६ आश्विन २०८१, आइतबार

रोल्पाको प्राकृतिक स्रोत व्यवस्थापन कलेजमा संगठन विस्तारको किचलो

प्रकाशित मिति :  6 April, 2021 11:26 am


रोल्पा । रोल्पाको प्राकृतिक स्रोत व्यवस्थापन कलेज सञ्चालनमा आएको एक वर्षमै विद्यार्थी संगठन विस्तारलाई लिएर किचलो सुरु भएको छ ।

माडीचौरमा रहेको कलेजमा विद्यार्थी संगठनबीच संगठन विस्तारलाई लिएर विवाद भएको हो । कलेजमै अध्ययनरत अखिल क्रान्तिकारीका विद्यार्थीहरुले नेपाल विद्यार्थी संघमा आवद्ध विद्यार्थीहरुलाई ज्यान मार्ने धम्की दिएको भन्दै प्रहरीमा उजुरी समेत परेको थियो ।

प्रहरीको रोहबरमा दुबै संगठनबीच सहमति भएको छ । अखिल क्रान्तिकारीले माओवादीकै कारण माडीचौरमा क्याम्पस स्थापना भएकाले अखिल क्रान्तिकारीले मात्रै संगठन विस्तार गर्ने भन्दै आफूहरुलाई धम्की दिएको दाबी गर्दै नेविसंघले प्रहरीमा उजुरी गरेको थियो ।

कोठामै गएर धम्की दिन थालेको भन्दै नेविसंघमा आवद्द विद्यार्थीहरुले क्यम्पस प्रशासनलाई जानकारी गराएका थिए । क्याम्पस प्रशासनले सम्झाउदा पनि धम्की दिने क्रम नरोकिएको भन्दै नेपाल विद्यार्थी संघ रोल्पाले जिल्ला प्रहरी कार्यालय रोल्पामा उजुरी दिएको थियो ।

कृषि तथा वन विश्वविद्यालय, चितवनबाट सम्बन्धन प्राप्त उक्त कलेजमा गतवर्षको फागुन १४ देखि नियमित पठन पाठन सुरु भएको थियो ।

उजुरी परेपछि हिजो जिल्ला प्रहरी कार्यालयले मिलापत्र गरिदिएको हो । दोलखा घर भएका विद्यार्थी शिव बस्नेतलाई बोलाई आगामी दिनमा धम्की दिएमा कारबाही गर्ने सर्तमा मिलापत्र गरिएको छ ।

अखिल क्रान्तिकारी र नेविसंघका विद्यार्थीबीच भएको सहमति पत्र



प्रतिक्रिया दिनुहोस !