३ माघ २०८१, बिहिबार

कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठनको पहल सुरु भएको छ : नेता पौडेल

प्रकाशित मिति :  10 April, 2021 1:59 pm


तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठनको पहल थालिएको बताएका छन् ।

गृहजिल्ला तनहुँको दमौलीमा आज पत्रकारसँग कुरा गर्दै वरिष्ठ नेता पौडेलले वर्तमान सरकारले जनभावनाअनुसार काम गर्न नसकेकाले कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठनको पहल थालिएको बताए ।

हिजो नेपाली कांग्रेसको नेतृत्वमा तीन दलबीच भएको छलफल सकारात्मक दिशामा अगाडि बढेको वरिष्ठ नेता पौडेलको भनाई छ । जनता समाजवादी पार्टी (जसपा) को नेतृत्वमा सरकार बनाउन कांग्रेस तयार छ ? भन्ने प्रश्नमा वरिष्ठ नेता पौडेलले त्यस विषयमा आफूले अहिल्यै नबोल्ने पौडेलले बताए ।

नेकपा पार्टी एक हुँदा विगतमा केन्द्र र दुई वटा प्रदेश सरकारमा अविश्वास प्रस्ताव आउँदा कांग्रेसले उक्त मौका गुमाएको बताउँदै पौडेलले भने, “कांग्रेसले त्यो बेला ठूलो मौका गुमायो, अब आउने मौका पनि गुमाउने हो भने टाउकामा हात राखेर बस्नुको विकल्प हुँदैन ।”

वरिष्ठ नेता पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेसकै केही नेताले चुनाव भनिरहेका सन्दर्भमा जनतालाई भोटकै लागि मात्र प्रयोग गर्न नहुने धारणा राखे । “जनताले भोट हालेपछि त्यसको परिणाम निस्कनुपर्छ, त्यसले उपलब्धि प्राप्त गर्नुपर्छ”, नेता पौडेलले भने, “केबल जनता भोट मात्रै हालिराख्ने मेसिन हुन् ?”



प्रतिक्रिया दिनुहोस !