३ माघ २०८१, बिहिबार

बेनी जोमसोमको अवरोध हट्यो , यातायात फेरि सञ्चलानमा

प्रकाशित मिति :  2 April, 2021 4:06 pm


काठमाडौ ।मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक एक सातापछि सिधा यातायात सञ्चालन भएको छ ।

म्याग्दी र मुस्ताङको सीमा क्षेत्रमा पर्ने काभ्रे भिरमा विस्फोटक पदार्थको प्रयोग गरी सडक चौडा बनाउने काम भएकाले गत चैत १४ गतेदेखि यातायात बन्द गरिएको थियो ।

जिल्ला प्रशासन कार्यालय मुस्ताङबाट अनुमति लिएर एक सातासम्म विस्फोटक पदार्थ प्रयोग गरी सडक फराकिलो बनाउने काम गरिएको थियो । बन्द भएको सडक शुक्रबारदेखि सञ्चालन भएको आयोजनाका सूचना अधिकारी अश्विनीकुमार यादवले जानकारी सार्वजनिक गरेका हुन् । निर्माण कम्पनी शर्मा–गजुरमुखी जेभीले गत पुसदेखि पहाड काट्ने काम गर्दै आएको थियो ।

यादवका अनुसार विस्फोटक पदार्थ प्रयोग गरी सडक चौडा बनाउने काम गरिए पनि पुरै भिरको काम सक्न भने केही महिना लाग्नेछ । एक हजार ६०० मिटर दूरीमा पहाड काट्नुपर्ने भएको छ ।

सडक चौडा बनाउन लामो समय लाग्ने आयोजनाले जनाएको छ । बेनी–जोमसोम सिधा सवारी सञ्चालन भएसँगै एक सातादेखि बेनी हुँदै जोमसोम र जोमसोमबाट बेनी हुँदै आवतजावत गर्ने यात्रुहरू यातायात फेििर सुसञ्जालन हुने पर्खाइमा रहेका थिए ।

उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत ७६ किमी लामो बेनी–जोमसोम सडक चार प्याकेजमा स्तरोन्नति गर्ने काम भइरहेको छ ।

झण्डै छ अर्ब रुपैयाँको लागतमा राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक आयोजना विसं २०७४ देखि निमार्ण शुरू भएको हो । एक सय १० किलोमिटर दूरीको जोमसोम–कोरला सडकमा ग्राभेल गर्ने काम भइरहेको छ ।

करिडोर आयोजनाका अनुसार जोमसोम–कोरला सडकको सात प्याकेजमध्ये चार प्याकेजको काम निर्माण सकिएको छ । बेनी–जोमसोम सडकमा ६० प्रतिशत र जोमसोम–कोरला सडकमा ८५ प्रतिशत भौतिक प्रगति भएको सो आयोजनाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !