५ आश्विन २०८१, शनिबार

केपी ओलीसँग सत्ता साझेदारीको सम्भावना छैन : यादव

प्रकाशित मिति :  26 March, 2021 11:48 am


रुपन्देही । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसँग सत्ता साझेदारी नहुने बताएका छन् ।

प्रेस मञ्च नेपालले आज बुटवलमा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष यादवले जसपाका नेताहरु र प्रधानमन्त्रीबीचको भेटवार्ता रेशम चौधरीलगायत साथीहरुको रिहाइको लागि मात्र भएको प्रष्ट पार्दै अध्यक्ष यादवले सत्ता सहकार्य नहुने बताएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओली संविधानविरोधी, लोकतन्त्र र संघीयता बिरोधी, प्रतिगामी शक्ति भएको टिप्पणी गर्दै यस्तासँग सत्ता साझेदारी गर्न, सती जान र लगनगाँठो कस्न नसकिने बताएका हुन् । उनले आफ्नो पार्टी नफुट्ने र कुनैपनि बहानामा केपी ओली र ओली प्रवृत्तिसँग साँठगाँठ नहुने उल्लेख गरे ।

लोकतन्त्रको पक्षमा रहेका दलहरु मिलेर नयाँ सरकार गठन गरी निर्वाचनमा जानुपर्ने अध्यक्ष यादवको भनाई थियो । उनले आफ्नो पार्टीले ओली सरकारलाई विस्थापित गर्न खोजेपनि अन्य दलहरुले निर्णय गर्न नसक्दा अलमल भएको दाबी गरे ।

संघीय लोकतान्त्रिक गणतन्त्र बलियो बनाउनका लागि अब नयाँ सरकार बनाउनुपर्नेमा जोड दिए ।

मनले चाहेर मात्रै नहुने भन्दै नयाँ सरकारका लागि अङ्क गणित आवश्यक भएको र यसका लागि नेपाली काँग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने यादवको भनाई थियो ।

 



प्रतिक्रिया दिनुहोस !