चेम्बरका नवनिर्वाचित पदाधिकारीलाई महासंघको स्वागत,संस्थागत सहकार्य र कार्यगत एकतामा जोड
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल चेम्वर अफ कमर्सका पदाधिकारीहरूले निजी क्षेत्रका प्रतिनिधि संस्थाहरू बीच कार्यगत एकता अपरिहार्यतामा जोड दिएका छन् ।
निजी क्षेत्र एक ढिक्का भएर जान सकेमात्र उद्योग व्यवसाय क्षेत्र बलियो हुने दुबै संस्थाको निष्कर्ष छ ।
मिलेर जाँदा मात्रै निजी क्षेत्रले उठाएका मुद्दाहरू कार्यान्वयन गर्न तथा आर्थिक विकासमा समेत बलियो उपस्थिति जनाउन सकिने भएकाले संस्थागत सहकार्य र कार्यगत एकताको विषयलाई जोडतोडका साथ अगाडि बढाउनु पर्ने कुरामा दुवै संस्थाका पदाधिकारीहरूले जोड दिएका हुन् ।
नेपाल उद्योग वाणिज्य महासंघद्वारा नेपाल चेम्वर अफ कमर्सको हालै सम्पन्न ७० औं वार्षिक साधारण सभाबाट निर्वाचित अध्यक्ष सहित पदाधिकारीहरूको स्वागतमा आज महासंघ सचिवालयमा आयोजित कार्यक्रममा दुबै संस्थाका नेतृत्वको कुरामा जोड दिइएको हो ।
संस्थागत सहकार्य र कार्यगत एकताकै कारण पछिल्लो पटक कोभिड पश्चात अर्थतन्त्रको पुनरूत्थान लगायत उद्योग व्यवसाय क्षेत्रलाई राहतका प्याकेज ल्याइनुपर्ने विषय, राजनीतिक दलबाट आव्हान भएको बन्द लगायतका विरोधका कार्यक्रम, कृषिमा विदेशी लगानी खुला गर्ने लगायतका विषयमा प्रतिनिधि संस्थाहरूको संयुक्त धारणाबाट निकै बलियो संदेश गएको सो अवसरमा स्मरण गरिएको थियो ।
एकता नै बल हो भन्ने कुरालाई हामी तीनै वटा संस्थाहरूले मनन गरेर अगाडी बढ्नु पर्ने भन्दै महासंघका अध्यक्ष शेखर गोल्छाले चेम्वरका पदाधिकारीहरूलाई स्वागत गर्दै भने,“हामी प्रतिस्पर्धी होइन एक अर्काका परिपुरक हौं र आउने समयमा पनि एक भएर हाम्रा मुद्दाहरूमा कार्यगत एकता गरौ, सहकार्यलाई घनिभुत ढंगले अगाडि बढाऔं । हामीले बोल्ने भाषा एकै हुनुपर्छ । हामीले एकता देखाउन सक्यौ भने हामी अझ बलियो हुन्छौं ।”
अध्यक्ष शेखर गोल्छाले महासंघले सार्वजनिक गरेको राष्ट्रिय आर्थिक रूपान्तरण २०३० सम्पूर्ण निजी क्षेत्रको दस्तावेजको रूपमा रहेकाले यसको सफल कार्यान्वयनबाट सिंगो निजी क्षेत्रको सम्मान बढ्ने पनि उहांले स्पष्ट पारे ।
महासंघले अगाडि सारेको भिजन पेपरको स्वामित्व लिई सफल कार्यान्वयनमा समेत संस्थागत सहकार्य गर्न चेम्वरलाई आग्रह गरे । अध्यक्ष गोल्छाले महासंघ र नेपाल चेम्वर बीचको ऐतिहासिक सम्बन्धका वारेमा स्मरण पनि
गर्नुभयो ।
सो अवसरमा चेम्वरका नवनिर्वाचित अध्यक्ष राजेन्द्र मल्लले महासंघले चेम्वरका निर्वाचित पदाधिकारीहरूलाई स्वागत गरेकोमा खुशी व्यक्त गर्दै आफ्नो टिमले महासंघसंग संस्थागत सहकार्य गर्दै जाने प्रतिवद्धता जनाए । महासंघका अध्यक्षले संस्थागत सहकार्यका लागि राख्नु भएको प्रस्तावप्रति आफ्नो पूर्ण समर्थन रहेको जनाउंदै अध्यक्ष मल्लले चेम्वर र महासंघ बीचको ऐतिहासिक सम्बन्ध अत्यन्त प्रगाढ रहेको र उक्त सम्बन्धलाई थप प्रगाढ बनाउंदै लैजाने विश्वास दिलाए ।
अध्यक्ष मल्लले महासंघले अगाडी सारेको भिजन पेपरको कार्यान्वयनमा के कसरी सहकार्य गरि अगाडी बढ्न सकिन्छ त्यसमा आफ्नो पूर्ण समर्थन रहने प्रतिवद्धता जनाए ।
बजेट ल्याउने तर कार्यान्वयन नहुने सरकारको समस्या रहेकाले बजेटमा उल्लेख गरिएका कार्यक्रमको पूर्ण कार्यान्वयनका लागि पनि एकतावद्ध भएर पहल गर्नुपर्ने अवस्था रहेको उनले बताए । संस्थागत सहकार्य र कार्यगत एकता भोलिका पिंढीहरूका लागि पनि उदाहरणीय बनाउनु पर्नेमा उनको सुझाव थियो ।
स्वागत कार्यक्रममा कोभिडको दोस्रो लहर आएको सन्दर्भमा लकडाउनका कुरा समेत आउन थालेकाले लकडाउन नै अहिलेको समस्याको समाधान नभएको र मुलुकको अर्थतन्त्रले अव अर्को लकडाउन थेग्न नसक्ने दुबै संस्थाको निकर्ष छ ।