२ माघ २०८१, बुधबार

केही दिनदेखि प्रभावित बनेको अन्तर्राष्ट्रिय उडान आजदेखि सामान्य

प्रकाशित मिति :  1 April, 2021 1:40 pm


काठमाडौं । प्रतिकूल मौसमका कारण विगत एक हप्ता दिनदेखि उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान आज सामान्य बनेको छ ।

मौसम खराबीले भिजिबिलिटी कम हुँदा आन्तरिक तथा अन्तरराष्ट्रिय दुवै उडान प्रभावित भएकोमा आजदेखि नियमित रुपमै उडान सञ्चालन भएको विमानस्थलले जनाएको छ । नेपाल तथा भारतका केही स्थानमा आगालागी भएको कारण वायुमण्डलमा देखिएको धुलो र धुवाँले मौसम बिग्रिए पछि उडान प्रभावित भएको हो ।

विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले प्रतिकूल मौसमका कारण प्रभावित बनेको अन्तरराष्ट्रिय विमानस्थलको उडान नियमित भइरहेको जानकारी दिए । गत शुक्रबार मध्यान्हदेखि मौसम खराबीले भिजिबिलिटी कम हुँदा विमानस्थलमा विगत पाँच दिन यान्त्रिक पद्धत्ति (आइएफआर)बाट मात्रै उडान सञ्चालन भएको थियो ।

यता आन्तरिक गन्तव्यमा भने केही संख्यामा मात्रै उडान सुरु भएको विमानस्थलले जनाएको छ । बुधबार अपरान्हपछि काठमाडौँ उपत्यकासहित देशभरको मौसममा सामान्य सुधार आएपछि उडान केही सहज भएको थियो । विमानस्थलका महाप्रबन्धक तिवारीले क्रमशः मौसम सुधार आएकाले उडान रद्ध हुने क्रम पनि बुधबारसम्म घटेको र राति काठमाडौँसहित विभिन्न स्थानमा भएको वर्षाले उडान सहजता आएको बताए ।

बाक्लो धुवाँसहितको तुवाँलोले भिजिबिलिटी शून्य भएकाले उडान प्रभावित भएको थियो । अन्तरराष्ट्रिय विमानस्थलसहित देशका अन्य स्थानमा पनि उडान प्रभावित बनेको थियो । विमानस्थलका अनुसार विगत छ दिनको अवधिमा अन्तरराष्ट्रिय विमानस्थलको आन्तरिकतर्फ करीब ४० प्रतिशत उडान रद्द भएका छन् ।

अन्तरराष्ट्रियतर्फ पनि थोरै सङ्ख्यामा उडान रद्ध र केही उडान अन्यन्त्र मोडिनु ‘डाइभर्ट’ भएका छन् । अन्तरराष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ १० हेलिकाप्टर कम्पनीसहित १९ वायु सेवा प्रदायकले उडान भर्दै आएका छन् । अन्तरराष्ट्रियमा तीन नेपालीसहित ३० वायुसेवा कम्पनीले सेवा सञ्चालन गर्दै आएकामा कोभिड–१९ सङ्क्रमणपछि हाल १९ वायुसेवा कम्पनीले उडान सेवा सञ्चालन गरिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस !