ओली पार्टी विभाजनका पक्षमा भएको आरोप (भुसालको पत्रको पूर्ण पाठसहित)
काठमाडौं ।
नेकपा एमाले नेता घनश्याम भुसालले अध्यक्ष केपी शर्मा ओलीमाथि पदका लागि जे पनि गर्ने प्रवृत्तिका व्यक्ति भएको टिप्पणी गरेका छन् । उनले अध्यक्ष ओली पार्टी विभाजनका लागि उद्धत भएको समेत आरोप लगाएका छन् ।
‘सबै अपयशको भारी पार्टी र आन्दोलनलाई त बोकाउनु नै भयो, त्यतिले नपुगेर अझै के तृष्णा बाँकL रह्यो र पार्टी विभाजन गर्न खोज्दै हुनु हुन्छ,’ भुसालले पार्टी अध्यक्ष ओलीलाई लेखेको जवाफी पत्रमा प्रश्न गरिएको छ, ‘तपाईँ अहिले हिँडिरहेको बाटो रहस्यमय छ । कसको बलमा, कसका लागि यो सबै गर्दै हुनुहुन्छ ?’
‘नेतृत्वमा बसिरहनका लागि हाम्रा मुख्य नेताहरूले पार्टीको विधि भत्काउने र पार्टीलाई अस्तव्यस्त पार्ने काम गरेनन् । तर तपाईँले यो परम्परालाई भत्काउँदै हुनुहुन्छ । ‘आफले छोड्नु पर्छ भने कुर्ची नै भाँचिदिन्छु’ भन्ने तपाईँले नै भनेको वाक्य नै तपाईँको जीवन दर्शन भएको छ, ‘ भुसालको पत्रमा भनिएको छ ।
उनले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओली आफै गुट भेलामा संलग्न रहेको, पार्टी र आन्दोलनको विरुद्ध रहेको,असहिष्णु भएको आरोप लगाएका छन् ।
भुसालको जवाफ पूर्णपाठः
मिति २०७७/१२/१७
कमरेड केपी शर्मा ओली,
अध्यक्ष
केन्द्रीय कमिटी
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी)
धुम्वाराही, काठमाण्डौ ।
विषय : तपाईँले पठाउनु भएको पत्रबारे।
तपाईँले महासचिव ईश्वर पोख्रेलका नाममा लेख्न लगाउनु भएको नेपाल कम्युनिष्ट पार्टी (एमाले), केन्द्रीय कार्यालयको २०७७ साल चैत्र ८ गतेको मिति उल्लेख गरिएको मेरो नाममा लेखिएको एउटा पत्र प्राप्त भएको छ । पार्टी कार्यालयबाट पे्रषित औपचारिक पत्रको भाषा, त्यसको गूढार्थ र तपाईँले अपनाएको प्रक्रियाले तपाईँ के गर्न खोज्दै हुनुहुन्छ भन्ने स्पष्ट छ ।
नक्कली प्रक्रिया र प्रमाणका आधारमा कसैका विरुद्ध सुनियाजितरुपले लक्ष्यित तथाकथित न्यायिक प्रक्रियालाई कङ्गारु अदालत (kangaroo court) भनिन्छ । तपाईँले मागेको तथाकथित ‘स्पष्टिकरणसहित लिखित जवाफ’ ले तपाईँ त्यहि कङ्गारु अदालतको अभ्यास गर्दै हुनुहुन्छ भन्ने कुरा प्रथम दृष्टिमै प्रत्यक्ष छ, प्रमाणित छ ।
शत्रु देशको नागरिकलाई पठाईएको जस्तो तपाईँको पत्रको जवाफ लेखिरहनु आवश्यक थिएन अर्थात् तपाईँले पठाउनु भएको मिथ्या पत्रका बारेमा स्पष्टिकरण दिनु पर्ने त हुँदै होइन, कुनै पनि उत्तरसमेत लेख्न जरुरी छैन तर तपाईँले लगाउनु भएका आरोपहरु कति पूर्वाग्रही छन्र तपाईँका दावीहरु कति झूठा छन्भन्ने कुरा पार्टी पङ्तिलाई जानकारी गराउनु पर्ने भएकोले यो पत्र लेख्दै छु । साथै, अहिलेका समस्या केवल विधानको पालना गर्ने वा नगर्ने भन्ने मात्रै होइन तपाईँले पार्टीलाई वैचारिक तथा सैद्धान्तिकरुपमा नेतृत्व गर्न असफल हुँदै जाँदा आएका समस्या हुन् भन्ने मेरो मूल्याङ्कन पनि यहाँ उल्लेख गर्न चाहान्छु ।
तपाईँको गुट–भेला र पार्टीको वैधानिक व्यवस्था
अहिले नेकपा (एमाले) मा जे जति समस्या आएका छन्तिनीहरुलाई कुनै व्यक्ति वा गुटका इच्छा वा स्वार्थका आधारमा होइन पार्टीको विधानका आधारमा मात्रै समाधान गर्न सकिन्छ । यसरी हेर्दा सर्वोच्च अदालतले साविक नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को अस्तित्वलाई इन्कार गरेर हामी नेकपा (एमाले) का रुपमा पुनर्जिवित भएपछि एकिकरण पूर्वको बिन्दुमा उभिएर नेकपा (एमाले) को विधानअनुसार पार्टी जीवन सुचारु गर्नु पर्छ भन्ने कुरा स्वतः स्पष्ट भएको कुरा हो ।
त्यसका विपरित, सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलापछि नेकपा (एमाले) को विधिवत् बैठक बोलाउनुको साटो तपाईले केन्द्रीय कमिटीका अन्य सदस्यहरुलाई कुनै जानकारी नदिई गोप्यरुपमा गत फागनु २८ गते प्रधानमन्त्रीको सरकारी निवासमा आफ्ना गुटका मानिसहरुको भेला बोलाएर त्यसैलाई कथित केन्द्रीय कमिटीको बैठक भनेर पार्टीको विधान र प्रक्रिया विपरीत नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरुको जिम्मेवारी परिवर्तन गर्ने, नेकपा (एमाले) को सदस्य नरहेका २३ जनालाई केन्द्रीय कमिटीको सदस्य मनोनयन गर्ने, पार्टी विधानमा संशोधन गर्नेजस्ता निर्णय गरिएको वक्तव्य सार्वजनिक गरेर पार्टी विधानको ठाडो उल्लङ्घन गर्नु भएको छ ।
त्यहिँबाट पार्टीमा विभाजनको रेखा कोरिएको छ । यस पत्रमार्फत् मैले तपाईँका आरोपहरुको खण्डन गर्दै तपाईँको गुटका निर्णय पार्टीको निर्णय हुन नसक्ने कुरा स्पष्ट पार्न, नवौँ महाधिवेशनबाट तपाईँ अध्यक्ष भएछि पार्टी कसरी सङ्कटग्रस्त हुँदै गयो भन्ने कुरालाई पुनर्पुष्टि गर्न र तपाईँको गुटका निर्णयले पार्टीको वैधानिक व्यवस्थाको कसरी उल्लङ्घन गरेकोछ भन्ने कुरा स्पष्ट पार्न चाहान्छु ।
सर्वप्रथमतः केन्द्रिय कमिटीको बैठकको सूचना र बैठकको कार्यसूची केन्द्रिय कमिटीको बैठकभन्दा तीन दिन पहिले नै केन्द्रिय कमिटीका सदस्यहरुलाई दिनु पर्छ । तपाईँले त्यस्तो सूचना र कार्यसूची दिनु भएको छैन । संसदीय दलको बैठकमा बोल्दै तपाईँले २८ गतेको उक्त बैठकमा सबैलाई खबर पठाइएको दाबी गर्नु भयो । तपाईँलाई मेरो चुनौति छ, त्यो तपाईँको सत प्रतिशत झुठो दावी हो । तपाईँको आफ्नै गुटका सदस्यहरुलाई पठाइएको मेसेजमा समेत केन्द्रिय कमिटीको बैठक भनेर खबर गरिएको थिएन ।
त्यसमा लेखिएको थियो ः ‘कमरेड अभिवादन ! यहि फागुन २८ गते शुक्रवार विहान ठीक ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा उपस्थितिका लागि अनुरोध छ । ईश्वरी रिजाल, सचिव, नेकपा (एमाले) केन्द्रीय कार्यालय, धुम्बाराही’ । के तपाईँले यसको खण्डन गर्न सक्नु हुन्छ ? मरो चुनौतिपूर्ण प्रस्ताव छ, एउटा जाँचबुझ कार्यदल गठन गरौँ र नेपाल टेलिकमसँग तथ्यहरु मागौँ । उक्त प्रकारको मेसेज कुन कुन व्यक्तिलाई गएको छ वा त्यसबाहेक अरु के सूचना जारी भएको छ खोजी गरौँ, तपाईँले झुठ बोल्नु भएको कुरा प्रमाणित भैहाल्छ ।
तपाईँले यस्ता झुटा कुरा पटक–पटक गर्दै आएनु भएको छ । उदाहरणका रुपमा ः राष्ट्रपति कहाँ पठाइएको समावेदन फिर्ता गर्दा अध्यादेश फिर्ता गर्छु भनेर सहमति गर्नु भयो, तर समावेदन फिर्ता भयो तपाईँ आफैले फिर्ता गर्छु भनेको अध्यादेश फिर्ता लिनु भएन । तपाईँले प्रचण्ड–माधव नेपालहरुले राष्ट्रपतिमाथि महाअभियोग लगाउँदैछन्भनेर मन्त्रीपरिषद्बैठकमा गलत सूचना प्रवाह गर्नु भयो मैले नै त्यसको असत्यता प्रमाणित गरिदिएको थिएँ । पुष ५ गतेको मन्त्रीपरिषद बैठकमा प्रतिनिधिसभा विघटनको प्रस्ताव निर्णय गरेर राखौँ जारी नगरौँला भन्नु भयो तर तीन घण्टा नवित्दै राष्ट्रपतिबाट घोषणा गराउनु भयो, आदि । त्यसै गरी अहिले फागुन २८ गतेको गुटको बैठकलाई पार्टी केन्द्रिय कमिटीको बैठक भन्नु भएको छ ।
तपाईँको समूहले गरेको भनिएका निर्णयले पार्टी विधानको निम्न प्रावधानको उल्लङ्घन गर्छ ः
∙ धारा १३ ‘(क) राष्ट्रिय महाधिवेशन पार्टीको सर्वोच्च संस्था हुनेछ र यसको आयोजना केन्द्रीय कमिटीद्वारा हरेक पाँच बर्षमा हुनेछ’ ।
∙ धारा १३ (क) विधान महाधिवेशनको व्यवस्था तथा उक्त धाराको (ख) मा उल्लेखित ‘केन्द्रीय कमिटीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव र विधान संशोधन प्रस्ताव उपर छलफल गरी पारित गर्ने’ ।
∙ धारा १४ मा भएको केन्द्रीय कमिटीको गठनसम्बन्धी –
∙ ‘(क) केन्द्रीय कमिटी दुई महाधिवेशन बीचको अवधिमा पार्टीको सर्वोच्च कार्यकारी संस्था हुनेछ । केन्द्रीय कमिटी राष्ट्रिय महाधिवेशन, विधान महाधिवेशन तथा राष्ट्रिय प्रतिनिधि परिषद्प्रति उत्तरदायी रहनेछ । राष्ट्रिय महाधिवेशनबाट नयाँ केन्द्रीय कमिटी निर्वाचित भएपछि पुरानो केन्द्रीय कमिटी स्वतः विघटित हुनेछ ।’
(ख) १. केन्द्रीय कमिटीमा राष्ट्रिय महाधिवेशनबाट निर्वाचित अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव २, सचिव ५ गरी जम्मा १४ जना पदाधिकारी ।
(ख) २. १४ पदाधिकारी र वरिष्ठ नेता १ सहित ११५ पूर्ण र ४४ वैकल्पिक गरी जम्मा १५९ सदस्य । (ख)ं ‘३. राष्ट्रिय महाधिवेशनबाट निर्वाचित कूल सदस्य संख्याको १० प्रतिशतभन्दा बढी नहुनेगरी केन्द्रीय कमिटीबाट मनोनित सदस्यहरु’।
∙ धारा ४३ मा भएको संविधानसभा/संसदीय दलसम्बन्धी (क) को ‘२. संविधान सभा/संसदीय दलले आफ्नो विधान र नियमावली निर्माण गरी केन्द्रीय कमिटीबाट अनुमोदन गराउने छ र सो अनुरुप कार्य गर्नेछ’ ।
‘(ख) १.संविधान सभा/संसदीय दलले आफ्नो विधान तथा नियमावली अनुरुप लोकतान्त्रिक विधिको आधारमा दलको नेता र उपनेताको निर्वाचन गर्नेछ’ ।
∙ धारा ५८ को विधान संशोधन प्रस्तावसम्बन्धी व्यवस्थाको
‘१. केन्द्रीय कमिटीले विधान संशोधनसम्बन्धी लिखित प्रस्ताव विधान महाधिवेशन समक्ष प्रस्तुत गर्नेछ ।
२. केन्द्रीय कमिटीले धारा ५८ को उपधारा (१) बमोजिमको लिखित प्रस्ताव विधान महाधिवेशन शुरु हुनुभन्दा एक महिना अगावै स्थानीय कमिटी तथा पार्टी सदस्य समक्ष पुर्याईसक्नु पर्नेछ ।
३. विधानमा संशोधन पेश गर्न चाहने स्थानीय पार्टी कमिटी र सदस्यले आफ्नो लिखित प्रस्ताव तोकिए बमोजिम केन्द्रीय कमिटी समक्ष प्रस्तुत गर्नुपर्नेछ । यस्तो प्रस्तावका सम्बन्धमा केन्द्रीय कमिटीले आवश्यक निर्णय गर्नेछ ।’
पार्टी विधानको उपरोक्त व्यवस्थाले तपाईँले गरेको भनिएको बैठक, त्यस बैठकले गरेको भनिएका विधान संशोधन गर्ने, त्यसका आधारमा पार्टीको पार्टीको केन्द्रिय निकायमा भर्ति गर्ने, पदाधिकारीहरु परिवर्तन गर्ने, राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बनाउनेलगायत सबै निर्णयहरु अवैध, अनधिकृत र नक्कली ठहर हुन्छ ।
