६ आश्विन २०८१, आइतबार

सात जना नक्कली डाक्टर पक्राउपछि सार्वजनिक

प्रकाशित मिति :  19 April, 2021 4:57 pm


काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सात जना नक्कली डाक्टरलाई पक्राउ गरेर सार्वजनिक गरेको छ । सीआइबीले आज पत्रकार सम्मेलन गरेर नक्कली चिकित्सकलाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा सप्तरीको बिष्णुपुरा गाउँपालिका–२ का २८ वर्षीय मोहम्मद सिद्दिक, महोत्तरी सरपल्लो–६ का २९ वर्षीय सुभाष प्रसाद साह, धनुषा सबैला–२ का २८ वर्षीय मोहम्मद साहिद राजा, मनाङको साविक चामे गाविस–५ का ३१ वर्षीय दिपेन्द्र गौतम छन् ।

त्यस्तै सप्तरीको शंकरपुरा–१ का ३१ वर्षीय अखिलेशकुमार देव, महोत्तरीको मनरा–५ की २७ वर्षीया पल्लवी सिंह र ललितपुर सानेपाका २९ वर्षीय फराज हुसेन खाँलाई पनि नक्कली चिकित्सक बनेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

नक्कली प्रमाणपत्र पेश गरेर चिकित्सक बनेको आशंकामा उनीहरुलाई प्रहरीले विभिन्न ठाउँबाट पक्राउ गरेको हो ।

नक्कली प्रमाण पत्र पेश गरेर मेडिकल काउन्सिलको प्रमाणपत्र लिएको अनुसन्धानका क्रममा देखिएको सिआइबीको भनाई छ ।

सिआइबीका अनुसार बंगलादेशमा एम.बि.बि.एस. अध्ययन गर्न जानको निमित्त एस.एल.सि.को मार्कसिटमा आवश्यक पर्ने न्यूनतम योग्यता नपुगी नाम, जन्म मिति, प्राप्ताङक लगायतका बिवरणहरु सच्याई, थपघट गरी किर्ते मार्कसिट बनाई सोही मार्कसिटहरुको आधारमा बंगलादेशमा एम.बि.बि.एस अध्ययनको लागी नेपाल मेडिकल काउन्सिल बाँसवारीबाट स्विकृती लिएको देखिएको छ । उनीहरुलाई लिखत सम्बन्धी कसूरमा काठमाण्डौं जिल्ला अदालतबाट म्याद लिई अनुसन्धान भईरहेको जनाएको छ ।

पक्राउ परेका मोहम्मद सिद्दिक न्यूरो हस्पिटल विराटनगर, दीपेन्द्र गौतम चौरजहारी अस्पताल रुकुम पश्चिम, मोहम्मद साहिद राजा दीर्घायू गुरु हस्पिटल चाबहिल काठमाडौं र शुभाष साह जनकपुर चिल्ड्रेन हस्पिटल धनुषामा कार्यरत रहेका सीआईबीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !