बहराइनी टोली सगरमाथा आरोहणका लागि लुक्ला पुग्यो
काठमाडौं । बहराइनी राजकुमार सहितको १६ जनाको टोली सगरमाथा आरोहणको लागि आज लुक्ला पुगेको छ ।
यसवर्षको वसन्तकालीन याममा विश्वको अग्लो शिखर सगरमाथा आरोहणका लागि बहराइनी राजकुमार शेख मोहम्मद हमाद मोहम्मद अल खालिफा सहितको टोली आज लुक्ला पुगेको छ । योसँगै बहराइनी राजकुमारको सगरमाथा चढ्ने पहिलो बहराइनी नागरिक बन्ने यात्रा पनि सुरु भएको छ ।
काठमाडौँबाट आज बहराइनी टोलीसँगै अन्य २५ जना सदस्य पनि लुक्लातिर प्रस्थान गरेको व्यवस्थापक कम्पनी सेभेन सम्मीट ट्रेकले बताएको छ । कम्पनीका अनुसार आरोहण टोलीमा करिब १५० जना सदस्य रहनेछन् । टोलीको तालिका अनुसार आरोहणको समय ८० दिनको रहनेछ ।
यो सँगै अन्य १५ जनाको एक टोलीले पनि सगरमाथा आरोहणको लागि अनुमति लिएको छ ।
पर्यटन विभागका अनुसार मंगलबारसम्म कुल ८६ जनाले वसन्त ऋतुमा हिमाल आरोहणको लागि अनुमति लिएको छ । आरोहण रोयल्टी वापत विभागले चार करोड ९२ लाख ९९ सय हजार ५६४ रुपैँया संकलन गरेको छ ।