यसरी तपाईँले मलाई ‘दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटी’ को सदस्य भनेर उल्लेख गर्नु भएको मेरो हैसियत, त्यस अर्थमा ‘दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटी’ को अध्यक्षका रुपमा तपाईँको हैसियत, त्यस अर्थमा त्यस कमिटीले गरेको भनिएका निर्णयहरु सबै अवैधानिक छन्, नक्कली छन् । म नवौँ महाधिवेशनबाट निर्वाचित उपमहासचिवको हैसियतले तपाईँलाई त्यसै महाधिवेशनले निर्वाचित गरेको अध्यक्षबाहेक अन्य हैसियतमा स्वीकार गर्दिन ।
सर्थ त्यस्तो अन्य हैसियतमा तपाईँले लेख्नु भएको पत्रको स्पष्टिकरण दिनु आवश्यक छैन । बरु तपाईँ आफै पार्टीको वैधानिक अध्यक्षको हैसियत भएको व्यक्तिले नक्कली हैसियत किन खोज्नु भएको हो ? पार्टीको अध्यक्षजस्तो जिम्मेवारीमा रहेको व्यक्तिले पार्टीको वैधानिक व्यवस्थालाई भत्काउने र पार्टीलाई अराजकतातर्फ धकेल्ने काममा किन लाग्नु भएको हो ? जस्ता प्रश्नको उत्तर तपाईँले नै स्पष्ट पार्नु पर्ने देखिन्छ ।
तपाईँका आरोप बनावटी छन्
ममाथि लगाइएका चार वटामध्ये पहिलो आरोप तात्कालिन पार्टीका कार्यकारी अध्यक्ष ‘पार्टी अध्यक्ष केपी शर्मा ओलीका विरुद्धमा १९ पृष्ठ लामो अराजनीतिक, तथ्यहीन र शत्रुतापूर्ण आरोप तयार गर्न….पुष्पकमल दाहालको मतियार समेत भई पार्टी हित विपरित कार्य गरेको’ भन्ने छ । प्रथमतः तपाईँले आरोपित गरेको घटनामा मेरो कुनै संलग्लता छैन ।
दोश्रो, त्यसमा मेरो कुनै संलग्नता छैन भन्ने कुरा तपाईँ र तपाईँको गुटका धेरै कमरेडहरुलाई राम्ररी थाहा छ । अहिले मेरा विरुद्ध प्रचारको सामग्री बनाउन जानाजान यो कथा बुनिएको छ, त्यसैले त्यो मेरा विरुद्धको निर्वस्त्र षडयन्त्र हो । तेश्रो, तपाईँले पार्टी स्थायी कमिटीको बैठकलाई अपमान गरेपछि, तपाईँसमेत स्थायी कमिटीले गरेको सर्वसम्मत निर्णयलाई उल्लङ्घन गरेपछि, सचिवालयको बैठक डाक्नसमेत नमानेपछि सचिवालयका कमरेडहरुले त्यो प्रस्ताव ल्याउनु भएको थियो । त्यसलाई पार्टीको बैठकमा छलफल गरौँ भन्ने मेरो माग थियो ।
बरु तपाईँ (हरु) लाई त्यो प्रस्ताव ‘अराजनीतिक, तथ्यहीन र शत्रुतापूर्ण’ नै लागेको थियो भने औपचारिक बैठकमा छलफल गर्नसमेत किन इन्कार गरिएको हो भन्ने रहस्य अझै खुलेको छैन । अझ रहस्यमय त केछ भने भदौ २६ गतेको स्थायी कमिटी बैठकले पाँच वर्षसम्म तपाईँ नै प्रधानमन्त्री रहने, महाधिवेशनसम्म तपाईँ नै अध्यक्ष रहने, तपाईँले गर्ने ठूला निर्णयहरुमा सचिवालयको सहमति लिने भनेर गरेको निर्णयसमेत इन्कार गरेर तपाईँले प्रतिनिधिसभा विघटन गर्नु भयो । आफ्ना रहस्यपूर्ण कृत्यहरु ढाक्न तपाईँले अरुमाथि जथाभावी आरोहरु लगाउन थाल्नु भयो । त्यहि मेसोमा तपाईँले मलाईसमेत आरोपित गर्नु भएको हो भन्ने मेरो दावी छ ।
दोश्रो, मेरा विरुद्ध कङ्गारु अदालतका न्यायाधिशको प्रश्न ‘पार्टी अध्यक्ष र महासचिवद्वारा मिति २०७७ चैत्र ३ गते गरिएको मौखिक तथा लिखित निर्देशनको अवज्ञा गरी पार्टीको नाम, चिन्ह र झण्डाको दुरुपयोग गरी मिति २०७७ चैत्र ४ र ५ गते कथित राष्ट्रिय भेला गर्न अग्रसरता लिएको….समानान्तर सङ्गठन निर्माण गर्दै पार्टी फुटाउने काममा अगुवाई किन’ गरेको भन्ने छ ।
सर्वप्रथमतः उक्त राष्ट्रिय भेला गर्न मैले अग्रसरता लिएको कुरा त्यसमा मेरो संलग्ताले नै स्पष्ट पार्छ । पार्टीको झण्डा झुक्न नदिन देशभरीबाट आएका करिब साढे चार हजार कमरेडहरुलाई यसै पत्रमार्फत् फेरि धन्यवाद भन्न चाहान्छु । दोश्रो, त्यति महत्वपूर्ण भेलामा जति योगदान गर्नु पर्ने थियो त्यति गर्न नसकेको कुरा सविनय उल्लेख गर्न चाहान्छु । तेश्रो, सर्वोच्च अदालतको चैत्र २३, २०७७ को निर्णयले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एकिकृत भई बनेको साविक नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को राजनीतिक एकिकरणको प्रक्रियालाई उल्ट्याएर ती दुवै पार्टीलाई एकिकृत हुनुभन्दा अगाडिको अवस्थामा पुर्याएपछि वस्तुगत तथा तार्किक हिसाबले पनि नेकपा (एमाले) २०७५ जेष्ठ २ गतेको अवस्थामा पुग्यो । अर्थात्, नेकपा (एमाले) २०७५ जेष्ठ २ गतेको मितिमा पुनर्जिवित भयो ।
त्यसको अर्थ त्यस दिनसम्म निर्वाचन आयोगमा अद्यावधिक हाम्रो पार्टीको सम्पूर्ण संरचनाबाट पार्टी जीवन अगाडि बढाउने भन्ने नै हो । तर यस तथ्यलाई अस्वीकार गर्दै गत फागुन २८ गते तपाईँ प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको समूहले बालुवाटारमा आयोजित एउटा भेलालाई पार्टी केन्द्रिय कमिटीको बैठक भनेर गरिएका तथाकथित निर्णयहरु पार्टीको लोगो भएको लेटर हेडमा प्रकाशित भएपछि तपाईँहरु योजनाबद्धरुपमा नेकपा (एमाले) लाई विभाजित गर्न लागेको प्रमाणित हुन्छ ।
त्यस अवस्थामा पार्टीको वैधानिक व्यवस्थाको पक्षमा उभिनु हरेक पार्टी सदस्यको दायित्वभित्रै पर्ने हुँदा चैत्र ४ र ५ गते राष्ट्रिय भेला गरिएको हो । चौथो, पार्टी केन्द्रिय कार्यालयमा चैत्र १ गते भएको छलफलमा तपाईँहरुसँग फागुन २८ गतेको तपाईँहरुको गुटको भेला फिर्ता लिनुस् हामीले राष्ट्रिय भेला गर्दैनौँ भन्ने हाम्रो प्रस्तावलाई तपाईँहरुले इन्कार गरेपछि हाम्रो भेला स्वतः वैधानिक हो भन्ने मेरो दावी छ ।
पाचौँ, उक्त भेलाको मूल नारा ‘नेकपा एमालेको एकता बचाऔँ, कम्यनिष्ट आन्दोलनको रक्षा गरौँ’ थियो भन्ने कुरा दुनियाँलाई जानकारी छ । साथै, त्यस भेलाले देशभरीका नेकपा एमालेका सङ्गठनहरुलाई २०७५ जेष्ठ २ गतेकै अवस्थामा ब्युँझाउने निर्णय गरेको छ र उक्त निर्णय अदालतको फैसलाको कार्यान्वयन गर्नका लागि गरिएको हो ।
यसरी, २८ फागुनको भेला अवैधानिकरुपमा पार्टी कब्जा गर्ने उद्देश्यले एउटा गुटले गरेका भेला हो, समानान्तर गतिविधि हो, जबकि चैत्र ४ र ५ गतेको भेला पार्टीको आधिकारीक भेला हो भन्ने कुरा स्वतः प्रमाणित छ ।
ममाथि लगाइएको तेश्रो आरोप ‘…नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रिय कमिटीका दशौँ, एघारौँ र बाह्रौँ बैठक र संसदीय दलका बैठकहरुमा समेत उपस्थित’ नभएको भन्ने छ ।
प्रथमतः, तपाईँको गुटले गरेका कुनै पनि भेला गुटकै भेला हुन्छ । गुटका भेलाको सङ्ख्या बढाएपछि अर्थात्कुनै गुटले बैठकहरु गरिरहेपछि कुनै दिन त्यो गुट आफै पार्टी बन्छ वा गुटको बैठक पार्टीको बैठक हुन्छ भन्ने तपाईँहरुको दावीलाई आधुनिक विधिशास्त्रले मान्दैन । त्यसले त गुटको सक्रियतालाई मात्रै बताउँछ । किनकि पार्टी र गुटको वैधता फरक– फरक हुन्छन् । गुटले स्वार्थ समूहका हितलाई बताउँछ, निहित स्वार्थको भागबण्डाका गतिविधिलाई बताउँछ भने पार्टीले सार्वजनिक अधिकार र कर्तव्यबारे निश्चित विचारका आधारमा विधिवत् गठित/सञ्चालित समूहलाई बताउँछ । तपाईँको समूह पार्टीको परिभाषाभित्र नपर्ने हुँदा त्यो केवल गुट हो भन्ने स्पष्ट छ ।
दोश्रो, संसदीय दल वैधानिक दल हो । संविधान कुल्चेर गरिएको विघटनपछि सर्वोच्च अदालतले ब्युँताएको वैधानिक संस्था हो । त्यसमा उपस्थित नहुने प्रश्नै उठ्दैन । संसदीय दलको पहिलो पहिलो बैठकमा हामी राष्ट्रिय भेलामा व्यस्त भएका कारणले र दोश्रो बैठकमा संसदीय दलको कार्यालयमा बैठक गरियोस् भन्ने मागलाई प्रदर्शित गर्न मात्रै अनुपस्थित हुनु परेको तथ्य सबैलाई जानकारी छँदैछ ।
तेश्रो, संसदीय दलको विधान पार्टी केन्द्रिय कमिटीले अनुमोदन गरेपछि लागु हुन्छ भन्ने पार्टी विधानको व्यवस्था छ । तर तपाईले २८ गते गरेको गुट भेलाका जगमा आयोजना गर्नु भएको चैत्र ७ गते अर्को भेलाको निर्णयअनुसार संसदीय दलको विधान पारित गरिएको भनेर प्रचार गर्नु भएको हुँदा अब तपाईँ आफैले संसदीय दललाई समेत विभाजन गर्न थाल्नु भएको देखिन्छ ।
तपाईँले पठाउनु भएको पत्रको चौथो बुँदामा मेरा विरुद्ध लक्ष्यित निन्दात्मक भाषा र अर्थले स्वयं तपाईँहरुको व्यक्तित्व, अध्ययन, विवेक र संस्कारलाई देखाउँछ । त्यसका केहि उदाहरण यस्ता छन्ः ‘पार्टी प्रतिको निष्ठा र विश्वासबाट च्युत भएको’, ‘पार्टीद्वारा सञ्चालित आन्दोलनको विपक्षमा रहेको वा विपक्षीसँग साँठगाँठ गरे÷गराएको’, ‘अवाञ्छित क्रियाकलापहरुमा पार्टीका जिम्मेवार व्यक्तिहरुलाई सम्मिलित गराएको/ उक्साएको’, ‘अवाञ्छित तत्वसँग साँठगाँठ गरी राष्ट्रहित विपरित काम गरे/गराएको’ आदि ।
यस्ता आरोपहरु या त कुनै अपराध कर्मको असफलताको पीडाले छटपटाई रहेको आवेगमा लगाइएको हुनु पर्छ या हरेक मानवीय मूल्यसमेत किनबेचको माल बनाउन सक्ने दलाल पुँजीवादको असली सन्तानले मेरा विरुद्ध ती आरोपहरु लगाएर अरु कसैलाई खुसी पार्न गरेको कसरत हुनु पर्छ । मेरो कामना के छ भने त्यो दुवै नहोस्, केवल तात्कालिक असावधानीपूर्ण आवेगवश हुन गएको त्रुटी होस्। तर आरोपका रुपमा तपाईँले पेश गरेपछि तिनको पुष्टि तपाईँले नै गर्नु पर्छ ।
यसप्रकार, तपाईँका आरोपहरु किर्ते, बनावटी र दुराशयपूर्ण छन्।
तपाईँ पार्टी र आन्दोलनको विरुद्ध हुनुहुन्छ
केहि वर्ष आगाडिसम्म लोकतान्त्रिक अभ्यास, साङ्गठानिक व्यवस्थापन र राष्ट्रिय राजनीतिमा प्रभावका मानदण्डमा हेर्दा दक्षिण एशियाकै अघिल्लो पङ्तिमा रहेको हाम्रो पार्टी आज असाधारण सङ्कटको भुमरीमा फस्दै गएको छ । यो हामी नेकपा एमालेहरुको मात्रै होइन, नेपाल र दक्षिण एशियाकै राजनीति र संसारभरिका कम्युनिष्टहरुका लागि ठूलो क्षति हो । वस्तुतः लोकतान्त्रिक दायरा साँघुरिँदै र सम्प्रदायका नारा र मूल्यहरुको प्रभाव विस्तार हुँदै गएको यस क्षेत्रमा हाम्रोजस्ता पार्टीहरु कमजोर हुँदा त्यसको चर्को मूल्य यस क्षेत्रको शान्ति, भाईचारा र स्थीरताले तिर्नु पर्छ । सङ्क्षेपमा, हाम्रो राजनीतिका राष्ट्रिय, क्षेत्रीय र एक हदसम्म अन्तरराष्ट्रिय आयामसमेत छन् ।
