५ आश्विन २०८१, शनिबार

निलम्बनप्रति नेता रावलको टिप्पणी : केपी शर्मा ओलीको तानाशाही निर्णय अस्वीकार्य छ

प्रकाशित मिति :  29 March, 2021 7:30 pm


काठमाडौं ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निलम्बन गरेपछि नेता भिम रावलले उक्त निर्णय अस्वीकार्य रहेको बताएका छन् ।

अध्यक्ष ओलीले आज मात्रै वरिष्ठ नेता माधवकुमार नेपाल र नेता रावललाई ६ महिनाका लागि निलम्बन गरेका थिए । निलम्बनको विरोध गर्दै रावलले भनेका छन्,“ केपी शर्मा ओलीको तानाशाही निर्णय अस्वीकार्य छ ।”

केपी शर्मा ओलीले पहिलो चरणमा नेपालको संविधान तथा आफैले हस्ताक्षर गरेको कम्युनिष्ट पार्टीबीचको एकतामाथि प्रहार गरेको उल्लेख गर्दै नेता रावलले दोस्रो चरणमा नेकपा(एमाले) को नवौं राष्ट्रिय महाधिवेशनबाट परित सिद्धान्त,नीति र विधानको खिल्ली उडाएको टिप्पणी गरेका छन् ।

सर्वोच्च अदालतको फैसलाको अवहेलना गरी गत फागुन २८ गते गुटको भेलाबाट स्वेच्छाचारी निर्णय गराएको ओलीमाथि नेता रावलको आरोप छ । उनले भनेका छन्,“तेस्रो चरणमा पार्टी विधान कुल्चदै कथित राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको हाकिमको कुर्चीमा बसेर चारजना नेताहरूलाई कथित स्पष्टीकरण पत्र पठाई पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र मलाई पार्टीबाट निलम्बन गरेको आदेश फर्माउनुभयो । यो पार्टी विधान र नवौं राष्ट्रिय महाधिवेशनको मार्ग निर्देशन विरुद्धको निरङ्कुश र स्वेच्छाचारी कुकृत्य हो ।”

आफूहरुलाई निलम्बन गर्ने निर्णय देशभक्तिपूर्ण आवाजबाट त्रसित बाह्रय शक्तिप्रतिको तावेदारी भएको नेता रावलको भनाई छ ।

उनले भनेका छन्,“ नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी भंग गरी गठन गरिएको अवैध राष्ट्रिय महाधिवेशनको अध्यक्ष स्वयं अवैधानिक भएकाले केपी शर्मा ओलीबाट गरिएको उक्त निर्णयको भत्र्सना गर्दै पूर्ण रुपमा अस्वीकार गर्दछु ।”



प्रतिक्रिया दिनुहोस !