६ आश्विन २०८१, आइतबार

प्रतिकूल मौसमले चार दिनदेखि उडान प्रभावित

प्रकाशित मिति :  8 April, 2021 2:39 pm


काठमाडौं । प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिकतर्फ विगत चार दिन केही मात्रामा उडान प्रभावित भएको छ । मौसम खराबीले अन्तर्राष्ट्रिय उडान नियमित भए पनि आन्तरिक उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ ।

विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले आन्तरिक उडान केही सङ्ख्यामा प्रभावित भएको जानकारी दिए । विमानस्थलबाट विभिन्न गन्तव्यमा हुने उडान थोरै सङ्ख्यामा रद्द भएको छ । यान्त्रिक पद्धति (आइएफआर) बाट रात्रिकालीन उडानयोग्य विमानस्थलमा उडान गरिए पनि पोखरा, जनकपुर, सिमरालगायत गन्तव्यको उडान प्रभावित भएको छ ।

अघिल्लो एक साता मौसम खराबीले उडान रद्द भएको अन्तर्राष्ट्रिय विमानस्थलमा पुनः गत चैत २३ गते मङ्गलबारदेखि उडान प्रभावित भएको हो । काठमाडौँ उपत्यकासहित देशभरको आकाशमा बाक्लो धुवाँसहितको तुवाँलो लागेकाले भिजीबिलिटी कम हँुदा खासगरी आन्तरिक उडान प्रभावित बनेको छ ।

अन्तर्राष्ट्रिय विमानस्थलको तथ्याङ्कअनुसार आन्तरिक उडानमा बुधबार विभिन्न एयरलाइन्सका जम्मा ११२ उडानमध्ये ९५ मात्रै उडान भए । बाह्र उडान रद्द हुनका साथै पाँच उडान मर्ज गरिएको थियो । यी उडानबाट प्रस्थान र आवागमन दुवै गरी नौ हजार ८२४ यात्रुले हवाईयात्रा गरेका छन् । बुद्ध एयरको सात, यती एयरलाइन्सको चार र सीता एयरको एक उडान रद्द भएको छ ।

यस्तै गत मङ्गलबार आन्तरिकतर्फ ११८ उडान निर्धारण गरिएकामा जम्मा ८८ उडान भए । २८ उडान रद्द भएका छन् । बुद्ध एयरको १५, यती एयरलाइन्सको छ, समिट एयरको तीन, सौर्य एयरलाइन्सको दुई तथा तारा एयरको समान एक–एक उडान भएका छन् । सबै उडानमार्फत आठ हजार ६८७ यात्रु आवतजावत गरेका छन् ।

अघिल्लो सोमबार सर्वाधिक ३० उडान रद्द भएका छन् । उक्त दिन जम्मा १२२ उडान निर्धारण गरिएकामा ९१ मात्रै उडान भएको छ । बुद्धएयरको १७, यती एयरलाइन्सको नौ, ताराएयरको दुई तथा श्री एयरलाइन्स र सीताएयरको समान एक–एक उडान रद्द भएको विमानस्थल कार्यालयले जनाएको छ ।

तीनदिन मौसम खराबी रहे पनि तुलनात्मकरूपमा आज काठमाडौँको आकाश केही मात्रामा खुलेको छ । बाक्लो तुवाँलो नभएपछि भिजीबिलिटी पनि राम्रो रहेको र नियमित उडान भइरहेको विमानस्थलका महाप्रबन्धक तिवारीले बताए ।

हाल देशमा स्थानीय वायुको तथा पश्चिमी वायुको आंशिक प्रभावका साथै नेपालभन्दा दक्षिणमा बनेको तल्लो वायुमण्डलीय न्यून चापीय प्रणालीको पनि प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । साथै देशका केही स्थानमा तुवाँलो लागेको अवस्था छ ।

देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदली रहनेछ । प्रदेश १ का पहाडी भू–भागका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भू–भागका एक/दुई स्थानमा अपराह्नतिर मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । महाशाखाका अनुसार आज काठमाडौँको न्यूनतम तापक्रम १३ र अधिकतम तापक्रम २८ दशमलव आठ डिग्री सेल्सियस रहेको छ । रासस



प्रतिक्रिया दिनुहोस !