यसरी हेर्दा हामीले आफ्नैलागि निश्चित दायित्वहरु सिर्जना गरेका छौँ जुन दायित्वहरु हामीले भरपर्दो पार्टीको निर्माणद्वारा पूरा गर्न सक्छौँ । आज हाम्रो पार्टीमा समस्या छन्भन्ने कुरा हामी सबैले स्वीकार गर्छौँ । तपाईँका नजरमा त्यसको कारण मसमेत तपाईँसँग नभएकाहरुले गरेको गुटबन्दी होभने हाम्रा नजरमा त्यसको कारण तपाईँ नै हो । जे होस्समस्या छन्भन्ने कुरा हामी सबैले स्वीकार गर्छौँ । त्यसो भए यसको समाधान कसरी गर्न सकिन्छ भन्ने विषयमा पार्टीमा आवश्यक गम्भिरताका साथ छलफल गर्नु पर्थ्यो ।
मैले त्यसै गम्भिरताका साथ यस विषयमा छलफल गर्न पार्टी स्थायी/केन्द्रिय कमिटीका बैठक र तपाईँसँग भएका अनौपचारिक भेटघाटमा कैयौँ पटका लिखित र मौखिकरुपमा उठाउँदै आएको हुँ । दुर्भाग्यवश तपाईँको ध्यान तान्न सकिएन जसप्रति मलाई खेद छ ।
एउटा कम्युनिष्ट पार्टीका लागि राजनीतिक कार्यदिशाले सबै कुराको फैसला गर्छ भन्ने निष्कर्षको महत्वबारे चर्चा गरिरहनु पर्दैन । आज हाम्रो पार्टीका लागि यहि नै सबैभन्दा जरुरी महत्वको विषय हो । नेपालको कम्युनिष्ट पार्टीले हाम्रो नवौँ महाधिवेशनबाट एउटा नयाँ कार्यदिशा लिएको हो ।
हामी सबैलाई के थाहा छ भने २००६ सालमा कम्युनिष्ट पार्टी स्थापना गर्दा कमरेड पुष्पलालको नेतृत्वमा पार्टीले निश्चित गरेको आम कार्यदिशाका आधारमा सबैजसो कम्युनिष्ट पार्टीहरुले आफ्ना कार्यभारहरुको व्याख्या गर्दै आए । अर्धसामन्ती तथा अर्धऔपनिवेशिक सामाजिक व्यवस्था भएको हुँदा मजदुर–किसान एकताको आधारमा सर्वहारावर्गको नेतृत्वमा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने सैद्धान्तिक कार्यदिशा अन्तरगत रणनीति–कार्यनीतिको व्याख्या गरे । त्यस हिसाबले हेर्दा यो सम्पूर्ण अवधि एउटा कार्यदिशाको काल थियो । हामीले नवौँ महाधिवेशनबाट अर्को नयाँ कार्यदिशा निश्चित गर्यौँ ।
त्यसअनुसार नेपाल सामाजिक–आर्थिक व्यवस्थाका हिसाबले पुँजीवादमा रुपान्तरित भैसकेको छ र जनवादी क्रान्ति सम्पन्न भैसकेको छ । पुँजीवादी जनवादी क्रान्ति सम्पन्न भैसकेको हुँदा हामीले लिनु पर्ने बाटो समाजवादको बाटो हो । तर उत्पादक शक्तिको यथेष्ट विकास नभैकन समाजवादको निर्माण हुँदैन । राष्ट्रिय पुँजीको विकासमा दलाल पुँजीले अवरोध बनेको छ । यसप्रकार, दलाल पुँजीलाई साँधुर्याउँदै, नियन्त्रण गर्दै त्यसको ठाउँमा राष्ट्रिय पुँजीको विकास गर्दै र समाजवादी ध्येयका साथ पुँजीको न्यायोचित वितरणको व्यवस्था गदै समाजवादको आधार तयार गर्नु आजको क्रान्तिको कार्यभार हो, कार्यदिशा हो । यो कार्यदिशा आजको समाजवादी कार्यदिशा हो किनकि त्यसो गरेर हामीले समाजवादको तयारी गर्छौँ, तर यो आफैमा समाजवाद होइन किनकि आजको हाम्रो कामले समाजवादको आधारमात्रै निर्माण गर्छ ।
उपरोक्त निष्कर्षले हामीसँग दलाल पुँजीवादलाई साँघुर्याउने, नियन्त्रण गर्ने र समाजवादी ध्येयका साथ राष्ट्रिय पुँजीको विकास गर्ने ठोस कार्यक्रमको माग गर्छ । त्यस्तो कार्यक्रम आजको संघीय, प्रादेशिक र स्थानीय सरकारहरुमार्फत् लागू गर्ने गरी बनाइन्छ । जुन तहको पार्टी कमिटी छ त्यसले त्यहि तहमा उक्त कार्यक्रम लागू गर्छ ।
सम्बन्धित तहको सरकारमा जाँदा त्यसै तहको पार्टीले पठाएका प्रतिनिधिमार्फत् उक्त कार्यक्रम लागू गर्छ भने विपक्षमा रहँदा जनदबावका विभिन्न क्रियाकलापद्वारा सरकारलाई उक्त कार्यक्रम लागू गर्न दबाब दिन्छ । यसरी संघीय, प्रादेशिक र स्थानीय सरकारहरु सञ्चालन गर्ने वा तिनलाई दबाव दिन सक्ने गरी सम्पूर्ण पार्टी पङ्तििलाई एकताबद्ध पार्न एउटा स्पष्ट सङ्गठनात्मक व्यवस्था अनिवार्य हुन्छ । अर्थात्, दलाल पुँजीवादलाई साँघुर्याउँदै, नियन्त्रण गदै समाजवादी ध्येयका साथ राष्ट्रिय पुँजीको विकास गर्ने कार्यक्रम बोक्न सक्ने सङ्गठन आवश्यक पर्छ अर्थात्आजको क्रान्तिको कार्यदिशा तथा कार्यभार र कार्यक्रम बुझ्ने र लागूगर्ने सदस्यहरुको सङ्गठन नैक्रान्तिकारी पार्टी सङ्गठन हुन्छ ।
नवौँ महाधिवेशनको उक्त निर्णय लागू गरिएको भए हाम्रो पार्टीको हरेक सदस्य र हरेक कमिटीको मूल्याङ्कन दलाल पुँजीवादलाई साँघुर्याउने, नियन्त्रण गर्ने र समाजवादी ध्येयका साथ राष्ट्रिय पुँजीको विकास गर्ने क्षमताका आधारमा हुने थियो । त्यहि मूल्याङ्कनका आधारमा पार्टी कमिटीका सबै तहका पदाधिकारी र वार्ड सदस्य, अध्यक्ष, गाउँ/नगर पालिकाका प्रमुख÷उपप्रमुख, प्रदेश सभाका सदस्य वा सरकारका मन्त्री, संघीय सांसद वा मन्त्री वा प्रधानमन्त्री, राजदूत, संवैधानिक निकायमा मनोनित हुने पदाधिकारीहरु, राजनीतिक नियुक्तिमा पठाइने व्यक्तिहरुसमेतको चयन गरिन्थ्यो । हरेक सदस्यको मूल्याङ्कन निश्चित विधि अन्तर्गत हुन्थ्यो । यहि थियो नवौँ महाधिवेशनको कार्यक्रमिक र सङ्गठनात्मक दिशा ।
