५ आश्विन २०८१, शनिबार

सरकारको नेतृत्वका लागि कांग्रेसको औपचारिक पहल,माओवादी केन्द्रले खोज्यो बहुमतीय सरकारको सुनिश्चिता

प्रकाशित मिति :  9 April, 2021 5:38 pm


काठमाडौं । नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउन सहयोगका लागि औपचारिक प्रस्ताव गरेको छ ।

छलफलका लागि कांग्रेस सभापति शेरबहादुर देउवाको निवास पुगेका नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी समक्ष कांग्रेसले औपचारिक प्रस्ताव राखेको हो ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार बैठकमा सभापति देउवाले दुबै दलका नेतालाई कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउन पहल गर्ने र प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारलाई विदाई गर्ने निर्णय गरिसकेको जानकारी गराए ।

बैठकमा कांग्रेस सभापति देउवाले माओवादी केन्द्रले अहिलेसम्म सरकारलाई दिएको समर्थन फिर्ता नलिएको विषयमा प्रश्न गरेका थिए । जवाफमा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिनुभन्दा पहिले बहुमतको सरकार बन्ने सुनिश्चिता चाहेको बताएको थियो ।

छलफलपछि नेता नारायणकाजी श्रेष्ठले आफूहरुले नयाँ बहुमतको सरकार आफूले चाहेको जानकारी गराएको बताए । उनले भने,”हामी बहुमतको सरकार सुनिश्चित भएको चाहन्छौं, बहुमतको सरकार सुनिश्चित भएपछि हामीले औपचारिक रुपमा सरकारलाई दिएको समर्थन फिर्ता लिन्छौं ।”

श्रेष्ठले बहुमतको सरकारको सुनिश्चिता नभएको अवस्थामा पनि अब सरकारलाई दिएको समर्थन कायम नराख्ने बताए । जनता समाजवादी पार्टीका नेताहरुले बैठकमा बल्ल दलहरुबीच औपचारिक छलफल शुरु भएको भन्दै आन्तरिक छलफल गरेर जवाफ दिने बताएको कांग्रेस प्रवक्ता शर्माले जानकारी दिए ।

प्रतिनिधि सभा पुनस्र्थापना भएपछि सरकार परिवर्तनका लागि कांग्रेस,माओवादी केन्द्र र जनता समाजवादीबीच पहिलो पटक औपचारिक छलफल भएको हो ।



प्रतिक्रिया दिनुहोस !