५ आश्विन २०८१, शनिबार

माओवादी केन्द्रद्वारा रोल्पामा चुनाव जितेपछिका ४ वर्षे समीक्षा,भएका कमजोरी सच्चाएर जाने प्रतिबद्वता

प्रकाशित मिति :  16 April, 2021 7:33 pm


रोल्पा । नेकपा माओवादी केन्द्रले २०७४ सालमा स्थानीयदेखि प्रतिनिधि सभा चुनाव जितेदेखि अहिलेसम्मको समीक्षा सम्पन्न गरेको छ ।

जिल्ला कमिटी बैठक राखेर माओवादी केन्द्रले आफूले जितेका क्षेत्रमा गरेको कामको समीक्षा गरेको हो ।

सदरमुकाम लिवाङमामा दुईदिनसम्म चलेको बैठकमा संघीय प्रतिनिधिदेखि गाउँपालिका तहसम्मका नेता रहेका थिए । बैठकमा चुनाव जितेका गाउँपालिका र वडामा समग्रमा राम्रो काम गरेको माओवादी केन्द्रले निष्कर्ष निकालेको छ ।

केन्द्रलेपनि प्रभावकारी भूमिका खेलेको तर कतिपय कुरा सच्चाउनुपर्ने सुझाव आएको सहभागिले बताएका छन् ।

कामकै शिलशिलामा भएका त्रुटी सच्चाएर जाने निष्कर्ष निकालिएको छ । बैठकमा संघदेखि गाउँपालिकासम्मका जनप्रतिनिधि र माओवादी केन्द्रका नेताले प्रतिवेदन पेश गरेका थिए । प्रतिवेदनमाथि समूह बनाएर विभाजन गरिएको थियो ।

बैठकले तत्कालिन नेकपा एमालेसँग एकीकरणपछिको संगठनिक संरचनालाई नै कायम गर्ने केन्द्रको निर्णयलाई कार्यान्वयन गर्ने भएको छ । बैठकमा रोल्पा जिल्ला इन्चार्ज दिपेन्द्रकुमार पुनले केन्द्रको निर्णय अनुसार २०७५ जेठ ३ गतेपछिकै सांगठनिक संरचना कायम राख्ने निर्णय भएको जानकारी गराएका थिए ।

उनले कतिपय नेता एमालेमा फकिएका ठाउँमा परिपूर्ति गर्दै जाने बताएका छन् ।

समीक्षा बैठकमा लागि पूर्वसभामुख कृष्णबहादुर महरा, पूर्व मन्त्री तथा प्रतिनिधि सभा सदस्य वर्षमान पुन, शिक्षा तथा स्वास्थ्य समिति सभापति जयपुरी घर्ती, पूर्वसभामुख तथा प्रतिनिधि सभा सदस्य ओनसरी घर्ती, लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसी, प्रदेश सभा सदस्य दिपेन्द्रकुमार पुन लगायत जिल्लाका नेता तथा स्थानीय नेता र जनप्रतिनिधिको सहभागिता रहेको थियो ।

रोल्पामा माओवादी केन्द्रले ५० वडा, ७ पालिका,२ वटै प्रदेश सभा र एउटै क्षेत्र रहेको प्रतिनिधि सभा निर्वाचन जितेको थियो भने जिल्ला समन्वय समिति पनि उसकै नेतृत्वमा छ । अहिलेसम्मको समीक्षा गर्दै माओवादी केन्द्र रोल्पाले आगामी चुनावको तयारी गर्ने निर्णय समेत गरको छ ।



प्रतिक्रिया दिनुहोस !