उपरोक्त सैद्धान्तिक, कार्यक्रमिक र साङ्ठानिक सङ्गतिका साथ संघीय, प्रादेशिक र स्थानीय तहमा आजको हाम्रो सम्पूर्ण पार्टी पङ्ति परिचालित भएको भए गएका तीन वर्षमा मुलुकमा असाधारण परिवर्तन हुने थिए । खासगरी कृषि, उद्योग, शिक्षा, स्वास्थ्य र सुशासनका क्षेत्रमा मुलुकले नयाँ र ठूला उपलब्धी पाउन सक्थ्यो । पार्टीले दीर्घकालीन, मध्यकालीन र तात्कालिक योजनाका साथ मुलुकलाई एउटा नयाँ आशा, विश्वास र सङ्कल्पका साथ आम जनताको नेतृत्व गरिरहेको हुन्थ्यो। त्यस्तो पार्टी पूर्ण लोकतान्त्रिक विधिद्वारा सङ्गठित र परिचालित हुन्थ्यो र समाजमा लोकतान्त्रिक मूल्य र प्रक्रियालाई विस्तार गर्दै जान्थ्यो, संसदीय लोकतन्त्रका औपचारिक प्रक्रिया र त्यसका विकृतिलाई नियन्त्रण गर्दै वास्तविक तथा प्रत्यक्ष लोकतन्त्रलाई सम्भव बनाउँदै लैजान्थ्यो । त्यस्तो पार्टीले मुलुकका सबै वर्ग, जात–जाति, क्षेत्र, भाषाका जनताको एकतालाई सुदृढ बनाउँथ्यो र राष्ट्रिय एकतालाई बलियो बनाउँथ्यो । र, त्यस्तो पार्टीले गरिबी, अशिक्षा, विभेद, बेरोजगारीको उन्मुलन गर्दै मुलुकलाई समृद्धि र समाजवादतर्फ डोर्याउँदै अगाडि बढाउँथ्यो ।
तपाईँ अध्यक्ष भएपछि पार्टीको विचार, सिद्धान्त, राजनीति तथा सङ्गठनात्मक सिद्धान्तको मूल्य हराउँदै गयो । तपाईँले पार्टी निर्णयलाई स्वीकार गरेर अगाडि बढेको भए हरेक सदस्यको मूल्याङ्कन गुटले गर्ने हुँदा पार्टीभन्दा गुट शक्तिशाली हुनेआजकोअवस्था आउँदैनथ्यो । हरेकजसो सदस्य गुटका पछाडि दौडिरहनु पर्ने र कुन गुट शक्तिशाली छ भनेर हिसाब गरिरहनु पर्ने हुँदैनथ्यो ।
गुटलाई बलियो बनाउन शक्तिशाली गुटका नेताद्वारा गरिने सदस्यहरुको ‘खरिद–बिक्री’ जस्ता घृणित गतिविधिहरु हुँदैनथे । गुटबन्दीकै कारणले भ्रष्टाचारमा डामिएकाहरु पुरस्कृत हुने र गुटको सेवा नगरे वापत दशकौँ पार्टी निर्माणमा लागेकाहरु अपमानित भएर बाँच्नु पर्ने हुँदैनथ्यो । दलाल पुँजीवादका व्यवस्थापकहरु कम्युनिष्ट पार्टी र राज्यका ठूला ओहोदामा पुग्ने र श्रमजीवी वर्गको नाममा गठित यस पार्टीमा न्याय, सुशासन, समाजवाद, श्रमजीवी वर्गको बदनामी हुने अवस्था आउँदैनथ्यो । व्यक्तिपूजा, शक्तिपूजा, गुटभक्ति नै पार्टी जीवनको संस्कृति बन्दैनथ्यो ।
वस्तुतः अहिले पार्टीमा ‘म’ र ‘मेरो पद’ नै विचारधारा बन्दै गएको छ, पद र सम्पत्ति आर्जन गर्न जे गर्नु पर्छ त्यहि सिद्धान्तका रुपमा स्थापित हुँदैछ, जस्तो सुकै अयोग्य भए पनि आफ्नो गुटको सदस्यको संरक्षण र आफ्नो गुटमा नलाग्नेका विरुद्ध साम–दान–दण्ड–भेदको प्रयोग नै राजनीति हुँदै गएको छ र गुटको व्यवस्थापन सङ्गठनात्मक सिद्धान्तका रुपमा स्थापित हुँदैछ । नवौँ महाधिवेशनको निर्णयअनुसार योग्य नेता पाएको भए यो पार्टीमा आज भैरहेको भाँडभैलो हुँदैनथ्यो । अझै पनि हामीले नसोच्ने हो भने एउटा कुनै पनि झोँक्काले यो पार्टी भताभुङ्ग हुन सक्छ ।
अझै पनि तपाईँसँग मेरो अनुरोध छ, हाम्रोजस्तो मुलुकको एउटा नागरिकले पाउन सक्ने सबै कुरा यहि आन्दोलनबाट पाएको व्यक्तिका नाताले यसप्रति किञ्चित पनि कृतज्ञता छ भने यसलाई जोगाउन योगदान गर्नु होस्, सक्नु हुन्न भने पनि यसलाई भताभुङ् पार्ने काममा नलाग्नु होस् । पार्टीलाई नवौँ महाधिवेशनका निर्णयका आधारमा पुनर्गठित गर्न तयार हुनु होस्। पार्टी र आन्दोलनका विरुद्ध नजानु होस्।
तपाईँ असहिष्णु हुनुहुन्छ
तपाईँसँग असहमत दोश्रो पुस्तालाई त तपाईँले किनारा लगाईनै सक्नु भएको छ र कोही बाँकि भए तिनलाई पनि तपाईँले क्रोध र बदलाका साथ गुटबन्दीको सहारामा किनारा लगाउनु नै हुन्छ । तपाईँसँग अहिले दोश्रो पुस्ताको जुन समूह छ त्यसमध्ये केहि धेरै अगाडिदेखि नै छलछाम र तिकडममा लागेर राज्य दोहनमा पारङ्गत भैसकेका छन् । उनीहरु जे गर्छन् राजनीतिको व्यापार गर्छन् । त्यसबाहेक केहि कमरेडहरु लामो समय मूलतः राजनीतिक आदर्शले प्रेरित भएर सङ्घर्ष गरेर आएका हुन्।
तिनले स्वतन्त्रतापूर्वक विकास गर्न पाएको भए अहिले नेपाली राजनीतिमा एउटा बलियो नयाँ पुस्ता आउँथ्यो र त्यसका पछाडि अझ अर्को पुस्ता तयार भैसक्ने थियो । तर तपाईँका असहिष्णु छायाँमुनी टाक्सिँदै गएर उनीहरु केवल तपाईँका आदेश पालक जमातमा परिणत हुँदै गएका छन्। उनीहरुकोसिर्जना, स्वत्व, प्रतिबद्धता सबै गुम्दै गैरहेको छ । उनीहरु जुन कुरा देख्छन्त्यो बोल्न सक्दैनन जुन कुरा बोल्छन् । त्यो झुठो हो भन्ने उनीहरुलाई थाहा छ ।
यसरी उनीहरुको व्यक्तित्व पनि विभाजित व्यक्तित्व बन्दैछ । सोच्ने एक थोक, बोल्ने अर्को थोक र गर्ने अझै अर्को थोक हुन जाँदा व्यक्तित्व विघटित हुन्छ र नक्कली व्यक्तित्व बन्छ । यसरी सत्ताले नक्कली व्यक्तित्वहरुको झुण्ड तयार गर्छ । तपाईँको सत्ताले पार्टीमा यस्ता नयाँ मानिसहरु जन्माउँदै छ जसको योग्यता आदेश तामेल गर्ने मात्रै हो । यो पार्टी लाखौँ सदस्यको नाम, इज्जत, पहिचान, स्वत्वको मूल्यमा केवल तपाईँको नाम भएको, तपाईँको मात्रै पहिचान र इज्जत भएको, तपाईँ मात्र स्वतन्त्रता रहेको ‘एकमना’ पार्टीमा बदलिँदै छ । यसरी हाम्रो आन्दोलन आफैले आर्जेको साँस्कृतिक विरासतसमेत एकैपटक गर्ल्याम गुर्लुम ढल्न सक्ने खतरातर्फ जाँदैछ ।
सत प्रतिशतजस्तै यकिनका साथ के भन्न सकिन्छ भने व्यक्तिगतरुपमा तपाईँसँग कसैले कुनै सहमति वा सम्झौता गरेको थियो भने उसबाट पाउनु पर्ने पाएपछि तपाईँले उसकै विरुद्ध षडयन्त्र गर्न थाल्नु भयो । उदाहरणका लागि अरु धेरैको नाम लिनै पर्दैन, कमरेड वामदेव गौतम नै पर्याप्त हुनुहुन्छ । आठौँ महाधिवेशनमा तपाईँ पराजित भएपछि वरिष्ठ नेता बन्न तपाईँले के के गर्नु भयो त्यसको एउटा साक्षी म आफै छु । मैले हेर्दा तपाईँको एउटा खतरनाक ग्रन्थी के छ भने तपाईँले जसबाट फाइदा लिनु हुन्छ अन्त्यमा उसैलाई ठुँग्नु हुन्छ ।
मलाई राम्ररी थाहा छ तपाईँ मसँग किन रुष्ट हुनुहुन्छ । तपाईँले जनताको बहुदलीय जनवादको उत्तराधिकारीजस्तै भएर जेजे गदै हुनुहुन्थ्यो हामीले तपाईको बुझाईको सतहिपनको केवल आलोचना गरेनौँ बरु जबजलाई चुनावदेखि चुनावसम्मको गोलचक्करमा झार्ने वा सत्तामा जाने भर्याङ्मात्रै बनाउने तपाईँहरुको व्याख्याको खण्डन गर्दै मार्क्सवादको आधारमा त्यसलाई कसरी राजनीतिक सिद्धान्त बनाउन सकिन्छ भनेर ब्याख्या गर्यौँ । साथै, तपाईँको विरोध हुँदा हुँदै नवौँ महाधिवेशनले जनवादी क्रान्ति पूरा भएको र राष्ट्रिय पुँजीको विकास गर्दै समाजवादको तयारी गर्ने नयाँ कार्यदिशा समात्यो । विचार/सिद्धान्त निर्माणको त्यस प्रक्रियामा मैले त्यसमा अगुवाई गरेँ ।
कमरेड मदन भण्डारीपछि पार्टीको विचारमा तपाईँले गर्दै आउनु भएको नेतृत्वको दावी र नियन्त्रण सम्भव भएन । मलाई कैयौँ घटना सम्झना छ आठौँ महाधिवेशन अगाडि तपाईँले विचार तथा सिद्धान्तको महत्वका बारेमा कस्ता प्रवचन दिनु हुन्थ्यो । तर आठौँ महाधिवेशनपछि तपाईँले विचार/सिद्धान्तलाई कसरी अवमुल्यन गर्न थाल्नु भयो भन्ने कुरा तपाईका पुराना र नयाँ प्रवचन सुन्ने जोसुकैले सजिलै थाहा पाउँछ । मप्रति तपाईँले देखाउँदै आउनु भएकोअसहिष्णुतालाई मैले यसै सन्दर्भमा बुझेको छु । र, त्यसको मूल्य तिर्न म तयार नै छु ।
अन्तिम दुई प्रश्न
हाम्रो पार्टीको इतिहास अनेकौँ कठिनाई र उतार चढावबाट गुज्रिएको छ । तर आन्तरिक लोकतन्त्रको अभ्यास गर्दै ती कठिनाइसँग सामना गर्दै आएको छ । अन्य कैयौँ पार्टीहरुमा कुनै व्यक्ति पार्टीको मुख्य पदबाट हट्नु पर्दा पार्टी नै विभाजित गर्ने परम्पराका विपरित हाम्रो पार्टीमा कुनै बेला असाधारण लोकप्रिय महासचिव कमरेड सी पी मैनाली पदबाट हटेर पनि यहि पार्टीमै रहेको, पार्टीले अनेकन् वैचारिक तथा सैद्धान्तिक मुद्दामा उपलब्धी हासील गरेको समयका महासचिव कमरेड झलनाथ खनाल पदबाट हेटेर पनि यहि पार्टीको नेतृत्वमा क्रियाशील रहेको, कमरेड मदन भण्डारीको मृत्यपछि महाचिव भएका कमरेड माधवकुमार नेपालको नेतृत्वको समयमा पहिलो पटक कम्युनिष्ट पार्टीको एकल सरकारको बनाएको तर पार्टीलाई २०६४ सालको संविधानसभा निर्वाचनमा धक्का लागेपछि नैतिक जिम्मेवारी कबोल गरेर राजीनामा दिएको र यहि पार्टीमै क्रियाशील रहेको जस्ता उदाहरणहरु स्थापित भएका छन्।
२०६४ सालको निर्वाचनमा प्रत्यक्षतर्फ ३३ सिटमात्रै ल्याएको पार्टीको अध्यक्ष भएर कमरेड झलनाथ खनाल आउनु भएपछि २०७० सालको निर्वाचनमा ९१ सिट ल्यायो । २०६४ सालको तुलनामा यो करिब ३ गुणा ठूलो उपलब्धी थियो । तर कमरेड झलनाथ खनाल २०७१ सालको महाधिवेशनमा स्वयं पछि हट्नु भयो र नेतृत्वको दावी छोड्नु भयो । अर्थात् नेतृत्वमा बसिरहनका लागि हाम्रा मुख्य नेताहरुले पार्टीको विधि भत्काउने र पार्टीलाई अस्तव्यस्त पार्ने काम गरेनन् । तर तपाईँले यो परम्परालाई भत्काउँदै हुनुहुन्छ । ‘आफले छोड्नु पर्छ भने कुर्ची नै भाँचिदिन्छु’ भन्ने तपाईँले नै भनेको वाक्य नै तपाईँको जीवन दर्शन भएको छ ।
तपाईँ अध्यक्ष रहेको कालमा पार्टीले २०७४ सालको स्थानीय निर्वाचनमा २०५४ सालपछिको सबैभन्दा ठूलो विजय हासील गर्ने, वाम एकताको चीरप्रतिक्षित नारालाई साकार पार्दै दुईवटा ठूला कम्युनिष्ट पार्टीको गठबन्धन बनाउने, संसदमा वामपन्थी गठबन्धनको फराकिलो बहुमत बनाउने र पार्टी एकतासम्म गर्ने उपलब्धी हासील भए । तर आज पार्टी एकता टुटेको छ, संसदमा हाम्रो बहुमत भत्केको छ, वामपन्थी गठबन्धनसमेत नबन्ने अवस्था आएको छ र पार्टीको प्रतिष्ठा गत स्थानीय तहको निर्वाचनभन्दा तल पुगेको छ ।
कम्युनिष्ट पार्टीका समस्त सदस्यहरु, शुभचिन्तक तथा समर्थकहरुमा भयानक निराशा मडराई रहेको छ । यस्तो अवस्थामा कम्तिमा आफ्ना कमजोरीहरुप्रति इमान्दारी देखाउनु वा ती असफलताको जिम्मा लिनु र राजीनामा गर्ने तत्परता देखाउनु त कता हो कता उल्टै अब बाँकि रहेको नेकपा एमालेको विधि, विधान र एकतासमेत भत्काउन तपाईँले देखाउनु भएको आतुरता रहस्यपूर्ण छ । तपाईँ अध्यक्ष हुनुभन्दा पहिले तपाईँ स्वयंले भन्ने गरेको तथाकथित ‘पार्टीको प्रजातान्त्रिकरण’ लाई तपाईँ के जवाफ दिनु हुन्छ ?
