३० कार्तिक २०८१, शुक्रबार

सामाजिक सुरक्षा कोषद्वारा ५ करोड दाबी भुक्तानी

प्रकाशित मिति :  29 March, 2021 5:13 pm


काठमाडौं । सामाजिक सुरक्षा कोषले हालसम्म योगदानकर्तालाई दाबी भुक्तानीबापत झण्डै पाँच करोड भुक्तानी गरेको छ । विभिन्न चार योजनाअन्तर्गत एक हजार ४३५ योगदानकर्तालाई रु चार करोड ७३ लाख दाबी भुक्तानी गरिएको कोषले जनाएको छ ।

कोषले सबैभन्दा धेरै औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजनाको दाबी भुक्तानी गरेको छ । एक हजार २२६ लाभग्राहीलाई उक्त योजनाअन्तर्गत रु दुई करोड ५८ लाख ४६ हजार १५५ भुक्तानी भएको छ ।

दुर्घटना तथा अशक्तता सुरक्षा योजनाबाट ७० लाभग्राहीलाई रु १८ लाख ५० हजार ६२९, आश्रित परिवार सुरक्षा योजनाबाट २२ लाभग्राहीलाई रु ३४ लाख २९ हजार ६४ र वृद्धावस्था सुरक्षा योजनाबाट ११७ लाभग्राहीलाई रु एक करोड ६२ लाख ५५ हजार ७८१ भुक्तानी दिइएको कोषले जनाएको छ ।

यही चैत ११ गतेसम्म कोषमा रु चार अर्ब ८० करोड योगदान सङ्कलन भएको छ । कोषमा मासिक रुपमा आधारभूत पारिश्रमिकको २० प्रतिशत रोजगारदाता र ११ प्रतिशत श्रमिकका तर्फबाट ३१ प्रतिशत जम्मा हुँदै आएको छ ।

यस्तै ३१ प्रतिशत रकममध्येबाट कोषले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनाका लागि १ प्रतिशत, दुर्घटना तथा अशक्तता सुरक्षा योजनाका लागि १।४ प्रतिशत, आश्रित परिवार सुरक्षा योजनाका लागि ०।२७ प्रतिशत र वृद्धावस्था सुरक्षा योजनाका लागि २८।३३ प्रतिशत छ्ुट्ट्याइने छ ।

कोषले केही समयअघि कार्यविधि संशोधन गरेर वृद्धवस्था सुरक्षा योजनाअन्तर्गत जम्मा हुने योगदानकर्ताको आधाभूत परिश्रमिकको २८।३३ प्रतिशत रकमलाई निवृत्तभरण योजनामा २० प्रतिशत र अवकाश सुविधा योजनामा ८।३३ प्रतिशत रकम जम्मा हुने व्यवस्था गरेको छ ।



प्रतिक्रिया दिनुहोस !