५ आश्विन २०८१, शनिबार

छिट्टै नयाँ खालको बिद्रोहमा जानुपर्ने अवस्था आउन सक्छ : प्रचण्ड

प्रकाशित मिति :  10 April, 2021 12:33 pm


काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छिट्टै नयाँ खालको बिद्रोहमा जानुपर्ने अवस्था आउन सक्ने बताएका छन् ।

नेपाल राष्ट्रिय कर्मचारी संगठनको चौथो केन्द्रीय परिषद्लाई काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले भने,“लोकतान्त्रिक मान्यतालाई कुल्चने, स्वेच्छाचारी र निरङ्कुश ढंगले जाने प्रयास भयो भने एउटा नयाँ खालको बिद्रोहमा संगठित हुनुपर्ने विद्रोहमा जानुपर्ने अवस्था आउन सक्छ ।”

अध्यक्ष प्रचण्डले केपी ओली नेतृत्वको सरकार अहिलेसम्मकै विवेकहीन सरकारको रुपमा देखिएको टिप्पणी गरे । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै कुरा मिचेर राज्यसत्ता कब्जा गर्ने बाटोमा लागेको आरोप लगाए ।

उनले भने,“नेपाल कम्युनिष्ट पार्टीको दुई तिहाईको सरकार नै नेपालको इतिहासमा सबैभन्दा बढी विवेकहीन सरकारको रुपमा देखिएको छ । यो एउटा विडम्बना हो । अहिले हामीले हेर्‍यौं भने दिनदिनैजसो के संविधान,के ऐनकानून नियम सबैलाई मिच्दै जर्वजस्ति राज्य सत्ता कब्जा गर्ने अभियान चलेको स्थिति छ ।”

अहिले ओली नेतृत्वको सरकारले हुनै नसक्ने र हुनैनहुने कुराहरू गरिरहेको आरोप समेत लगाए । उनले भने,“जे आधिकारिक हो, जे वैधानिक हो, संवैधानिक हो,जे विधि सम्मत हो त्यसलाई गलहत्याइएको छ ।”

अहिले मुलुकमा निकै ठूलो अन्योल र सन्त्रासमा रहेको उल्लेख गर्दै अहिलेको सरकारले कर्मचारीलाई आतंकमा बाच्न बाध्य पार्न थालेको दाबी गरे । उनले भने,“राज्यका सबै अंगहरूलाई सन्त्रासमा राखेर कब्जा गर्ने कोसिस गरिएको छ । संविधानको रक्षाको निम्ति एक पटक आन्दोलनमा जानुको विकल्प देखिएको छैन ।”

यद्यपी अहिलहेको सरकारलाई छिट्टै हटाएर अगाडि बढ्ने बताए । उनले बिद्रोहमा जानुपर्ने अवस्था आउनुभन्दा अगाडी नै नयाँ सरकार बनाएर ओली नेतृत्वको सरकारले गरिरहेको कमजोर सच्चाउने बताए ।



प्रतिक्रिया दिनुहोस !