पार्टीको नवौँ महाधिवेशनले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को कार्यक्रमिक सोच अगाडि सारेको थियो । निर्वाचनमा वाम गठबन्धनले घोषणापत्र जारी गरेको थियो । तपाईँ सरकारको नेतृत्वमा आएपछि सरकारका आजसम्मका नीति–कार्यक्रम र बजेटहरु पार्टीका ती सोच र घोषणा विपरित दिशामा गए । सरकारमा जुन शक्ति र सामर्थ्यका साथ हामी गएका थियौँ त्यसको नेतृत्व गर्न तपाईँ असफल हुनु भयो ।
सरकारका विधेयकहरु विवादित भए, मन्त्रीहरु विवादित भए, अनेक काण्डमा तपाईँको भूमिका अनुचित रह्यो, विदेश नीतिमा तपाईँ अवसरवादी हुनु भयो, राष्ट्रिय अखण्डता र सार्वभौमिकताका प्रश्नलाई समेत तपाईँले नीजी मामिला बनाउनु भयो, सुशासनलाई तपाईँ आफैले लज्जित पार्नु भयो, सरकार र राज्यलाई आफ्नो गुटका हितको साधनका रुपमा दुरुपयोग गर्नु भयो, कैयन्अधिकारहरु आफ्नो हातमा लिनु भयो तर तिनको दुरुपयोग गर्नु भयो, यस्ता अनेक असफलतापछि संसद विघटनजस्तो अवैधानिक कदम चाल्नु भयो । यी सबै अपयशको भारी यो पार्टी र आन्दोलनलाई त बोकाउनु नै भयो, त्यतिले नपुगेर अझै के तृष्णा बाँकि रह्यो र पार्टी विभाजन गर्न खोज्दै हुनु हुन्छ ? तपाईँ अहिले हिँडिरहेको बाटो रहस्यमय छ । कसको बलमा, कसका लागि यो सबै गर्दै हुनुहुन्छ ?
अन्त्यमा,
तपाईँका कारणले पार्टी वैचारिक, सैद्धान्तिक, राजनीतिक र साङ्गठानिक हिसाबले विसर्जनतर्फ जाँदैछ । यस पार्टीको सदस्य वैचारिकरुपले कहाँ उभिनु पर्छ/उभिन्छ भन्ने कुरा हराउँदै गएको छ । हरेक व्यक्ति आफ्ना नीजी फाइदा/बेफाइदा हेरेर सामाजिक तथा राजनीतिक विषयमा धारणा बनाउँछ । अर्थात् व्यक्तिवाद नै विचारधारा बन्दैछ । पार्टी सदस्यका हिसाबले उसको लक्ष्य र बाटो के हो भन्ने प्रश्नको एकिकृत उत्तर छैन । जसले जुन काम गर्दा फाईदा हुन्छ त्यहि गर्दैछ । अर्थात्, सैद्धान्तिक रुपमा यो पार्टी घोर अवसरवादी हुँदैछ । फाइदाको हिसाब किताबले सामाजिक सम्बन्ध निर्माण गरिँदैछ । यसरी यस पार्टीमा दक्षिणपन्थ हावी हुँदैछ । उम्मेदवारी, नियुक्तिको सिफारिस, अवसरहरुको बाँडफाँट र त्यसका लागि गुटबन्दी नै सङ्गठनको मुख्य चरित्र बन्दैछ । यसरी यो पार्टी एउटा लोकतान्त्रिक र क्रान्तिकारी बाटोबाट टाढा जाँदैछ, विसर्जनको बाटोमा हिँड्दै छ । र, यो काम तपाईँको नेतृत्वमा हुँदैछ ।
पार्टी जीवनमा यस्ता समस्या आइरहन्छन्, तिनको समाधान गर्दै पार्टी अगाडि बढ्छ । कम्तिमा सबैले सबै विषयमा सङ्गठनभित्रै छलफल गर्ने वातावरण हुँदा ती सबै समस्याहरुको तर्कसङ्गत समाधान गर्न सकिन्छ । अहिले अदालतको फैसलाअनुसार २०७५ जेठ २ बाट पार्टी जीवन आरम्भ गर्दा नेकपा (एमाले) का सबै समस्या समाधान गर्ने दिशामा अघि बढ्ने बाटो खुल्छ । तपाईँ स्वयं नेकपा (एमाले) को नवौँ महाधिवेशनबाट चुनिएको हुँदा आजको पुनर्जिवित नेकपा (एमाले) को अध्यक्ष हुने तर त्यसै गरी विधिवत्निर्वाचनबाट आएका केन्द्रिय कमिटीका पदाधिकारीहरु, जिल्ला वा स्थानीय तहका अधिवेशनबाट आएका पदाधिकारी तथा सदस्यहरु र जनसङ्गठनका सदस्य र पदाधिकारीहरु किन नहुने ? यति स्पष्ट आधारलाई समेत मिल्काएर तपाईँ पार्टीलाई कहाँ लान खोज्दै हुनुहुन्छ ?
कमरेड अध्यक्ष केपी ओली,
सत्ता र शक्तिको भोगको हिसाबले तपाईँले पाउन अझै के बाँकि छ ? पार्टीलाई बन्धक बनाएर तपाईले ती सबै पूरा गर्नु भयो । त्यहि अनुपातमा तपाईँले पार्टीको विचार, आदर्श, सामुहिकता, सामाजिकताजस्ता धरोहरहरु भत्काउँदै जानु भयो । अझै पनि हाम्रा अग्रजहरुको त्याग–बलिदानले निर्माण गरेका केहि विरासत बाँकि छन् जसमा आउने पीँढीले नेपाली जनताको, खासगरी श्रमजीवी वर्गको भरपर्दो लोकतान्त्रिक र क्रान्तिकारी पार्टीका रुपमा पुनर्जिवित गर्न सक्छन् । मेरो लाख–लाख अनुरोध छ, कमरेड ! यस पार्टीलाई अगाडि बढ्न दिनुस्। अझै पनि व्यक्तिवादको घोर नशाबाट ब्युँझनुस्। क्रान्ति त अघि बढ्छ, बढ्छ । आज वा भोली वा पर्सी तपाईँ दण्डित हुनु हुनेछ ।
आगे तपाईँकै इच्छा ।
घनश्याम भूसाल
उपमहासचिव
नेकपा (एमाले)