६ आश्विन २०८१, आइतबार

माओवादी केन्द्रले रोल्पामा चुनाव जितेपछिका ४ वर्षको समीक्षा गर्ने,केन्द्रदेखि वडासम्मका नेताको जमघट

प्रकाशित मिति :  3 April, 2021 4:40 pm


काठमाडौं । नेकपा (माओवादी केन्द्र) रोल्पाले २०७४ मा चुनाव जितेपछिका ४ वर्षको समीक्षा गर्ने भएको छ ।

सेमिनार नै गरेर माओवादी केन्द्रले रोल्पामा चुनाव जितेका वडादेखि प्रतिनिधि सभा सदस्यसम्मको कामको समीक्षा गर्न लागेको हो ।

रोल्पाबाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका माओवादी केन्द्रका नेता वर्षमान पुनले चुनाव जितेपछि गरेका काम र कमजोरी तथा भावी रणनीतिबारे छलफलका लागि २ दिन सेमिनार नै गर्न लागेको जानकारी दिए ।

ओखलढुंगा जिल्ला पार्टी बैठक तथा प्रशिक्षण कार्यक्रममा बोल्दै चुनाव नजिकिएको र यसबारे रणनीति बनाउन २ दिने सेमिनार गर्न लागेको बताए । रोल्पामा माओवादी केन्द्रले ५० वडा, ७ पालिका,२ वटै प्रदेश सभा र एउटै क्षेत्र रहेको प्रतिनिधि सभा निर्वाचन जितेको थियो भने जिल्ला समन्वय समिति पनि उसकै नेतृत्वमा छ ।

नेता पुनका अनुसार सेमिनारमा प्रतिनिधि सभा सदस्य,प्रदेश सभा सदस्य,पालिका प्रमुख, वडा प्रमुखका साथै पार्टीका पनि जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रदेखि वडा तहका नेतासम्मले आफ्नो धारणा र समिक्षा राख्ने छन् ।

उनले भने,“सेमिनारमा ४ वर्षको अवधिमा मैले के गरे ? प्रदेशका साथीहरूले रिपोटिङ गर्नुहुन्छ । ७ पालिकाले गर्छ, ५० वटा वडाले गर्छ । सबै पार्टीका वडा अध्यक्ष पालिकाका अध्यक्ष र जिल्ला कमिटी राखेर सबै नेता बसेर ४ वर्षे समिक्षा गर्छौ । पास भयो कि फेल भयौं ? अब अन्तिम वर्षको बजेट कस्तो हुन्छ ? कार्यक्रम कस्तो हुन्छ ? अर्को वर्ष स्थानीय चुनाव कसरी जित्ने ? यसखालको हामी कार्यक्रम बनाउँछौं ।”



प्रतिक्रिया दिनुहोस !