३० कार्तिक २०८१, शुक्रबार

पर्यटक तान्दै पोखराको रामकोट होमस्टे, पानी आपूर्ति मुख्य चुनौती

प्रकाशित मिति :  4 April, 2021 11:05 am


-कृष्ण रानाभाट-

कास्की । पोखरा महानगरपालिकाको सिमानामा रहेको रामकोट सामुदायिक होमस्टे पर्यटनको आकर्षक गम्तव्य बन्न थालेको छ । पर्यटक वढ्न थालेसँगै होस्टे सञ्चालकहरू व्यवस्थापनका समस्याबारे अन्तरक्रिया गर्न थालेका छन् ।

स्याङ्जा जिल्लाको फेदिखोला गाउँ पालिका वडा नं. १, रामकोटमा २०७४ सालदेखि नानी फुपु होमस्टे सञ्चालन गर्दै आएकी खरीकुमारी गुरुङले होमस्टेको प्रचारप्रसारसँगै पाहुनाहरू आउने क्रम वढ्न थालेको बताइन् ।

सम्भावना धेरै भए पनि खानेपानीको समस्या चुनौतीको रुपमा देखिएको सञ्चालकहरूले गुनासो छ ।

“वसाईसराईको कारण उजाड हुन लागेको गाउँ घरबास कार्यक्रम सञ्चालनपछि राम्रो हुन लागेको छ तर पानीको समस्याले घरवासको भविष्य नभएको जस्तो लाग्न थालेको छ,” उनले भनिन् ।

पोखराको पृथ्वीचोकबाट शिद्धार्थ हाइवेको कुभिण्डेसम्म १४ किलोमिटर र त्यहाँबाट मात्र २ किमी कालोपत्रे बाटोको दुरीमा रहेको रामकोटमा घरबास कार्यक्रम सञ्चालन गर्न सकिने क्षेत्र हो ।

घरबास संचालनको अभियन्ता तथा रामकोट सामुदायिक होमस्टेका संस्थापक अध्यक्ष अबिलास गुरुङ पनि खरी कुमारीको कुरामा सहमत छन् । उनी पनि मुख्य समस्या पानीको आपूर्ति नै देख्छन् ।

“तर कुनै पनि काम नभएको भने होइन, गण्डकी प्रदेश सरकार आर्थिक सहयोगमा गाउँ पर्यटन प्रबद्र्धन मञ्च (भिटोफ) गण्डकीले होमस्टे सञ्चालकहरूलाई तालिम प्रदान गर्नुको साथै पुर्वाधार विकासका कार्य गरिरहेको छ,” उनले भने ।

सो क्षेत्रमा पर्यटक बढाउन रामकोट, मट्टिखानको कालिकाकोट र नुवाकोटको भैरव थानलाई जोडेर साईकल रुटको विकासको लागि गृहकार्य भइरहको छ ।

पोखराको नजिकै रहेको दृश्यबलोकनको लागि उपयुक्त रामकोटबाट पोखरा वजार, अन्नपुर्ण हिम श्रृङ्खला, स्याङ्जाको फेदीखोला वजार, आरुखर्कको दरबार, नुवाकोटको काला भैरब थान तथा दरबार देख्न सकिने र रामकोट नजिकै रहेका साल्मे डाँडामा निर्माणाधिन गोर्खा स्मारकका कारण पनि रामकोटको भविष्य उज्जवल रहेको अभियन्ता गुरुङको भनाइ छ ।

साइला–साइली होम स्टेकी सञ्चालक धना गुरुङले शुक्रबार र शनिबार पाहुना धेरै आउने हुनाले होमस्टे वस्न जाने पाहुनाले पहिलै जानकारी दिएर आउने पाहुनाको मात्र सेवा गर्न सकिने बताइन् । होमस्टे सञ्चालनपछि गाउँमै रोजगारीको सृजना हुनुको साथै उत्पादित वस्तुले वजार पाएकोमा उनी हर्षित् छिन् ।

हिजोआज पोखरामा रहेका धेरै संघसंस्थाहरूले आफ्ना नियमित बैठक, साधारण सभा, अधिवेशन तथा भ्रमण होमस्टहरुमा गर्दै आएको पाइन्छ । शनिबार बृहत फेदिखोला पोखरा सम्पर्क समाजले आफ्नो संस्थाको नियमित बैठक रामकोट होमस्टेमै राखेको थियो ।

पहिलो पटक होम स्टे पुगेका पोखराको लेकसाईडमा होटल व्यवसाय गर्दै आएका पर्यटन व्यवसायी घनश्याम अधिकारीले होम स्टे सञ्चालकको आतिथ्यता र वरपरको वातावरणले आफू आकर्षित भएको वताउँदै रामकोटमा होम स्टे सम्भावना प्रचुर रहेकोले मार्केटिङ र प्रचारप्रसारमा बढी ढि जोड दिनु पर्ने सुझाव दिएका थिए ।

रामकोट होम स्टेमा आउने पाहुनाले गाउँको शिरमा रहेको मनोरम दृश्यको साथै भगवती मन्दिर, राधाकृष्ण, शिव मन्दिर दर्शन गर्न सक्नुका साथै नजिकै रहेको साल्मे डाँडाको गोर्खा स्मारकको अवलोकन गर्न पाउँछन् ।

होमस्टे सञ्चालकहरू पानीको वैकल्पिक स्रोतको खोजी गरिरहेका छन् । उनीहरुले प्रदेश सरकारसँग यस विषयमा थप सहयोग गर्न अनुरोध गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !