५ आश्विन २०८१, शनिबार

नेपाल र रावलको स्पष्टिकरण कारबाही योग्य छ, केन्द्रीय कमिटीबाट फैसला हुन्छ : ओली

प्रकाशित मिति :  26 March, 2021 5:32 pm


काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल र नेता भिम रावलमाथि कारबाही हुने बताएका छन् ।

पार्टीले सोधेको स्पष्टिकरणमा आएको जवाफमाथि टिप्पणी गर्दै अध्यक्ष ओलीले उक्त जवाफ कारबाही योग्य भएको बताएका हुन् ।

संसदीय दलको बैठकपछि प्रमुख सचेतक विशाल भट्टराईले भने,“अहिलेसम्म वरिष्ठ नेता माधवकुमार नेपाल र अर्का नेता भिम रावलको स्पष्टिकरण आएको छ । प्रधानमन्त्रीले उक्त स्पष्टिकरण नकारात्मक छ र कारबाही योग्य छ भन्नुभएको छ । यो फैसला अगामी केन्द्रीय कमिटीबाट हुने छ भन्नुभएको छ ।”

अध्यक्ष ओलीले यसअघि भएको निर्णय नसच्चिने स्पष्ट पारेका छन् । अब नयाँ ढंगले अगाडि जाने र सबैका कुरा सुनिने भन्दै यसअघि भएका निर्णय फिर्ता नहुने स्पष्ट पारेको प्रमुख सचेतक भट्टराईले जानकारी दिए ।

स्पष्टिकरण सोधिएका अन्य २ नेताबाट सकारात्मक र पार्टीलाई एक हुने गरि जवाफ आउने ओलीको विश्वास रहेको भट्टराईको भनाई थियो । आज नेता झलनाथ खनालसहितका सांसदहरु संसदीय दलको बैठकमा उपस्थित भएका थिए । वरिष्ठ नेता नेपाल र भिम रावल भने बैठकमा गएका थिएनन् ।



प्रतिक्रिया दिनुहोस !