५ आश्विन २०८१, शनिबार

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोख्रेलले भने,‘समानान्तर गतिविधिको गन्तव्य कर्णालीको जस्तै हुने हो’

प्रकाशित मिति :  16 April, 2021 7:05 pm


काठमाडौं । कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्रको सरकार जोगिएपछि मुख्यमन्त्री शंकर पोख्रेलले माधव नेपाल पक्षमाथि टिप्पणी गरेका छन् । उनले नामै नलिएर ‘समानान्तर गतिविधिको गन्तब्य कर्णालीको जस्तो’ हुने उल्लेख गरेका छन् ।

कर्णाली प्रदेशमा आज नेकपा एमालेका चार सांसदले ‘फ्लोर क्रस’ गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद जोगएपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलको टिप्पणी आएको हो ।

उनले समाजिक सञ्जालमा भनेका छन्,“समानान्तर गतिविधिको गन्तव्य कर्णालीको जस्तै हुने हो । समयमै सचेत बनौं ।”

लुम्बिनी प्रदेशमा पनि सरकार परिवर्तनका लागि नेपाली कांग्रेस र माओवादी केन्द्रबीच छलफल अगाडि बढेको छ । माओवादी केन्द्रका नेताहरुले केही हप्तामै शंकर पोख्रेललाई मुख्यमन्त्री पदबाट हटाउने बताएका छन् ।

कर्णाली प्रदेशमा माधव नेपाल पक्षका सांसदले माओवादी केन्द्रको पक्षमा मतदान गरेपछि लुम्बिनी प्रदेशमा समेत मुख्यमन्त्री पोख्रेललाई जोखिम बढेको छ ।

नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपालसहितका नेतालाई निलम्बन गरेका छन् । निलम्बनसँगै नेपाल पक्षले देशभर समानान्तर गतिविधि गरिरहेको छ । यसको प्रभाव प्रदेश सरकारमा समेत परेको छ ।



प्रतिक्रिया दिनुहोस !