पत्रकार महासंघको मतदाता नामावलीमा विवाद,कर्णालीमा निर्वाचन समिति नै विघटन
काठमाडौं । नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशले मतदाता नामावलीमा केन्द्रले हस्तक्षेप गरेको भन्दै निर्वाचन समिति नै विघटन गरिदिएको छ ।
महासंघको केन्द्रीय कार्यालयबाट प्रकाशित नामावली तत्काल सच्याउन माग समेत गरेको छ ।
अध्यक्ष दुर्गा थापाले विज्ञप्ति जारी गर्दै चैत ९ गते प्रकाशित नामावली प्रदेश समितिको निर्णय विपरित भएको भन्दै प्रदेश समितिकै अनुसार अन्तिम नामावली प्रकाशत गर्न भनेका छन् ।
उनले भनेका छन्,“उपरोक्त सम्बन्धमा नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिको मिति २०७७ फागन १६ र १७ गते सुर्खेतमा बसेको बैठकबाट नयाँ सदस्यता तथा नविकरण सम्बन्धमा आवश्यक छानविन तथा छलफल गरी केन्द्रीय समितिमा पठाइएको निर्णयको व्यहोरा अवगत नै छ । तसर्थः मिति २०७७ चैत ९ गते प्रकाशित नामावली प्रदेश समितिको निर्णय विपरित भएकोले प्रदेश समितिको निर्णय अनुरूप अन्तिम, नामावली प्रकाशन गरिदिन हुनु अनुरोध छ ।”
महासंघ कर्णाली प्रदेशले केन्द्रबाट प्रदेश समितिको भूमिकामाथि नै प्रश्न चिन्ह खडा हुने गरि निर्णय भएको भन्दै आपत्ति जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ,“नेपाल पत्रकार महासंघको विधान २०६० पाँचौ संशोधन २०७५ को परिछेद २ दफा ५ उपदफा (ग) अनुसार निर्णय गरिएकोमा प्रदेश समितिको भूमिका माथी नै प्रश्न चिन्ह खड़ा हुनेगरी भएको निर्णय उपर सुनुवाई गरी प्रदेश समितिको माग अनुरुप अन्तिम नामावली सच्चिएर आउनेछ भन्ने कुरामा अझैपनि विश्वस्त छ ।”
अध्यक्ष थापाले यसअघि प्रदेश समितिको निर्णयानुसार अन्तिम नामावली प्रकाशन नहुँदासम्म प्रदेश निर्वाचन सम्बन्धी सबै कार्य अघि बढाउन नसकिने व्यहोरा जानकारी गराईसकेको स्मरण गराएका छन् ।
प्रदेश समितिले उजुरी दिएको ३ दिन वितिसक्दा पनि उजुरी उपर सुनुवाई गर्नेतर्फ हालसम्म प्रदेश समितिसग कुनै समन्वय नगरिनुको साथै मागको सुनुवाई गर्ने बारेमा कुनै प्रयास नगरिएको भन्दै निर्वाचन समिति समेत विघटन गरेको छ ।
विज्ञप्तिमा भनिएको छ,“प्रदेश समितिको निर्वाचन प्रयोजनका लागि वरिष्ठ पत्रकार एवम अधिवक्ता पीताम्बर ढकालको संयोजकत्वमा गठित पत्रकार युवराज शर्मा र देवकी तिमिल्सिना सदस्य रहेको ३ सदस्यीय प्रदेश निर्वाचन समिति विघटन गरिएको र प्रदेश समितिको निर्वाचनको सबै प्रक्रिया अघि बढाउन नसक्ने व्यहोरा जानकारी गराउछु ।”