५ आश्विन २०८१, शनिबार

नयाँ सरकार कि चुनावमा जाने निर्णय गर्न कांग्रेसको बैठक

प्रकाशित मिति :  2 April, 2021 1:30 pm


काठमाडौ । नयाँ सरकार कि चुनावमा जाने विषयबारे नेपाली कांग्रेसले शुक्रबारको केन्द्रीय समितिको बैठकबाट निर्णय गर्ने अपेक्षा गरिएको छ ।

पार्टी कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने बैठकमा यस्तो निर्णय हुने अपेक्षा कांग्रेसका नेताहरूको रहेको छ ।

यसका अतिरिक्त विभिन्न दलबाट आएकाहरूको समायोजन र क्रियाशील सदस्यता छानबिनको विषयमा बस्न लागेको भनिएको कांग्रेसको बैठकमा तत्काल संसदको गतिरोध फुकाउने विषयमा निर्णय हुन सक्ने देउवा निकट एक नेताले जनाएका छन् ।

उपसभापति विमलेन्द्र निधिले अरु दलबाट आएकाहरुको समायोजन र महामन्त्री पूर्णबहादुर खड्काले क्रियाशील सदस्यता छानबिनका लागि समय थप गर्न महाधिवेशनको कार्यातालिकालाई हेरफेरसम्बन्धी प्रस्ताव पेश गर्ने औपचारिक एजेण्डा रहेको छ ।

माओवादी केन्द्रले कांग्रेसको नेतृत्वमा सरकार गठनको प्रस्ताव राखेको छ । जनता समाजवादी पार्टी यस विषयमा विभाजित देखिएको छ । डा. बाबुराम भट्टराई र उपेन्द्र यादव पक्ष कांग्रेस, माओवादी र जसपा गठबन्धन बनाउने पक्षमा रहेका छन् । महन्थ ठाकुर र राजेन्द्र महतोलगायतका नेताहरू प्रधानमन्त्री ओलीसँग निरन्तर संवादमा रहेका छन् ।

देउवाले राजनीतिकरूपमा ओली विकल्पको सरकार बनाउन सक्ने ठोस अवस्था भएको ठम्याउन नसकेको उनका निकटले बताए । जसपा सरकारमा आउने वा समर्थन दिने विषयमा देउवा ढुक्क सकिरहेका छैनन् ।

देउवाकै पालामा संविधान संशोधनको प्रस्तावमा ओली पक्षले समर्थन नगर्दा जसपाले उठाएका मार्गहरू सम्बोधन हुन सकेको थिएन ।

अहिले ओलीले जसपाको माग पूरा गर्ने गरी पहल गरेको देखिएको हो ।

डा. बाबुराम भट्टराई र उपेन्द्र यादव समूहले नाइ नाइ गरे पनि पुरानो राष्ट्रिय जनता पार्टीका नेताहरू पार्टी फुटाएर ओलीको पक्षमा जान सक्ने देखिएको छ । तर ओलीलाई प्रधानमन्त्रीमा हुने मतदानमा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय सांसदहरूले फ्लोर क्रस गर्न सक्ने सम्भावना त्यतिकै रहेको छ ।

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले यसमा नयाँ प्रस्ताव राख्न सक्ने अनुमान गरिएको छ । पौडेल समूहका नेताहरूले प्रधानमन्त्री ओलीको विकल्प खोज्नुपर्छ भन्नेमा छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार बनाउने कि चुनावमा जाने निर्णय गर्न आग्रह गरेकाले कांग्रेस केन्द्रीय समितिको बैठकबाट सरकार कि चुनाव रोज्ने गरी निर्णय हुने अपेक्षा गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !