६ आश्विन २०८१, आइतबार

यातायात व्यवस्था कार्यालय नेपालगञ्जका तत्कालिन प्रमुखसहित १९ जना विरुद्व भ्रष्टाचारको मुद्दा दायर

प्रकाशित मिति :  8 April, 2021 4:11 pm


काठमाडौं । यातायात व्यवस्था कार्यालय, भेरी अञ्चल, नेपालगञ्जका तत्कालिन कार्यालय प्रमुखसहित १९ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।

आयोगले तत्कालिन कार्यालय प्रमुख तथा परीक्षा समितिका अध्यक्ष पवन सुवेदीसहित १९ जना विरुद्ध आज विशेष अदालत काठमाडौंमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।

मुद्दा दायर गरिएका मध्य सुवेदीसहित तत्कालीन शाखा अधिकृत ध्रुवराज देवकोटा, नायब सुब्बा ललित बहादुर वली, नायब सुब्बा केशबराज डाँगी, नायब सुब्बा हुतराज पौडेल, नायब सुब्बा सतानन्द उपाध्याय (न्यौपाने), नायब सुब्बा अरुण कुमार गौतम, नायब सुब्बा धर्मदत्त चौलागाई छन् ।

त्यस्तै नायब सुब्बा डिलाराम खरेल, नायब सुब्बा ओम बहादुर बस्नेत, नायब सुब्बा गणेशमान आचार्य, नायब सुब्बा सावित्री पौडेल, खरिदार चन्द्रमणी नेपाली, खरिदार केशर कुमार चपाई, हलुका सवारी चालक ध्रुवराज अर्याल, प्रहरी सहायक निरीक्षक प्रकाश पुन र प्रहरी जवान ओमप्रसाद देबकोटा विरुद्धपनि मुद्धा दायर भएको छ ।

सवारी चालक अनुमतिपत्र बिक्री गरी गैरकानूनीरुपमा रकम आर्जन गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा कसुर गरेको भेटिएको अख्तियारको दाबी छ ।

दुईपाङ्ग्रे सवारी चालक अनुमतिपत्र सम्बन्धी लिखित परीक्षाको नतिजामा परीक्षा समितिको बैठक नै नबसी सदस्यहरुलाई भूमिकाविहीन बनाएको, परीक्षा समितिको अध्यक्षको हैसियतमा कार्य नगरी आफूखुसी मौखिक आदेशमा समेत उत्तरपुस्तिका परीक्षण गर्न लगाई लिखित परीक्षामा अनुत्तीर्ण भएका परीक्षार्थीहरुको नतिजा फेरबदल गर्ने कार्यमा प्रत्यक्ष संलग्न रहेको देखिएको अख्तियारको दाबी छ ।

त्यस्तै कार्यालय प्रमुख सुवेदीले परीक्षामा अनुत्तीर्ण भएका परीक्षार्थीहरुको नतिजा फेरबदल गरेको दाबी गरिएको छ ।

तत्कालीन शाखा अधिकृतद्वय सिताराम खनाल र डेकराज पोखरेलले परीक्षामा अनुत्तीर्ण भएका परीक्षार्थीहरुको नतिजा फेरबदल गर्ने कार्यमा प्रत्यक्ष संलग्न रहेको देखिएको अख्तियारको दाबी छ ।

अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले भनेका छन्, “लिखित परीक्षाको परिणाम फेरबदल गरिएका उत्तरपुस्तिकाहरुको सनाखत गरी परीक्षण गरेको हो भनी निजहरुले स्वीकार गरेकाले निजहरुले अनुत्तीर्ण भएका परीक्षार्थीहरुको नतिजा फेरबदल गर्ने कार्यमा प्रत्यक्ष संलग्न रहेको देखिएको हुदाँ निजहरुबाट परीक्षामा अनुत्तीर्ण भएका परीक्षार्थीहरुको नतिजा फेरबदल गरी भ्रष्टाचार निबारण ऐन, २०५९ को दफा १३ बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले निजहरु उपर भ्रष्टाचार निबारण ऐन, २०५९ को दफा १३ बमोजिम सजाय हुन मागदाबी लिइएको छ ।”



प्रतिक्रिया दिनुहोस !