५ आश्विन २०८१, शनिबार

प्रदेश सरकारमा हलचल : कर्णालीमा एमाले बाहिरिएपछि गण्डकीमा माओवादी केन्द्रका मन्त्रीको राजीनामा

प्रकाशित मिति :  7 April, 2021 4:06 pm


काठमाडौं । गण्डकी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएको छ ।

केन्द्रमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने चर्चा चलिरहेका बेला माओवादी केन्द्रले प्रदेशमा एमाले नेतृत्वको सरकार र एमालेले माओवादी केन्द्र नेतृत्वको सरकार छोड्नेक्रम शुरु भएको हो ।

हिजो मात्रै कर्णाली प्रदेशमा नेकपा एमालेले प्रदेश सरकारबाट आफ्नो मन्त्री फिर्ता बोलाएको थियो । आज गण्डकी प्रदेशमा माओवादी केन्द्रले आफ्ना तर्फबाट मन्त्री बनेका हरिबहादुर चुमान र लेखबहादुर थापालाई फिर्ता बोलाए लगत्तै राजीनामा बुझाएका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय पुगेर मन्त्री चुमान र थापाले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङलाई राजीनामा बुझाएका हुन्। चुमान आन्तरिक मामिला तथा कानुन मन्त्री थिए भने थापा कृषिमन्त्रीको जिम्मेवारीमा थिए ।

गण्डकी प्रदेश सरकारबाट माओवादी केन्द्र बाहिरिएपनि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ अल्पमतमा परिसकेका छैनन् ।

प्रदेश सभामा रहेको ६० जना सांसद मध्ये एमालेको २८ जना सांसद छन्। ३ जना सांसद रहेको राष्ट्रिय जनमोर्चाले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नलिएसम्म प्रदेश सरकार बहुमतमै रहने छ ।

नेकपा एमालेको निर्देशन अनुसार माधवकुमार नेपालपक्षीय तीन मन्त्री आर्थिक मामिलामन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल र वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले राजीनामा दिएका थिए । राजीनामासँगै कर्णाली प्रदेशमा माओवादी केन्द्र नेतृत्वको सरकार अल्पमतमा परेको छ ।



प्रतिक्रिया दिनुहोस !