५ आश्विन २०८१, शनिबार

प्रधानमन्त्री ओली र नेकपाका प्रवक्ता प्रकाण्डबीच भेटवार्ता,बन्दी रिहाइबारे छलफल

प्रकाशित मिति :  17 April, 2021 7:53 pm


काठमाडौंं । प्रधानमन्त्री केपी शर्मा ओली र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’बीच भेटवार्ता भएको छ ।

वार्ता टोलीका प्रमुख समेत रहेका प्रकाण्ड प्रधानमन्त्री ओलीलाई भेट्न आज बालुवाटार पुगेका थिए । भटेवार्तामा तीन बुँदै सहमति कार्यान्वयनको प्रगति, बन्दी रिहाई र मुद्दा खारेजीको विषयमा छलफल भएको बताइएको छ ।

छलफलमा नेपाल कम्युनिष्ट पार्टीका नेता, कार्यकर्ताको रिहाई र उनीहरुमाथि लगाइएको मुद्दा खारेजी गर्ने कार्य अन्तिम चरणमा पुगेको र प्रगतिमूलक भएको निष्कर्ष निकालिएको स्रोतले बताएको छ ।

उक्त भेटवार्तामा नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता एवं वार्ताटोलीका प्रमुख प्रकाण्डले देशमा दोस्रो चरणको कोरोना संक्रमण अत्यधिक बढेको र त्यसको रोकथामको लागि सरकारी धारणाको माग गरेका थिए भने प्रधानमन्त्री ओलीले कोरोना नियन्त्रणमा सरकारले चालेका कदमको बारेमा जानकारी गराएका थिए ।

प्रवक्ता प्रकाण्डले कोरोना नियन्त्रणका लागि योजनाबद्धरुपमा पहल गर्दै अन्तर्राष्ट्रिय नाकालाई बन्द गर्नुपर्ने, आवश्यक नाकालाई नियमन गरेर मात्र खुला गर्ने, आमजनतालाई स्वास्थ्य नियम पालना गर्न प्रेरित गर्दै कडाई गर्नुपर्ने सुझाव दिएका थिए ।

साथै कोरोना संक्रमणको दोस्रो लहरबाट प्रभावित सहर र गाउँहरुलाई तुरुन्त नियन्त्रणमा लिँदै स्वास्थ्य जाँच र स्वास्थ्य नियमलाई समेत कडाइका साथ पालना गराउन प्रवक्ता प्रकाण्डले सरकारको ध्यानाकर्षण गराएका थिए ।

भेटवार्तामा सरकार र नेकपाबीच छिट्टै अर्को बैठक बस्ने सहमति भएको छ ।



प्रतिक्रिया दिनुहोस !