१० कार्तिक २०८१, शनिबार

त्रिकोणात्मक अन्तराष्ट्रिय टी-२० सिरिजको पहिलो खेलमा नेदरल्याण्ड्समाथि नेपालको शानदार जीत

प्रकाशित मिति :  17 April, 2021 5:14 pm


काठमाडौं । नेपालले त्रिकोणात्मक अन्तराष्ट्रिय टी-२० सिरिजको पहिलो खेलमा नेदरल्याण्ड्समाथि शानदार जीत हात पारेको छ ।

कुशल भुर्तेल र आशिफ शेखले कीर्तिमानी साझेदारी गर्दा नेपालले नेदरल्याण्डलाई ९ विकेटले पराजीत गर्‍यो ।

कीर्तिपुर मैदानमा टस जितेर पहिले ब्याटिङको निम्तो पाएको नेदरल्याण्ड्सले २० ओभरमा चार विकेट गुमाउँदै एक सय ३६ रन बनायो ।

नेदरल्याण्ड्सले सुरुवात भने राम्रो गर्न सकेन । उसको स्कोर ११ रन हुँदा नेपालले पहिलो विकेट लिन सफल भयो । म्याक्स ओडोडलाई सन्दिप लामिछानेले १० रनमा आउट गरे । त्यसपछि १२ रन हुँदा दोस्रो विकेट झर्‍यो । यसपटक नेपालका लागि सोमपाल कामीले विकेट लिन सफल भए । बेन कुपरलाई सोमपालले खाता खोल्न दिएनन् ।

तेस्रो विकेटका लागि बाड डी लिड र कप्तान पिटर सेलारले ६१ रनको साझेदारी गरेको थिए ।

तर यो खेलबाट अन्तराष्ट्रिय टी २० क्रिकेटमा डेब्यु गरेका साहब आलमले यो पार्टनरसिपलाई तोड्न सफल भए । स्कोट इडवार्डलाई ३० रनमा साहब आलमको हातबाट क्याच आउट गराए । जसका कारण नेदरल्याण्ड्सले ७३ रनमा तेस्रो विकेट गुमायो । साहब आलम आफ्नो डेब्यु खेलमा केहि महंगो सावित भए । उनले चार ओभरमा ४५ रन खर्चिएर एक विकेट लिए ।

नेदरल्याण्ड्सको स्कोर ९९ रन हुँदा चौथो विकेट झर्‍यो । सन्दिप लामिछानेले बास डी लिडलाई ४१ रनमा कुशल भुर्तेलको हातबाट क्याच आउट गराए ।

त्यसपछि कप्तान पिटर सेलारले २२ रन बनाए भने एन्टोनिउस स्टालले २० रनको योगदान गरे । उनीहरुले पाँचौ विकेटका लागि ३६ रनको साझेदारी गरे ।

बलिङमा सन्दिपले दुई विकेट लिए भने साहबको नाममा एक विकेट रह्यो । यस्तै सोमपाल कामीले एक विकेट लिए । सन्दिपले चार ओभरमा २२ रन खर्चिएर दुई विकेट लिए । उनको घरेलु मैदानमा खेलेको यो पहिलो अन्तराष्ट्रिय खेल हो । जसमा उनले कसिलो बलिङ गर्न सफल भए ।

सोमपालले चार ओभरमा मात्र १३ रन खर्चिएर एक विकेट लिए भने करण केसीले चार ओभरमा २२ रन खर्चिएर विकेट लिन सकेनन् । यस्तै अभिनाश बोहराले चार ओभरमा २५ रन खर्चिएर विकेट विहिन बने ।

जवाफमा नेपालले १५ ओभरमा एक विकेट गुमाउँदै लक्ष्य पुरा गर्‍यो ।

उत्कृष्ट सुरुवात गरेको नेपालका लागि ओपनरद्धय कुशल भुर्तेल र आशिफ शेख टी २० क्रिकेटमा एक सय १६ रनको कीर्तिमानी साझेदारीका कारणले नेपालले सहज जित निकाल्न सफल भयो । जसमा दुबैले डेब्यु खेलमा नै अर्धशतक बनाउन सफल भए ।

नेपाललाई उत्कृष्ट सुरुवात दिलाउने क्रममा आशिफ शेखले कुशल भुर्तेलसँग पहिलो विकेटका लागि एक सय १६ रनको साझेदारी गरेका थिए ।

जसका कारण यी दुई युवा खेलाडीले सन् २०१९ मा भुटानविरुद्ध पारस खड्का र ज्ञानेन्द्र मल्लले पहिलो विकेटका लागि बनाएको एक सय आठ रनको रेकर्डलाई तोड्न सफल    भए ।

यो क्रममा कुशलले ६२ रन बनाए भने आशिफले पनि ३६ बलमा चार चौका र चार छक्काको मद्दतले अर्धशतक पुरा गरे । उनले ४६ रनमा खेलिरहेको अवस्थामा छक्का प्रहार गरेर अर्धशतक बनाएका थिए । अन्तिममा कप्तान ज्ञानेन्द्र मल्लले १३ रनको योगदान गरे ।



प्रतिक्रिया दिनुहोस !