचण्डको मतियार बनेको आरोपको खण्डन गर्दै नेता नेपालले ओलीलाई भनेका छन्,“यदि तपाईको जस्तो दृष्टिकोण राख्ने हो भने पार्टी एकताको पूर्व सन्ध्यादेखि प्रतिनिधि सभाको विघटनसम्मको अवधिमा तपाईले पुष्पकमल दाहाल ‘प्रचण्ड’ संग गर्नुभएका सम्झौता, निरन्तर गर्ने गरेको गोप्य बैठक र सहकार्यको आधारमा तपाई नै उहाँको सबभन्दा ठूलो ‘मतियार’ हो भन्न सकिन्न र ? तर यस्तो दृष्टिकोण ममा छैन । ”

नेता नेपालले बालुवाटारमा अवैधानिक भेला गरेर पार्टी केन्द्रीय कमिटीको विशेष बैठकको संज्ञा दिएको भन्दै आपत्त समेत जनाएका छन् । उनले यस्तो शैलीले पार्टीलाई फुटको डिलतर्फ धकेल्ने चेष्टा गरेको ओलीमाथि आरोप लगाएका छन् ।

उनले भनेका छन्,“तपाईले बालुवाटारमा गुटको अवैधानिक भेलालाई पार्टी केन्द्रीय कमिटीको विशेष बैठकको संज्ञा दिने पार्टी विधान विपरीतको कार्य गर्नुका साथै पार्टी विधान र नियमावली तथा सम्बन्धित जनसंगठनका विधानहरु विपरीत देशभरी पार्टी कमिटी तथा पार्टीसंग सम्बद्ध जनसंगठनहरुको स्वेच्छाचारी किसिमले गठन र पुनर्गठन गर्दै पार्टीको एकता र प्रणालीमाथि नै प्रहार गरी पार्टीलाई फुटको डिलतर्फ धकेल्ने चेष्टा गरिरहनु भएको छैन र ?”



प्रतिक्रिया दिनुहोस !